• २६ माघ २०८१, शनिबार

पनौतीमा माधः हालिगु

blog

पनौतीको त्रिवेणीघाटमा बिहानबिहानै माधः हालिगु (भजन गाउँदै नगर परिक्रमा गर्ने) का समूह भेटिन्छ । पौष शुक्ल पूर्णिमादेखि एक महिना चल्ने यो भजन बनेपा, नाला, साँखुमा पनि गाइन्छ । पनौतीमा माधः हालिगु त्रिवेणीघाटबाट सुरु भई ब्रह्मायणी, इन्द्रेश्वर महादेव, कार्यविनायक, जलविनायक, नित्यनाथ (नासद्यः), काठं गणेश, महालक्ष्मी, सोह्रखुट्टेस्थित ब्रह्मायणी, भद्रकाली, कपमरु गणेश हुँदै पनौती लायकुमा पुगी सकिन्छ । यसका अलावा प्रत्येक शनिबार चामुण्डा, भीमसेनस्थान र मानेश्वरीमा जानु पर्छ । एकादशीको दिन पारेर गोरखनाथस्थित महादेवमा पनि जान्छन् । 

माधः भजनका ज्येष्ठ सदस्यका अनुसार भक्तपुरबाट पनौतीमा बसाइँ सरेका मुक्तिमानले पनौतीमा माधः हालिगु चलन सुरु गरेका हुन् । नृत्य र रागमा पारङ्गत मुक्तिमानले पनौतीवासीलाई “मसँगै आउनू, मैले भने जस्तो मात्र गर्नू, बाँकी म सिकाउँछु” भनी पनौतीमा माधः हालिगु र दसैँताका स्वोंतकी राख्ने चलन बसालेका थिए । उनको अवसानपछि मकर पसछें, बिसंकुमार मातन्छे र त्यसपछि मुक्ति ताम्राकार, चिनिया पसछें, रत्नबहादुर ताम्राकार, बद्री पसछें, गोविन्द वासुदेव कर्माचार्य, गणेश भुजू, नारायणकृष्ण सूर्यवंशी, कृष्णदास भोछिभोयालगायतका अग्रज आफ्नो जीवनकालभरि माधः हालिगु कार्यमा दत्तचित्त भई लागे । हालका दिनमा विश्वराम ताम्राकार, रत्नलाल जाकिबन्जार, रामचन्द्र महाजू, कृष्णदास कर्माचार्य, पृथ्वी सोनाम, रवीन्द्र कर्माचार्यलगायत सक्रिय छन् ।

साठी/सत्तरीको दशकमा माधः हालिगु निकै सङ्कटमा थियो तथापि केही वर्षदेखि परिदृश्य फेरिएको छ । सो भजनकार्यमा सक्रिय स्थानीय पृथ्वी सोनामका अनुसार पहिले भए माधः हालिगु कार्यको साङ्गेका दिन मात्र पनौतीको लायकुपरिसरमा स्वारी, मालपुवा, चिया खुवाउने चलन थियो । अहिले प्रत्येक दिन जसो ठाउँ ठाउँमा चियानास्ता गराउने चलन बढेको छ । 

पनौतीको माधः हालिगुसम्बन्धी विधिविधान उल्लिखित कुनै लेखोट वा पुस्तक छैन । यो सांस्कृतिक चलनको निरन्तरताका लागि अभिलेखीकरण गर्नु आवश्यक भइसकेको छ । माधः भजनका क्रममा पनौती नगर परिक्रमा गर्दा गणेश, शिवजी, स्वस्थानी माता, विष्णु नारायण र भजन वसन्त गाइन्छ । 

साँखु स्वस्थानी व्रतटोली

पौष शुक्ल पूर्णिमाको दिनदेखि घर घरमा श्रीस्वस्थानीको व्रतकथा वाचन गर्ने अवधिमा काठमाडौँको साँखुस्थित शालीनदीमा श्रद्धालु महिला आफ्नो मनोकाङ्क्षा पूरा होस् भनी महिना दिनसम्म शालीनदीमै बसी भक्तिपूर्वक श्री स्वस्थानीको व्रत सम्पन्न गर्छन् । यिनै भक्तालु महिला माधवनारायणसहित साँखुबाहिर देवपत्तन, फर्पिङ, चाँगुनारायणमा जस्तै माघ शुक्ल तृतीयामा पनौती आई भोलिपल्ट त्रिवेणीघाटमा स्नान गरी फर्किन्छन् । 

साँखुमा व्रत लिन इच्छुक व्रतालुले पौष शुक्ल चतुर्दशीका दिन चोखो भई नुनिलो भोजन गर्छन् । त्यसपछि एकमहिने व्रतका लागि प्रतिबद्ध हुन्छन् । पौष शुक्ल पूर्णिमाका दिन बिहानै शालीनदीमा जम्मा भई माधवनारायणसँगै स्नान गरी दिउँसोबाट व्रत आरम्भ गर्छन् । यसबिच दैनिक पूजापाठ गर्ने तथा स्वस्थानी व्रतकथा श्रवण गर्ने गर्छन् । यसै व्रmममा माघ कृष्ण त्रयोदशीका दिन वज्रयोगिनी दर्शन गर्छन् । माघ कृष्ण चतुर्दशीका दिनदेखि परदेश यात्राका क्रममा पशुपतिमा बास बस्ने गरी जान्छन् । त्यसको भोलिपल्ट माघ कृष्ण औँसीका दिन बिहान पशुपतिमा व्रत कार्य सिध्याई सानो गौचरनमा भोजन गरी फर्पिङमा बास बस्ने गरी जान्छन् । माघ शुक्ल प्रतिपदाको बिहान फर्पिङमा व्रत कार्य सिध्याई शङ्खमूलमा पुगी फलाहार गरी साँखु फर्किन्छन् । माघ शुक्ल तृतीयाका दिन शालीनदीमा व्रतकार्य सिध्याई पनौतीमा बास बस्ने गरी जान्छन् । चतुर्थीको बिहान पनौतीमा व्रतकार्य सिध्याई बनेपामा फलाहार गरी साँखु फर्कन्छन् । माघ शुक्ल (द्रोण) नवमीमा शालीनदीमा खिर भोजन गर्छन् । भिमा एकादशीका दिन चाँगुनारायणमा बास बस्ने गरी जान्छन् । भोलिपल्ट बिहान चाँगुमा व्रतकार्य सिध्याई साँखु फिर्ता जान्छन् । माघ शुक्ल चतुर्दशीका दिन अश्वमेध यज्ञका लागि देव निमन्त्रणा गरी माघ शुक्ल पूर्णिमाका दिन अश्वमेध यज्ञ गरी व्रत समापन गर्छन् । त्यसको भोलिपल्ट फाल्गुण कृष्ण प्रतिपदाका दिन गणेश पूजा गरी नुन फुकाउँछन् । यसैको निरन्तरतास्वरूप महाशिवरात्रिका दिन सादुकुलाम पूजा गरी ज्योतिर्लिङ्गेश्वरमा जाग्राम बस्छन् ।  

भक्तपुरको माधवनारायण टोली माघ शुक्ल सप्तमीमा पनौती बास बस्ने गरी पुग्छन् । भोलिपल्ट स्नान, पूजापाठपछि भक्तपुर फर्कन्छन् । यही महिनामा पनौतीका माधः भजन टोली माघ शुक्ल सप्तमी तिथिका दिन साँखुमा माधवनारायण दर्शन गर्न जाने चलन छ । माघ शुक्ल चौथी तिथिका दिन बनेपाको माधः टोली पनौती आउने गरेको छ ।

लावण्य देश अर्थात् पनौती 

लामो समयदेखि स्वस्थानीसँग सम्बन्धित माधवनारायणको व्रत साँखुमा सञ्चालन हुँदै आए पनि संस्कृतिविद् हरिराम जोशीको पृथक विचार रहिआएको छ । उहाँका अनुसार ‘फुलचोकीमा पानीको मुहान उत्पन्न भए पनि पनौतीतिर बग्ने क्रममा (बाँसैबाँसको घारी पनि छिचोलेर) पानीमा बाँसको रस (नेपाल भाषामा पं ‘बाँस’ र ति ‘रस’) मिसिन गयो । बाँसको रस मिसिएको पानी बगेको नदी (हाल रोसी अर्थात् लीलावती नामले परिचित) किनारमा बसेको सहर भएकाले कालान्तरमा पंती नै अपभ्रंश भई पन्ती, पनाती नाम रहन गएको देखिन्छ । वैदिककालदेखि नै बाँसलाई निकै शुद्ध वस्तुका रूपमा लिइन्छ । त्यसो भएर नेवारलगायत नेपालका असङ्ख्य जातिमा जन्मदेखि मृत्युसम्म बाँस वा यसको नजिकको निगालोबाट निर्मित वस्तुहरूको उपयोग हुँदै आएको छ । सारांशमा बाँसको रसमिश्रित पानी सिञ्चित क्षेत्र पनौतीलाई त्यसैले पनि पुण्यभूमि मानिन्छ । उहाँ थप्नुहुन्छ, “लीलावती लावण्यवतीको अपभ्रंश हो । प्राकृतिक रूपले कसैको पनि मनै लोभ्याउन सकेको हुँदा पौराणिक आधारमा यस क्षेत्र लावण्य देशका रूपमा कहलियो ।”

स्वस्थानी महात्म्य अनुसार यसै स्थानमा गणराज्य नायक नवराजको राज्य थियो तर त्यसबेला राजाको अभिषेकमा शक्तिस्वरूपा स्त्रीको उपस्थिति अनिवार्य मानिन्थ्यो । त्यसैले पनि पत्नी चन्द्रावतीको अनुपस्थितिमा लावण्य देशका पूर्वशासिकालाई नै राखी नवराजले राज अभिषेक सम्पन्न गरेका थिए । सारांशमा गणराज्य नायक नवराजको लावण्य राज्य यतै थियो । यसैबिच राजा नवराजले आफ्नी पत्नी चन्द्रावतीलाई वरुणापुरबाट डोलीमा ल्याउन भारवाहकहरू पठाए । नवराज राजा भएको कुरा सुनेपछि अत्यन्त हर्षित भई बाबुआमासित बिदा भई वरुणापुरबाट फर्किन् । यस कुराले चन्द्रावतीमा कति उन्माद पलायो भने तिनले भारवाहकहरूलाई होच्याउने, खिस्याउने गरी देवीको प्रसाद पनि थुकेर मिल्काइदिइन् । यसैबिच अकस्मात् हावा, हुरी चल्नुका साथै ठुलो बर्सात भयो । डोली र भारवाहकलाई नदीमा आएको बाढीले बगाएर लग्यो । चन्द्रावती पनि महारोगी भई सोही पुण्यवती नदीको बिचस्थित एक ठुलो शिलामा परिरहिन् । यसरी चन्द्रावती नालाबाट बग्दै आएको नदी बिचको शिलामा रही दुःख झेलिरहिन् । 

यसै प्रसङ्गमा हरिराम जोशी भन्नुहुन्छ, “पहिले पुण्यमाताको नामकरण भइसकेको थिएन । ढल (अर्थात् नाला) मात्रै भनिन्थ्यो । नालाको अभिलेखमा नाला बग्ने ठाउँ भएर नालमग्राम पनि भनिन्थ्यो । जहिलेदेखि यस खोलानालाको पानीले चन्द्रावतीले आफ्नो पापबाट मुक्ति पाइन्, यस खोलाको नाम पनि पुण्यवती कहलिन थाल्यो । त्यसपछि चन्द्रावतीलाई पनि पापिनी होइन पुण्यवती भनिन थाल्यो ।” उहाँका अनुसार यसरी चन्द्रावती पापमुक्त हुनुमा तिनले जुन देवीको प्रसाद थुकेर फालेकी थिइन्; तिनै देवी स्वस्थानीको पूजा एक महिनासम्म (माघ महिनाभर) अप्सराहरूद्वारा प्रदत्त ज्ञानले प्रेरित भई अटुट रूपले साधना गरेकाले हो । त्यसपछि तिनी पहिले झैँ स्वस्थ भइन् । अप्सराहरूले पहिले तिनलाई पापिनीको संज्ञा दिए पनि पछि तिनको रूप, लावण्य अवलोकन गरी ती अप्सराहरूले नै पुण्यवतीको संज्ञा दिए । यसरी उनी चन्द्रावतीका साथै पुण्यवतीका नामले प्रख्यात भइन् । पुण्यवती नदीतटमै पापिनी भई अनेक दुःखकष्ट सामना गरी यहीँ पूजापाठ गरी पापमुक्त भएकाले कालान्तरमा उक्त नदी पुण्यवती नामले नै ख्याति हुन थाल्यो ।

स्वस्थानी महात्म्यमै नागहरू १२ वर्षमा आफ्नो घर फर्केको कुरा वर्णित छ । १२ वर्षमा नागहरू घर फर्केको प्रसङ्ग लावण्य देशस्थित दुई नदी लीलावती एवं पुण्यवतीको सङ्गमस्थलमा प्रत्येक १२ वर्षमा लाग्ने मकरमेलासँग तादात्म्यता देखिन्छ । यसका अलावा पुण्यमाता नदीलाई पुराना ग्रन्थमा पुण्यवती नामले पनि कहलिनु र पुण्यमाता खोलामा ठुलो ढुङ्गा हुनुबाट स्वस्थानीदेवीको प्रमुख आराधना थलो पनौतीतिरै भएको स्पष्ट हुन्छ । यसै यथार्थलाई मानेर पाइला ढुङ्गा (पवित्र) मा राखे (पला लोहँती) पुण्य मिल्छ भन्ने जनश्रुति छ । चन्द्रावतीको स्वस्थानी आराधनास्थल पनि पंती (पलाती) नै रहेकोतिर स्पष्टतः लक्षित हुन्छ । पौराणिक कथा एवं कतिपय किंवदन्तीका ठोस प्रामाणिक  (लिखत) आधारहरू नहुने भएकाले संस्कृतिशिरोमणि हरिराम जोशीले स्वस्थानी माताको आराधना स्थलबारे राख्नुभएको पृथक् विचारप्रति आवश्यकता अनुसार थप छलफल गर्न सकिन्छ ।