• २६ माघ २०८१, शनिबार

बैङ्क खाता रोक्का हुँदा उदयपुर सिमेन्ट सङ्कटमा

blog

उदयपुर सिमेन्ट उद्योगको जलजलेस्थित प्लान्ट ।तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल 

जलजले (उदयपुर), माघ २६ गते । सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगका सम्पूर्ण बैङ्क खाता रोक्का भएका छन् । स्थानीय रौता सप्लायर्सले यसअघि उद्योगमा आपूर्ति गराएको सामानको भुक्तानी नपाएको भन्दै काठमाडौँ जिल्ला अदालतमा दर्ता गरेको रिटका कारण उद्योगका १८ वटा बैङ्कमा रहेका खाता रोक्का भएका हुन् । 

काठमाडौँ जिल्ला अदालतमा परेको रिटमा सुनुवाइ गर्दै यही माघ ८ गतेको अदालतको आदेश अनुसार माघ ९ गतेदेखि उद्योगका सबै बैङ्क खाता रोक्का हँुदा जलजलेस्थित प्लान्ट क्षेत्रको उत्पादन मात्र हैन दैनिक प्रशासनिक कार्यसमेत ठप्प भएको र एम्बुलेन्स सेवा पनि चल्न नसक्दा मानवीय सङ्कटसमेत निम्तिएको निमित्त महाप्रबन्धक महेश साहले बताउनुभयो ।

रौता सप्लायर्सका सञ्चालक सुवास राउतलगायतका सञ्चालकले दिएको मुद्दाउपर जिल्ला अदालतले बैङ्क खाता रोक्का गर्ने निर्णय गरेसँगै सम्पूर्ण खाता रोक्का भएको उद्योगका लेखा अधिकृत सञ्जीव रेग्मीले जानकारी दिनुभयो । लेखा अधिकृत रेग्मीले भन्नुभयो, “सरकारी तथा निजी बैङ्कमा भएका १८ वटा खाता रोक्का भएपछि आर्थिक कारोबार ठप्प भएको छ ।” राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क, नेपाल बैङ्कलगायतका बैङ्कमा उद्योगका खाता रहेका थिए ।

उद्योगका निमित्त महाप्रबन्धक महेश साहले रौता सप्लायर्सको मात्र उद्योगले गर्नुपर्ने भुक्तानी ९५ लाख रुपियाँ रहेको र सोही रकम उद्योगले नदिएको भन्दै रौता सप्लायर्सले भुक्तानी दाबी गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको भए पनि उद्योगसँग पैसा नभएकाले तत्काल भुक्तानी दिन नसकिएको बताउनुभयो । 

यसैबिच काठमाडौँ जिल्ला अदालतको निर्णयविरुद्ध उद्योगले उच्च अदालत पाटनमा  खाता फुकुवा गरिपाउँ भनि माघ २४ गते पुनरावेदन गरेको  र चालु, पुँजीगत तथा बचत खाता सबै रोक्का रहिरहे उद्योग झनै ठुलो सङ्कटको भुमरीमा पर्ने निमित्त महाप्रबन्धक साहले बताउनुभयो । 

सङ्घीय सरकारले दिएको १६ करोड रुपियाँबाट उद्योगमा मर्मतसम्भारको काम भइरहेको थियो । मर्मतसम्भार शीर्षकमा सरकारले दिएको १६ करोडबाटै भुक्तानी माग्दै सप्लायर्सका सञ्चालकले मुद्दा हालेपछि समस्या परेको र उत्पादन गरी सिमेन्ट बिक्रीबाट आएको आम्दानीले मात्रै सबै भुक्तानी दिन सकिने उहाँको भनाइ छ ।

उद्योग बन्द भएपछि घाटा बढिरहेको छ । उद्योगले तिर्नुपर्ने दायित्व बढेर गएको छ । असोजदेखि माघसम्म पाँच महिना कर्मचारी तलबविहीन हँुदा उद्योगमा कार्यरत २२० जना कर्मचारी र ५९ जना सुरक्षाकर्मीले हालसम्म पाउनुपर्ने एक करोड ५० लाख रुपियाँ तलब पाउन सकेका छैनन । 

सिमेन्ट उद्योगले सबै पक्षको गरी भुक्तानी गर्नुपर्ने दायित्व एक अर्ब ५० करोड रहेको र मुख्य दायित्वमा उद्योगबाट अवकाश पाएका ९५ जना पूर्वकर्मचारीको ४५ करोड  आपूर्ति तथा सप्लायर्सकर्ताको भुक्तानी ६५ करोड, विद्युत् प्राधिकरणको ३० करोड, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको १५ करोड, खानी रोयल्टी, अन्तःशुल्क र ठुला करदातालाई तिर्नुपर्ने भ्याट १५ करोड रुपियाँ रहेको उहाँले बताउनुभयो ।

यसबाहेक डेडिकेटेड फिडर र ट्रङ्क लाइनकै पुरानो विद्युत् बक्यौता ५५ करोड रुपियाँभन्दा माथि पुगिसकेको छ तर यसअघि नै १२ करोड रुपियाँ रहेको राष्ट्रिय वाणिज्य बैङ्कको यस उद्योगको खाता रौता सप्लायर्सले नै रोक्का गरिरहेको अवस्थामा अन्य बैङ्कमा रहेका १७ वटा खाता पुनः रोक्का गरिँदा डिजिटल सिस्टमको यो उद्योगको सम्पूर्ण प्रणाली नै ठप्प भएको महप्रबन्धक साह बताउनुहुन्छ ।