काठमाडौँ, फागुन २ गते । गायक रामकृष्ण ढकालले चलचित्र निर्माण घोषणा गर्नुभएको छ । ढकालले सामाजिक सञ्जालमार्फत ‘मालती मङ्गले’ नामक चलचित्र निर्माण गर्ने औपचारिक जानकारी दिनुभएको हो । चलचित्र केही दिनअघि चलचित्र विकास बोर्डमा दर्ता गरिएको थियो ।
ढकालले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “समय कति छिटो बित्दो रहेछ, आज त्यो क्षणलाई सम्झँदा २३ वर्ष बितिसकेको रहेछ ! अब, फेरि पनि चलचित्रसँगको अर्को यात्रामा अघि बढ्ने अवसर मिलेको छ तर यस पटक भूमिकामा परिवर्तन आएको छ । अब म निर्माता का रूपमा तपाईंसामु आउँदै छु ।” चलचित्र रानी म्युजिक इन्टरनेसनल प्रालिको ब्यानरमा निर्माण हुने छ । चलचित्रको निर्देशन प्रकु पाण्डे (प्रकाश) ले गर्नुहुने छ भने कार्यकारी निर्माताका रूपमा सागर ज्ञवाली रहनुभएको छ ।