• ७ वैशाख २०८२, आइतबार

स्थानीय तहका अस्पताल अन्योलमै

blog

तम्घास समाचारदाता

तम्घास, फागुन १ गते । गुल्मीदरबार गाउँपालिकाले जिल्लामै पहिलो पटक १५ शय्याको अस्पताल निर्माण सम्पन्न गरी बिहीबार (फागुन १ गते) देखि सञ्चालनमा ल्याइने भएको छ । लुम्बिनी प्रदेश सरकारसँग माग गरे अनुसार बेड, इसिजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, अक्सिजन सिलिन्डर, कन्सन्टे«टरलगायतका स्वास्थ्य उपकरण प्राप्त भएको स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले जानकारी दिनुभयो । अस्पतालबाट दैनिक रूपमा एमबिबिएस डाक्टरद्वारा चेकजाँच तथा उपचार, सहुलियत दरमा प्रयोगशाला सेवा, चौबिसै घण्टा निःशुल्क प्रसूति सेवालगायतका सेवा प्रवाह हुने उहाँले बताउनुभयो । 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले देशभरका ३९६ स्थानीय तहमा एकै दिन अस्पताल शिलान्यास गर्ने निर्णय अनुसार गुल्मीमा पहिलो पटक गुल्मीदरबारको अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनमा आएको हो । कुल १२ करोड ९४ लाख ५६ हजार ९१३ रुपियाँको लागतमा अस्पताल अर्जुन बिल्डर्स तम्घास गुल्मीले निर्माण गरेको हो । यसका साथै चन्द्रकोट गाउँपालिकाले पनि अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनको तयारीमा रहेको गाउँपालिकाका सूचना अधिकारी शिव ज्ञवालीले जानकारी दिनुभयो  ।

शिलान्यासमै सीमित छत्रकोट 

छत्रकोट गाउँपालिकाको १५ शय्याको अस्पताल तत्कालीन लुम्बिनी प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले शिलान्यास गर्नुभयो । वडा नं. ४ को शृङ्गामा अस्पताल शिलान्यास गरेको झन्डै चार वर्ष पुग्न लागेको तर निर्माण हुने कि नहुनेमा अन्योल छ । शिलान्यास गरिएको जग्गा भवन मापदण्ड अनुसार नभएकाले शिलान्यास गरिएको जग्गाको करिब तीन सय मिटर पर लामो कसरतपश्चात् जग्गा व्यवस्थापन गर्ने कार्य सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले जानकारी दिनुभयो । जग्गा प्राप्तिको कार्य सम्पन्न भई डिपिआर तयार भएको र डिपिआर स्वीकृत कसले गर्ने भन्नेबारेमा केन्द्रमा अन्योल रहेका कारण समस्या भएको उहाँको भनाइ छ ।

मालिकाको बोलपत्र हुँदै

मालिका गाउँपालिका–४, अर्खबाङ्गमा पूर्वमन्त्री तथा सङ्घीय सांसद गोकर्ण विष्टले तामझामका साथ अस्पताल शिलान्यास गर्नुभयो तर सो अस्पताल शिलान्यासमै सीमित भएको छ । शिलान्यास गरिएको जग्गामा मापदण्ड नपुगेको र अस्पताल निर्माण कार्य हुन नसक्ने भएकाले नजिकै जग्गा व्यवस्थापन गरी यस वर्ष टेन्डरको प्रक्रियामा रहेको प्रमुख प्रशासकीय अधिकृत विकास खनालले जानकारी दिनुभयो । त्यसै गरी धुर्कोट गाउँपालिकाको धुर्कोट रजस्थलमा अस्पताल निर्माणका लागि खनिएको बेस (घडेरी) मा पहिरो आएका कारण निर्माण अगाडि बढ्न सकेको थिएन ।