• १ फागुन २०८१, बिहिबार

रेडियो र जलवायु परिवर्तन

blog

हरेक वर्ष १३ फेब्रुअरीलाई विश्व रेडियो दिवसका रूपमा मनाउने चलन छ । सन् २०११ मा युनेस्को सदस्य राष्ट्रहरूले प्रस्ताव गरेबमोजिम सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउँदै आइरहेको छ । जलवायु परिवर्तन आजको जल्दोबल्दो मुद्दा हो । जलवायु परिवर्तन र यसका प्रभावको बारेमा विश्वभर सघन रूपमा चर्चा परिचर्चा हुँदै गएका छन् । यिनै समसामयिक मुद्दालाई सम्बोधन गर्नलाई नै होला, युनेस्कोले यस वर्षको विश्व रेडियो दिवसको नारा ‘रेडियो र जलवायु परिवर्तन’ तय गरेको छ । जलवायु परिवर्तनका क्रियाकलापलाई सम्बोधन गर्न रेडियो एउटा बहुआयामिक शक्तिशाली साधन हो, जसको माध्यमबाट संसारभरका नागरिकलाई सरल तरिकाबाट जलवायु परिवर्तनको कारण र उत्पन्न समस्यालाई न्यूनीकरण गर्ने योजनाबद्ध सामग्री र उपाय उत्पादन गरी प्रसारण गर्न सकिन्छ । 

सन् १८९५ देखि नै जब रेडियोको उत्पत्ति भयो; रेडियोले समग्र मानव समुदायको हितमा सूचना समाचार प्रवाह गर्ने, जनचेतना फैलाउने र मनोरञ्जन दिने कार्यलाई प्राथमिकताका साथ प्रसारण गर्दै आइरहेको देखिन्छ । रेडियो प्रसारणको प्रविधि पनि विगतदेखि वर्तमानसम्म समसामयिक रूपमा परिवर्तन हुँदै आएको पाइन्छ । एएम प्रविधिबाट सुरु भएको रेडियोको प्रसारण सेवा, एफएम प्रविधि हुँदै डिजिटल प्रविधिसम्म पुगिसकेको छ । सूचना प्रविधिको आजको युगमा टेरेस्ट्रियल टेक्नोलोजी, इन्टरनेटको माध्यमबाट डिजिटल टेक्नोलोजी र डिजिटल प्लेटफर्ममार्फत रेडियो प्रसारण सेवा विश्वका जुनसुकै ठाउँमा पनि पहुँच पुर्‍याउन सकिने अवस्थामा विकसित भइरहेको छ ।

विश्व रेडियो दिवसले रेडियो र जलवायु परिवर्तन विषयको महत्वलाई उजागर गर्न खोजेको देखिन्छ । युनेस्कोका अनुसार विश्व रेडियो दिवस मनाउनुका उद्देश्यमा रेडियोको आवश्यकता अनुभव गराउनु, आमजनसमुदायलाई रेडियो प्रसारक संस्थाहरूबिच सहयोग र समन्वय स्थापना गर्नु, नीति निर्मातालाई आवश्यक जानकारीको पहुँच उपलब्ध गराउन प्रोत्साहित गर्नु, शिक्षा स्वास्थ्य र वातावरणसम्बन्धी जनचेतना विकास गर्नु, रेडियोको ऐतिहासिक महत्व र प्रभावलाई कायम राख्नु आदि मुख्य छन् । रेडियोले समाजका हरेक तह र तप्काका जनसमुदायको आवाज प्रतिनिधित्व गर्न र सकारात्मक परिवर्तनका लागि पहल गर्दै आएको इतिहास छ । यस अर्थमा पनि यो वर्षको विश्व रेडियो दिवसको नारा जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई सामना गर्दै विश्वव्यापी रूपमा सचेतना फैलाउन सार्थक देखिन्छ । 

युनेस्कोले जलवायु परिवर्तन सम्बन्धमा रेडियोका समाचार र सूचना जलवायु परिवर्तनका असर तथा जलवायुमैत्री क्रियाकलापका बारेमा प्रशस्त कभरेज दिएको छ, जसले गर्दा वातावरण संरक्षण गर्न आमजनसमुदायमा सकारात्मक प्रभाव बढेको छ । त्यस्तै विपत्मैत्री र जलवायुमैत्री क्रियाकलापलाई अभिवृद्धि गर्दै विपत्को पूर्वतयारी, आपत्कालीन सूचना प्रणाली स्थापना, विपत् न्यूनीकरण तथा रोकथामका उपाय र जलवायुसँग अनुकूलता हुने खालका कार्य, जस्तै : जलवायुमैत्री कृषि प्रणालीको थालनी जस्ता कार्य गर्न पनि आवश्यक सूचना प्रवाह गरेको छ । जलवायु परिवर्तन र वातावरणीय सचेतनासम्बन्धी रिपोर्टिङलाई वृद्धि गर्दै हरेक समुदायमा पहुँच पुर्‍याउन युनिस्कोले यस वर्षको रेडियो दिवसको नारा ‘रेडियो र जलवायु परिवर्तन’ तय गरेको छ ।

रेडियो र जलवायु परिवर्तन 

नेपालमा औपचारिक रूपमा सन् १९५१ देखि रेडियो प्रसारण आरम्भ भएको पाइन्छ जसमा सन् १९९० सम्म रेडियो नेपालको एकलौटी भूमिका देखिन्छ । तत्कालीन राज्य व्यवस्थाका मातहत रहेर रेडियो नेपालले समाजमा जनचेतना, गीत सङ्गीत र विकास निर्माणका सूचना सन्देश तथा शिक्षा, स्वास्थ्य, कृषिलगायतका सामाजिक, आर्थिक, सांस्कृतिक विषयमा पर्याप्त सामग्री प्रसारण गरे पनि राजनीतिक चेतनाका हिसाबले चाहिँ यसको प्रसारण पनि विवादरहित रहन सकेन ।

सन् १९९० पछि बहुदलीय प्रजातन्त्रको पुनरागमन भएसँगै प्रसारण सेवामा पनि निजी क्षेत्रको प्रवेश भयो । फलस्वरूप सामुदायिक प्रकृतिको सगरमाथा एफएम हुँदै निजी र व्यावसायिक प्रकृतिका रेडियोहरूको बाढी नै आयो, कान्तिपुर इमेज हुँदै आज धेरै सामुदायिक रेडियो पनि स्थापना भई सञ्चालनमा आएका छन् । सूचना तथा प्रसारण विभागको पछिल्लो अभिलेख अनुसार नेपालमा एफएम रेडियोको सङ्ख्या ७१४ नियमित प्रसारण र इजाजत प्राप्त एफएम ११८६ पुगेको छ । 

जलवायु परिवर्तन र वातावरण संरक्षणका सम्बन्धमा स्थानीय रेडियोहरूको भूमिका साँच्चै नै महत्वपूर्ण देखिन्छ । धेरै वर्षको प्रयासपछि रेडियो नेपाल पनि २०८१ असोज २२ देखि सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण भएको छ, जसले गर्दा जलवायु परिवर्तनसम्बन्धी क्रियाकलाप, विपत् रोकथाम तथा न्यूनीकरण, आपत्कालीन सूचना सन्देश प्रसारणसहित महामारी र प्राकृतिक प्रकोप हुनुपूर्व, हुँदा र प्रकोपपछि गर्नुपर्ने सूचना सन्देश प्रसारण जनचेतनामूलक सामग्री, संवाद, छलफल र सार्वजनिक महत्वका सूचना प्रसारण गर्दै आएको छ । युरोपेली मुलुकमा जस्तो पूर्वसूचना प्रणाली स्थापना हुन सकेको छैन । जलवायु परिवर्तन, प्राकृतिक प्रकोप विपत् व्यवस्थापन र महामारीसम्बन्धी सार्वजनिक प्रसारणले गर्नुपर्ने थप क्रियाकलाप, निर्देशिका निर्माण क्रममै छन् ।

बाढी, पहिरो, सुक्खा खडेरी, डडेलो जस्ता प्राकृतिक प्रकोप, विपत् जस्ता विषयलाई सार्वजनिक प्रसारणले अझ बढावा दिएर थप दायित्व बहन गर्दै जाला । स्थानीय सामुदायिक प्रकृतिका रेडियोले पनि जलवायुमैत्री, विपत् व्यवस्थापन, महामारी र प्राकृतिक प्रकोपका बारेमा आआफ्नो कभरेज क्षेत्रभित्र पूर्वसूचना प्रणाली लागु गरी स्थानीय समुदायलाई पूर्वसूचना दिने गरी आवश्यक क्रियाकलाप अगाडि बढाउन नसके पनि जनचेतनाका विषयवस्तुमा प्रसारण गर्दै आएका छन् । जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न अन्य विकसित देशमा जस्तै नेपालमा पनि प्रसारणमा रहेका सार्वजनिक, सामुदायिक व्यावसायिक र शैक्षिक प्रसारणहरूले पनि पूर्वसूचना प्रणाली जडान गरी विपत् र महामारी प्राकृतिक प्रकोप हुनुपूर्व नै सम्बन्धित समुदायलाई सूचना प्रवाह गर्न सके ठुलो जनधनको क्षति हुनबाट बच्न सकिन्छ । 

यसका साथै जलवायु परिवर्तन र वातावरण संरक्षणमा आवश्यक क्रियाकलापका बारेमा सबैथरीका रेडियोबाट स्थानीय समुदाय र सरोकारवालासँग आपसी छलफल गरी सरकारका नीति तथा कार्यक्रमबमोजिम थप सक्रियता देखाउन सके विश्व रेडियो विश्व रेडियो दिवसमा राखिएको शीर्ष वाक्य रेडियो र जलवायु परिवर्तन साँच्चै नै व्यवहारमा आउन सम्भव छ । यसमा सरकारी पक्ष, नागरिक समाज, प्रसारण सम्बन्धित संस्था र गैरसरकारी संस्था तथा निजी संस्थाको सामूहिक प्रयासबाट आज नेपाललगायत विश्वले भोगिरहेको जलवायु परिवर्तनबाट उत्पन्न विभिन्न मुद्दा सम्बोधन गर्न सके सबै नागरिकको भविष्य सुरक्षित हुनेमा दुईमत नहोला साथै यसबाट वातावरण संरक्षणमा समेत ठोस पहल हुन सक्छ । रेडियो प्रसारणले जलवायुमैत्री र वातावरण संरक्षणका क्रियाकलापलाई निम्नलिखित प्रक्रियाबाट सहयोग पुर्‍याउन सक्छ, जुन विषय हामी सबैका लागि अनुकरणीय हुन सक्छ । यीमध्ये केही क्रियाकलाप हामीले प्रयोग पनि गरिरहेका छौँ भने केही क्रियाकलाप थप हुन बाँकी छ । 

चेतनाको स्तर बढाएर

यस अन्तर्गत हामीले जलवायु परिवर्तन, मौसमका विभिन्न पाटापक्ष, मौसमसम्बन्धी विभिन्न देशविदेशमा भएका घटना सुनाएर, स्टोरी टेलिङको माध्यमबाट, विभिन्न डाइलगको माध्यमबाट, छलफलको माध्यमबाट र तिनीहरूको पूर्वतयारी घटना भइसकेपछिका क्रियाकलाप सुनाएर पनि चेतना बढाउन सक्छौँ । जलवायु परिवर्तनबाट हुने असर रोकथाम गर्न केही हदसम्म सकिन्छ । 

व्यावहारिक तरिका 

जलवायु परिवर्तनसम्बन्धी जानकारी त्यस्तै व्यावहारिक ज्ञान जुन जलवायुमैत्री, जलवायु अनुकूलन छन्, तिनीहरूलाई एक आपसमा सेयर गरेर पनि जलवायुबाट हुन सक्ने प्रभाव न्यूनीकरण गर्न सकिन्छ । जस्तै कृषिमैत्री बाली लगाउन थालेर, बाढी पहिरो रोकथाम गर्ने नीति बनाएर र तिनीहरूको व्यावहारिक प्रयोग गरेर, अर्को कुरा समुदायलाई यो जलवायु परिवर्तनसम्बन्धी क्रियाकलापमा आबद्ध गरेर पनि हामीले जलवायु परिवर्तनसम्बन्धी नकारात्मक प्रभावहरूलाई रोक्न सक्छौँ । जसले गर्दा समुदायका मानिसले आफूले नबुझेका कुरा छलफलको माध्यमबाट, अनुभव आदानप्रदानको माध्यमबाट सिक्न सक्छन् । 

सूचना प्रणाली लागु गरेर

रेडियोमा अलाम सिस्टमको व्यवस्था गरी प्राकृतिक प्रकोप हुनुपूर्व ती सूचना प्रसारण गर्ने व्यवस्था मिलाई जनधनको सुरक्षा गर्न सकिन्छ । 

परम्परागत ज्ञान र सिप प्रयोग गरेर

विगतका हाम्रा पूर्वजको परम्परागत ज्ञान र सिपको प्रयोग गरेर पनि हामीले प्राकृतिक प्रकोप र जलवायु परिवर्तनसम्बन्धी नकारात्मक प्रभावलाई कम गर्न सकिन्छ ।

सीमान्तकृत वर्गलाई बुझाएर

जुन समुदाय सङ्कटमा छ तिनीहरूलाई जनचेतनामूलक कुराहरू सुनाएर, त्यसलाई कसरी अनुकरणीय बनाउन सकिन्छ । वातावरणको संरक्षण गर्न सकिन्छ ती कुराको बारेमा विशेष जानकारी उपलब्ध गराएर पनि सीमान्तकृत वर्गलाई बुझाएर पनि प्राकृतिक प्रकोप र जलवायु परिवर्तनसम्बन्धी नकारात्मक प्रभावलाई कम गर्न सकिन्छ

भाषामा विविधीकरण गरेर

रेडियोमा विभिन्न भाषा प्रयोग गरेर भाषिक विविधताको थालनी गरेर पनि सबै जनसमुदायलाई हामीले प्राकृतिक प्रकोप, जलवायु परिवर्तन, विपत् जस्ता विभिन्न कुराको जानकारी गराएर पनि प्राकृतिक प्रकोपको न्यूनीकरण गर्न सकिन्छ । 

छिटो सूचना पुग्ने भएकाले पनि रेडियोलाई जलवायु परिवर्तनसम्बन्धी विभिन्न क्रियाकलाप र वातावरण संरक्षणसम्बन्धी क्रियाकलापमा धेरै मात्रामा प्रयोग गर्न सकिन्छ । त्यसैले रेडियो र जलवायु परिवर्तन जुन विश्व रेडियो दिवसको अवसरमा नारा राखिएको छ त्यो सान्दर्भिक छ । रेडियोले समग्र नागरिकको जुनसुकै समयमा पनि सुरक्षा गर्ने विषयमा दत्तचित्त भएर काम गर्न सक्छ ।

प्रसारण सामग्री नियमन गरेर

रेडियोमा प्रसारण सामग्री कत्तिको गुणस्तरीय छ, कत्तिको वास्तविक र कतिको तथ्यपरक छ भन्ने कुरा पनि उठ्छ । जलवायु परिवर्तन न्यूनीकरण संरक्षणका क्रियाकलापको विषयमा कुराकानी गरिरहेका छौँ, त्यसलाई हामीले नियमन गर्न सक्नु पर्छ । विश्व रेडियो दिवसले रेडियोको शताब्दीको इतिहास तथा रेडियोको योगदानलाई यी माध्यमबाट प्रसारित कार्यक्रम, समाचार, नाटक, गीत सङ्गीत, खेलकुदलगायतका क्षेत्रमा गतिलो प्रभाव छोड्न सकेको छ । यसका साथै सङ्कटका बेला, विपत्का बेला, महामारीका बेला र प्राकृतिक प्रकोपका बेलासमेत रेडियोले खेलेको भूमिकालाई सदा सर्वदा सम्झिने गरिन्छ । आउँदा दिनमा रेडियोले प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात् गर्दै सीमान्तकृत, बेसहारा तथा अल्पसङ्ख्यक र शरणार्थीका लागि समेत आवाज बुलन्द गर्दै जानुपर्ने टड्कारो आवश्यकता छ ।