• १ फागुन २०८१, बिहिबार

दुई वडामा स्वास्थ्य सेवा केन्द्र निर्माण हुने

blog

स्वास्थ्य कार्यालय, मनाङ ।

यदुप्रसाद भट्ट

मनाङ, फागुन १ गते । जग्गा दानस्वरूप प्राप्त भएपछि मनाङ ङिस्याङ गाउँपालिकाका दुई वटा वडामा स्वास्थ्य सेवा केन्द्र निर्माण हुने भएको छ । वडा नं. १ पिसाङमा स्वास्थ्य चौकी र वडा नं. ३ ङावलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण हुने मनाङ ङिस्याङ गाउँपालिकाका स्वास्थ्य संयोजक तथा सूचना अधिकारी श्रीनारायण यादवले जानकारी दिनुभयो ।

मनाङका सङ्घीय सांसद टेकबहादुर गुरुङको पहलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ङिस्याङ गाउँपालिकाको वडा नं. १, पिसाङमा स्वास्थ्य चौकी र वडा नं. ३, ङावलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि यस वर्ष ३८ लाख ८६ हजार रुपैयाँका दरले दुवै केन्द्रलाई बजेट विनियोजन गरेको छ ।

मनाङको ङिस्याङ वडा नम्बर १, पिसाङमा स्वास्थ्य चौकी स्थापनाका लागि स्थानीय छिरिङ घलेले कित्ता नं. ६३ को ३ रोपनी ६ आना १ पैसा र १ दाम र वाङग्याल गुरुङले कित्ता नं. ५९ को २ रोपनी ८ आना २ पैसा १ दाम जग्गा निःशुल्क प्रदान गरेका छन् । उता ङिस्याङ–३, ङावलमा भने निर्माण हुने स्वास्थ्य केन्द्रको नाममा ३ रोपनीभन्दा बढी जग्गा रहेको छ ।

सो जग्गामा तीन कोठे स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापनाका लागि यस वर्ष स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३८ लाख ८६ हजार रुपैयाँका दरले आपत्कालीन कोषबाट रकम विनियोजन गरेको हो ।

विनियोजित बजेटबाट काम सुरु गर्दै गर्ने र आगामी बजेटमा बहुवर्षीय बजेटमार्फत बजेट विनियोजित गरी निर्माण सम्पन्न गरिने सांसद गुरुङले बताउनुभयो ।