तिमी जन्मँदा
रक्तस्रावले छपक्क भिजेको
आमाको पेटीकोट
तिमीले स्वतन्त्रता जन्माउँदा
रक्ताम्मे भएका कपडा
सिम्रिक रङको चन्द्रसूर्य बनेर
फहराइरहेको छ, हाम्रो शिरमा ।
जब देश जोगाउँदा
आफ्नो छातीमा
निर्धक्कले थाप्यौ गोली
झुन्डियौ चुपचाप उभिएको खरीको बोटमा
निडरताको किला गाड्यौ मुटुमा ।
तब सोचेका थियौ होला
तिम्रो अस्तुसँगै पखालिए मयलहरू
सुकिला हुने छन् लोकका जीवनहरू
दुर्भाग्य ! तिमीले घरलोक छोडेर
सहिदगेटमा उभिएपछि
तिमीले फालेका मयलहरू जमिरहे
फरक फरक स्वरूपमा
तिम्रा सपनाहरू अधुरा रहे
रोइरह्यो आमाको रित्तो काख
आफूलाई मूर्ति बनाएर
कति कुर्छौ युग बदल्ने सपना ?
तिमी फेरि आऊ
तिमीले नै बाल्नु छ अँध्यारोमा दियो
हो,
तिमी फेरि जन्मनु पर्छ ।