गोरखापत्र अनलाइन
काठमाडौँ, माघ ३० गते । चलचित्र विकास बोर्डले मधेश प्रदेशको जनकपुरमा फागुन १३, १४ र १५ गते चलचित्र शिविर सञ्चालन गर्ने भएको छ । मधेशमा चलचित्रबारे अभिरुची र चेतना जागृत गराई त्यहाँको बजारलाई विस्तार र सदृढ बनाउने उद्देश्यसहित शिविर सञ्चालन गर्न लागिएको हो ।
चलचित्रमार्फत समभावको संस्कृति विकास गर्ने लक्ष्यसहित मधेशमा नेपाली तथा मातृभाषा चलचित्रको अवस्था, बजार तथा दर्शकको रुचिको अध्ययन–सर्भेक्षण गर्ने, मधेशका युवा चलचित्रकर्मीलाई चलचित्र नीति, बिधिबारे अभिमूखीकरण गर्ने, मधेसी समाजका मौलिक, नवीन र उत्कृष्ट कथाहरूको खोजी गर्ने, चलचित्रसँग सम्बन्धित विषय क्षेत्रबारे बहस–विमर्श गर्ने उद्देश्यले चलचित्र शिविर सञ्चालन गर्न लागिएको बोर्ड अध्यक्ष दिनेश डिसीले बताउनुभयो।
‘चलचित्र शिविर कार्यक्रम नेपाली चलचित्र उद्योगमा दूरगामी प्रभाव पार्ने एक विशेष अभियान हो । यो कार्यक्रम मात्र होइन, चलचित्रमार्फत देश जोड्ने एक महत्त्वपूर्ण सेतु हो । समभावको व्यवहार र संस्कृति विकास गरी सामाजिक–सांस्कृतिक सदभाव, सहिष्णुता र राष्ट्रिय एकतालाई सबल बनाउने यो एउटा सांस्कृतिक एकीकरणको एक प्रयास हो’ अध्यक्ष डिसीले भन्नुभयो ।
बोर्डले चलचित्र शिविर अभियान सञ्चालन गर्न बोर्ड सदस्य केएल बुढाथोकीलाई संयोजक तोकेको छ । बोर्ड सदस्य एवं संयोजक बुढाथोकीका अनुसार चलचित्र शिविर अन्तर्गत चलचित्र प्रदर्शन, पोस्टर तथा फोटो प्रदर्शनी, परामर्श सेवा, कार्यशाला, चलचित्रसम्बन्धी अभिमुखीकरण, अन्तरक्रिया, संवाद, संगोष्ठी, चलचित्र सम्मेलनजस्ता कार्यक्रम आयोजना गरिनेछ ।