• १ फागुन २०८१, बिहिबार

बहाब घट्यो हुम्ला कर्णालीको

blog

हुम्ला समाचारदाता 

हुम्ला, फागुन १ गते । हुम्ला हुँदै बग्ने कर्णाली नदीमा पानीको बहाब घट्दै गएको छ । यस वर्ष हिउँदमा हिउँ कम परेका कारण कर्णाली नदीमा पानी घट्दै गएको हो । सिमकोट गाउँपालिकाका सबइन्जिनियर दानबहादुर रावलले विगत वर्षभन्दा यस वर्ष कर्णाली नदीमा पानीको मात्रा घटेको बताउनुभयो । उहाँले माथिल्लो हुम्ला विशेष गरी सिमकोट, नाम्खा गाउँपालिकाको भूभागमा बग्ने नदीमा पानीको मात्रा निकै घटेको जानकारी दिनुभयो । नदीमा पानी सुकेका कारण आकार सानो देखिन थालेको र नदीले चौडा रूप लिएको स्थानमा पनि मानिस सिधै तर्न सक्ने अवस्था रहेको छ ।

नेपालतर्फको भूभागमा बग्ने कर्णाली नदीमा पानी भए पनि चीनमा बग्ने नदी सानो खोलामा परिणत भएको रावलले बताउनुभयो । मौसममा आएको परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा हिमालमा हिउँ नै पर्न छाडेपछि नदीमा पानी घट्नु स्वाभाविक भएको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताउनुभयो । सेताम्मे देखिनुपर्ने हिमाल कालापत्थर देखिन थालेपछि पानीको स्रोत नभएकै कारण नदीमा पानी घट्नुको मुख्य कारण रहेको उहाँले जनाउनुभयो । यतिबेला हिमाल मात्र नभएर सदरमुकाम सिमकोटसमेत हिउँले सेताम्मे देखिनुपर्नेमा हिउँको सट्टा पानी पर्न थालेका कारण चिन्ताको विषय थपिएको हो ।