• २६ माघ २०८१, शनिबार

पुस्तक

नेपालका निधि : महेन्द्रनारायण निधि

blog

नेपालको प्रजातान्त्रिक आन्दोलनमा अनवरत लागिपरेर निष्ठा, इमान र समर्पणको राजनीतिका पर्याय बनेका थोरै व्यक्तित्वमध्येमा पर्नुहुन्छ– महेन्द्रनारायण निधि । तराई/मधेशमा नेपाली कांग्रेसको प्रभाव विस्तार गर्नमा उहाँको ठुलो योगदान रहेको तथ्यलाई कसैले पनि नर्कान सक्दैन । विसं १९७८ फागुन महिनामा महोत्तरी जिल्लाको नगराइनमा जन्मिएका निधिमा सानै उमेरदेखि राजनीतिक चेतना जागृत भयो । त्यसपछि उहाँ राणा शासनविरुद्धको आन्दोलनमा होमिनुभएको थियो । 

तराई/मधेशमा सर्वमान्य नेताका रूपमा स्थापित निधिलाई नजिकबाट चिनेका, सङ्गत गरेका र सँगसँगै जेल जीवनसमेत भोगेका वरिष्ठ पत्रकार एवं साहित्यकार किशोर नेपालद्वारा लिखित कृतित्व र व्यक्तित्वपरक पुस्तक ‘नेपालका निधि’ भर्खरै प्रकाशित भएको छ । जीवनभर नेपाली कांग्रेसमा लागेर अविचलित राजनीति र समाजसेवा गरेका निधिको योगदानलाई दस्ताबेजीकरण गर्ने काम यस कृतिमार्फत भएको छ ।

पुस्तकमा नेपालले विभिन्न २० शीर्षकमा महेन्द्रनारायण निधिको व्यक्तित्व, योगदान, मधेशका नेताहरूको राजनीतिक उचाइदेखि लिएर वर्तमानको राजनीतिक उपलब्धिसम्मलाई समेट्ने प्रयत्न गर्नुभएको देखिन्छ । राणा शासनविरुद्धको सशस्त्र क्रान्तिमा आफ्नो क्षेत्रको कमान्डर निधिको योगदान र समर्पण नेपाली कांग्रेससँग गाँसिएकाले पुस्तकमा एक किसिमले नेपाली कांग्रेसको इतिहास नै उल्लेख भएको पाइन्छ ।

विसं २००७ को क्रान्तिमा मुक्ति सेनाले जनकपुर क्षेत्र कब्जा गरिसकेपछि कमान्डर रुद्रप्रसाद गिरी त्यस क्षेत्रको गभर्नर र निधि जनसरकारका प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । विसं २००८ मा निधिकै पहलमा महोत्तरी जिल्लामा नेपाली कांग्रेसको जिल्ला कार्यसमिति गठन हुँदा उहाँ सभापतिका रूपमा सर्वसम्मत चयन हुनुभएको थियो । उहाँकै अग्रसरतामा विसं २००९ मा जनकपुरमा कांग्रेसको महाधिवेशन हुँदा बिपी कोइराला पार्टी सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको थियो । यस महाधिवेशनपछि निधि पनि केन्द्रीय नेतृत्वमा प्रवेश गर्नुभएर गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको हाराहारीमा स्थापित हुनुभएको पुस्तकमा चर्चा गरिएको छ । 

निधि पार्टीको कोषाध्यक्ष र महामन्त्रीसम्म हुनुभयो । नेपाल सरकारको मन्त्री हुनुभयो । अहिंसावादी नेताका रूपमा स्वच्छ छवि कायम राखी विसं २०५६ वैशाख २१ गते ७८ वर्षको उमेरमा उहाँ स्वर्गीय हुनुभएको थियो । लेखकले निधिको व्यक्तित्वलाई बिपीको छायामा परेर जति उचाइमा पुग्नुपर्ने थियो, त्यति हुन नसकेको विश्लेषण गर्नुभएको छ । भारतीय समाजवादी नेताहरू जयप्रकाश नारायण, डा. राममनोहर लोहियाबाट औधी प्रभावित निधि गान्धीवादी हुनुहुन्थ्यो । उहाँको गान्धीवादी तथा चर्खा आन्दोलनका तुलसीमेहर श्रेष्ठसँग गहिरो सम्बन्ध थियो । निधि पनि खादी कपडा नै लगाउनुहुन्थ्यो । राणाकालमै काठमाडौँ आएर विद्यालय खोल्न पाउने स्वीकृति लिन सफल हुनुभएर आफ्ना पिताजीको सदीक्षा पूरा गर्नुभएका निधिको व्यक्तित्वका अनेक पाटो पुस्तकमा उजागर भएका छन् ।

तत्कालीन समयमा मधेशमा तीन व्यक्तित्व महेन्द्रनारायण निधि, रामेश्वरप्रसाद सिंह र रामनारायण मिश्र कांग्रेस राजनीतिको खम्बा हुनुहुन्थ्यो । यसपछिको पुस्तामा अनेक नेता उदाए र कतिले ठुलै उपलब्धि हात पारे पनि कतिले पार्टीलाई नै घात गरेका उदाहरण छन् । निधिमा भने प्रारम्भदेखि जीवनपर्यन्त कुनै किसिमको विचलन देखिएन । नेतृत्वले दिएको जिम्मेवारी कुशलतापूर्वक वहन गर्ने कार्यबाट उहाँ कहिल्यै विमुख हुनुभएन । विसं २०१५ मा सम्पन्न पहिलो आमनिर्वाचनमा निर्वाचित भएका निधि प्रतिनिधि सभाको उपसभामुखमा चयन हुनुभएको थियो । सभामुखमा भने कृष्णप्रसाद भट्टराई हुनुहुन्थ्यो । तत्कालीन राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्र अपदस्थ गरेपछि बिपी कोइरालालगायत प्रायः सबै नेतालाई जेलमा हालिएको थियो । निधिलाई भने थुनिएको थिएन । महेन्द्रले उहाँलाई पञ्चायतको समर्थनमा ल्याउन अनेक प्रयत्न गर्नुभएको तर निधिको निष्ठा रत्तिभर नडगमगाएको नेपालले उल्लेख गर्नुभएको छ । कांग्रेसले गरेको सशस्त्र सङ्घर्षको बाटो मन नपराएका निधि अहिंसात्मक आन्दोलन र सत्याग्रहको पक्षधर हुनुहुन्थ्यो । यसले पनि उहाँको आफ्नै खालको व्यक्तित्व कायम हुन सकेको देखिन्छ ।

निधिले पटक पटक गरेर १० वर्षसम्म जेल जीवन बिताउनुभएको थियो । निधि र  कृतिकार नेपाल पनि उहाँसँगै जेलमा रहनुहुँदा गहिरो सम्बन्ध रहेको देखिन्छ । यो कृति तयार पार्दा निधिलाई नजिकबाट चिन्नेजान्नेहरू राजनीतिज्ञ प्रदीप गिरी, साहित्यकार राजेन्द्र विमललगायतका व्यक्तिसँग पनि सोधखोज गरेर निधिको व्यक्तित्व पर्गेलेको पुस्तकमा उल्लेख छ । प्रतिबन्धित कालमा पार्टीको मुखपत्रको सम्पादनसमेत गर्नुभएका निधि अध्ययन र पत्रकारितामा गहिरो लगाव राख्ने व्यक्तिका रूपमा नेपालले उल्लेख गर्नुभएको छ । उहाँ प्रतिबन्धित कालमा पनि प्रजातन्त्रका पक्षमा लेखहरू लेखेर भारतीय पत्रपत्रिकामा प्रकाशित गर्नुहुन्थ्यो । उहाँका केही लेख पुस्तकको परिशिष्ट खण्डमा राखिएका छन् । केही महत्वपूर्ण तस्बिरसमेत समाविष्ट छन् । यसले पुस्तकलाई थप ओजिलो बनाउन मद्दत पुगेको अनुभव हुन्छ । किशोर नेपाल आफैँमा चर्चित साहित्यकार तथा लेखक हुनुहुन्छ भने सशक्त पत्रकार पनि । निधिको व्यक्तित्व पर्गेलेर कृति तयार पार्न मेहनत गर्दागर्दै पनि कतिपय आलेखमा सम्पादनको कमीले केही तिथिमिति र नामथरमा तलमाथि पर्न गएको देखिन्छ । कतिपय सन्दर्भमा एउटा व्यक्तित्वलाई उजागर गर्न अर्को व्यक्तित्वलाई खसाल्न खोजेको जस्तो देखिनुले आमपाठकले निष्पक्ष विश्लेषण नभएको ठम्याउन सक्ने आधार भेट्न सक्छन् । समग्रमा राजनीतिज्ञ महेन्द्रनारायण निधिको व्यक्तित्व उजागर गरिएको ‘नेपालका निधि’ प्रजातान्त्रिक आन्दोलनको इतिहास जान्न चाहनेले पढ्नैपर्ने कृतिका रूपमा आएको छ ।