काठमाडौँ, माघ २७ गते । यस वर्षको प्रणय दिवस (भ्यालेनटाइन डे) का लागि पाँच करोड रुपियाँ बराबरको गुलाब खपत हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार प्रत्येक वर्ष फेब्रुअरी १४ मा मनाइने प्रणय दिवसमा पाँच करोड १० लाख रुपियाँ बराबरको चार लाख २५ हजार स्टिम गुलाब खपत हुने भएको हो । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले स्थानीय उत्पादनले माग धान्न नसक्दा प्रणय दिवसलक्षित छिमेकी मुलुक भारतबाट ७५ प्रतिशत गुलाब आयात हुने गरेको जानकारी दिनुभयो । बजारमा प्रतिस्टिम गुलाबको मूल्य न्यूनतम ९० रुपियाँदेखि एक सय रुपियाँसम्म रहेको उहाँको भनाइ छ ।
मुलुकमा माग अनुसार उत्पादन नहुँदा बर्सेनि प्रणय दिवसमा ठुलो परिणाममा गुलाब आयात हुने गर्छ । हरेक वर्ष गुलाबको माग १५ देखि २० प्रतिशत बढ्दै गए पनि मुलुकमा पर्याप्त उत्पादन नहुँदा बर्सेनि आयात गर्नु गरेको श्रेष्ठले जानकारी दिनुभयो । एसोसिएसनका अनुसार प्रणय दिवसमा काठमाडौँ उपत्यकामा दुई लाख ५५ हजार स्टिम र एक लाख ७० हजार स्टिम गुलाब उपत्यकाबाहिर खपत हुने गर्छ । गत वर्षको प्रणय दिवसमा तीन लाख ५० हजार स्टिम गुलाबको फूल खपत भएको समेत एसोसिएसनले जनाएको छ ।
प्रणय दिवसबाहेक सामान्य दिनमा प्रतिदिन आठदेखि १० हजार स्टिम गुलाब फूलको माग हुने गरेको छ । नेपालमा मौसम अनुकूल मात्रै उत्पादन हुने र जाडो मौसमका कारण स्थानीय उत्पादन कम हुने हुँदा आयातमा भर पर्नु परेको व्यवसायीको भनाइ छ । नेपालमा गुलाब फूलको व्यावसायिक खेती चितवन, काभ्रेपलाञ्चोक र रुपन्देही जिल्लामा हुने गरेको छ । फेब्रुअरी महिनामा नेपालमा जाडो सिजन नै रहने भएकाले गुलाब फूलको उत्पादन कम हुने हुँदा आन्तरिक माग पूरा गर्न व्यवसायीले भारतबाट आयात गर्ने गरेका छन् । व्यवसायीका अनुसार प्रणय दिवस आउन एक साता बाँकी रहँदा बजारमा गुलाबको फूलको कारोबार बढ्दै गएको छ । शङ्खमुलका व्यापारी सन्दीप थापाले अन्य समयमा फाट्टफुट्ट मात्र बिक्री हुने गरेकामा प्रणय दिवसमा गुलाबको व्यापार दोब्बर तेब्बरले वृद्धि हुने गर्छ ।
विवाह, व्रतबन्धलगायतका पार्टीमा सजाउनका लागि समेत गुलाबको प्रयोग हुने गरेको उहाँको भनाइ छ । प्रणय दिवसमा आफ्ना प्रेमीप्रेमिकालाई गुलाब दिने चलन बढ्दै गएकाले पनि यसको व्यापार बढी हुने उहाँको भनाइ छ ।