• ७ वैशाख २०८२, आइतबार

चार वटा पुलको निर्माण प्रारम्भ

blog

सैनामैनाको तुलबुलियामा पुल निर्माण गरिँदै । तस्बिर : छविलाल पाण्डे

बुटवल समाचारदाता

बुटवल, फागुन १ गते । बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडक स्तरोन्नतिको काम पुल निर्माणको चरणबाट सुरु भएको छ । पहिलो चरणमा सो सडकखण्डमा निर्माण हुने ३० वटा पक्की पुलमध्ये चार वटा पुलको एकैसाथ निर्माण सुरु गरिएको छ । सो सडकखण्डको यही माघ ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको थियो । 

बुटवल–गोरुसिङ्गे सडक आयोजनाका प्रमुख कुशलता न्यौपानेले सडक स्तरोन्नतिका क्रममा पहिलो चरणमा एकसाथ चार वटा पुलको निर्माण सुरु भएको बताउनुभयो । उहाँका अनुसार बुटवल, ढवाहास्थित सतगढी नम्बर १ नदी, सतगढी नम्बर २ नदी, सैनामैनाको बुद्धनगरस्थित तुलबुलिया नदी र कपिलवस्तुको वाणगङ्गा नदीमा एकसाथ पुल निर्माण सुरु गरिएको छ । बुटवल–गोरुसिङ्गे खण्डमा निर्माण हुने ३० वटा पुल अहिलेकै पुलसँग जोडेर चार र पाँच लेनमा विस्तार गरिने आयोजनाले जनाएको छ । 

सो सडकखण्डमा करिब ६० वर्षअघि निर्माण भएका पुल नभत्काई त्योसँगै जोडेर नयाँ पुल बनाउन लागिएको हो । बुटवल–गोरुसिङ्गे कुल ५० किलोमिटर सडक विस्तारका क्रममा करिब १५ किलोमिटर जङ्गल क्षेत्र पर्ने भएकाले उक्त क्षेत्रमा वन्यजन्तु वारपार गर्न मिल्ने गरी १९ स्थानमा ‘अन्डर पास’ बनाइने भएको छ । 

आयोजना प्रमुख न्यौपानेले यो सडकखण्डमा गाडी गुडाउन मिल्ने छ वटा र पैदल यात्रुका लागि १२ वटा ‘अन्डर पास’ बनाउनुका साथै ११ वटा ‘ओभरहेड ब्रिज’ पनि बनाइने बताउनुभयो । आयोजनाका अनुसार बजार तथा बस्ती क्षेत्रमा दुवैतर्फ सर्भिस लेनसहितको छ लेन सडक बन्ने छन् भने सहर उन्मुख क्षेत्रमा सर्भिस लेनसहित ३७ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडा सडक विस्तार हुने छ । 

बुटवल–नारायणगढ सडकखण्डमा सडक निर्माणका क्रममा सडक किनारका जनताले धुलो र धुवाँबाट सास्ती पाएको अवस्थामा बुटवल–गोरुसिङ्गे सडकखण्डमा भने बजार क्षेत्रमा दुवैतिर सर्भिस लेन बनाइसकेपछि मात्रै बिचको भाग भत्काउन सुरु गर्ने आयोजनाले जनाएको छ । 

सडक निर्माणको कार्यादेश २०८१ कात्तिक ४ देखि सुरु भएकाले त्यसको तीन वर्ष अर्थात् २०८४ कात्तिक ३ भित्र सडक निर्माण सम्पन्न भइसक्नुपर्ने सम्झौतामा उल्लेख छ । राजा महेन्द्रको पालामा २०१९ सालमा बनेको बुटवल–गोरुसिङ्गे सडकखण्ड ६२ वर्षपछि विस्तार हुन लागेको हो ।