नेपाल प्रज्ञा–प्रतिष्ठान (प्रज्ञा) को पछिल्लो शब्दकोशमा ‘शैली’ को परिभाषा यसरी दिइएको छ, विशेष किसिमले कुनै काम गर्ने प्रणाली, सिप वा पद्धति; काम गराइको ढङ्ग र प्रज्ञा शब्दकोश अनुसार नै, शैलीपुस्तक ‘शैली निर्देश गर्ने पुस्तक’ हो ।
पछिल्लो कालखण्डमा ‘बृहत् नेपाली शब्दकोश’ लाई लिएर प्रज्ञाले आलोचना खेपेको थियो । त्यही संस्थाले केही समयअघि ‘लेखन तथा सम्पादन शैली’ सार्वजनिक गर्यो । प्रज्ञाको ‘लेखन तथा सम्पादन शैली’ पुस्तकले प्रज्ञाकै शब्दकोशको परिभाषालाई कत्तिको न्याय गरेको होला ?
पृष्ठभूमि
राष्ट्रिय जनगणना–२०७८ मा नेपाली मातृभाषा भएकाहरू कुल जनसङ्ख्याको ४४.८६ प्रतिशत रहेको उल्लेख छ । त्यतिले मात्र होइन, अन्य मातृभाषीले पनि नेपाली बोल्छन्, लेख्छन् । नेपालको संविधानको धारा ७ मा ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने’ प्रावधान छ ।
नेपाली भाषाका प्रयोक्ताहरू सबै नेपाली भाषाका विज्ञ छैनन्; हुँदैनन् पनि । पूर्णविराम चिह्न, अल्पविराम चिह्न जस्ता सुन्दा ‘सामान्य’ लाग्ने हिज्जेले पनि कहिलेकाहीँ अनर्थ सिर्जना गर्छ । हिज्जेको गडबडीले हुन्डरी मच्चिन्छ ।
पछिल्ला दुई/तीन दशकमा नेपाली विषय लिएर विश्वविद्यालयको अध्ययन पार गरेका व्यक्तिहरू पनि नेपाली लेखनमा अलमलिने गरेको पाइयो । स्मरणीय छ, “भाषामा भिजिसकेका, प्रयोगकर्ताले पचाइसकेका, सर्वत्र प्रचलित शुद्ध–स्वाभाविक हिज्जेलाई जबरजस्ती परिवर्तन गर्न खोज्नु भाषामाथि अन्याय गर्नु हो,” भन्दै २०६८ चैतमा नेपाली भाषा प्रयोगकर्ताहरूले ‘ललितपुर घोषणापत्र, २०६८’ सार्वजनिक गरे । २०७२ सालमा ‘नेपाली भाषा बचाऔँ’, अभियान चल्यो । अदालत पनि गुहारियो । भाषामा राजनीति घुसेपछिका प्रतिरोध थिए ती ।
सर्वोच्च अदालतले समेत ‘वर्णविन्यास र शैली परिवर्तन गर्ने सम्बन्धमा भएको टिप्पणी आदेशबाट नेपाली राष्ट्रभाषाको व्याकरणमा नै प्रत्यक्ष प्रभाव पर्न गएको, शिक्षा शिक्षण सामग्रीमा नै भाषागत परिवर्तन हुँदा सो अध्ययन अध्यापन गरी उत्पादन हुने जनशक्तिले देशको विभिन्न क्षेत्रमा रहेर कार्यसम्पादन गर्दा दूरगामी रूपमा भाषामा प्रभाव पर्ने अवस्था देखिन्छ.... संविधान र कानुनको व्याख्या र प्रयोगमा समेत वर्णविन्यासको नियमले तात्विक फरक पर्न सक्ने अवस्था हुन्छ,’ भन्ने ठहर गर्यो ।
न्यायाधीशद्वय सपनाप्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासले ‘पाठ्यक्रम विकास केन्द्रबाट टिप्पणी उठाई तह तह हुँदै पेस भएको र शिक्षामन्त्रीद्वारा २०६९ साउन २२ गते सदर गरिएको टिप्पणी आदेश/निर्णयलाई उत्प्रेषणको आदेशद्वारा बदर हुने फैसला पनि २०८१ असार ९ मा सुनायो । फैसलाबाट पनि भाषा संवेदनशील विषय रहेको प्रमाणित हुन्छ र ‘लेखन तथा सम्पादन शैली’ जस्ता पुस्तकको महत्व स्थापित हुन्छ ।
प्रकाशकीयमा ‘सम्बन्धित विज्ञबाट मूल्याङ्कन गराई प्राज्ञिक मूल्य र महत्वका ग्रन्थलाई प्रकाशन गर्दै जाने’ नीति प्रज्ञा–प्रतिष्ठानले लिएको र सोही सिलसिलामा ‘लेखन तथा सम्पादन शैली’ प्रकाशन भएको उल्लेख छ । अब, कल्पना गरौँ त, आफूले स्वाद मानी मानी चपाइरहेको पक्कुमा ढुङ्गाको टुक्रो पर्यो भने !?
प्रज्ञा झन्डै सात दशक पाको विशिष्ट संस्था हो । २०१४ असार ९ गते स्थापना भएको ‘नेपाली साहित्य कला एकेडेमी’ त्यसपछिका दिनमा क्रमशः ‘नेपाल एकेडेमी’ र ‘नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान’ भयो । गणतन्त्रको स्थापनासँगै ललितकला र सङ्गीत–नाट्य विधाका अलग अलग प्रतिष्ठान गठन भए । ‘नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान’ को कार्य क्षेत्र साँघुरियो । यो नेपाल प्रज्ञा–प्रतिष्ठान भयो ।
प्रज्ञाका गुरुतम जिम्मेवारीमध्ये एक ‘नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्रसम्बन्धी विभिन्न विषयमा अनुसन्धानात्मक तथा मौलिक कृतिको सिर्जना एवं प्रकाशन गर्ने/गराउने हो । यसैले प्रज्ञाका प्रकाशन महत्वपूर्ण अध्ययन, अनुसन्धान, सन्दर्भसामग्री पनि हुन् । ‘लेखन तथा सम्पादन शैली’ को मानक महत्व पनि छ ।
पुस्तकको साङ्गोपाङ्ग व्याख्या, विश्लेषण र समीक्षा त विषयविज्ञबाट हुँदै गर्ला । नेपाली भाषाको प्रयोक्ताका साथै पाठकको हैसियतले पुस्तकमा देखिएका केही कुरामा चर्चा गर्नु आवश्यक मात्र होइन ‘धर्म’ पनि भएकाले यहाँ सो कर्म गरिएको छ ।
पुस्तकभित्रका केही कुरा
शैली पुस्तकका तीन खण्डमध्ये पहिलो खण्डमा १८ विद्वान्का लेखन तथा सम्पादनसँग सम्बन्धित १८ लेख छन् । दोस्रो खण्डमा, सम्पादककै भनाइमा लेखन तथा सम्पादनका क्षेत्रमा उपलब्ध केही स्वतन्त्र पुस्तक र कतिपय प्रकाशनगृहबाट प्रकाशित शैली पुस्तिकासमेतको आधारमा ग्रन्थका सम्पादकबाट तिनका सारभूत कुरालाई सङ्ग्रह र सम्पादन गरिएका सामग्री दिइएका छन् । वर्णविन्यास, चिह्न प्रयोग र शब्दकोशको प्रयोगसम्बन्धी सामग्री तेस्रो खण्डमा छन् ।
खण्ड ‘क’ को ‘सम्पादन कला’ शीर्षक लेखको पादटिप्पणीमा विनयकुमार कसजू (?) को परिचय दिँदै ‘लेखक बालसाहित्यका लेखक तथा सम्पादक हुनुहुन्छ’ उल्लेख छ । बहुआयामिक व्यक्तित्वका धनी लेखक कसजूको निधन २०७६ मङ्सिर १० मा भयो । ‘अनुसन्धानमा पूर्वकार्यको समीक्षा’ शीर्षक लेखमा ताराकान्त पाण्डेयको परिचय दिँदै ‘लेखक त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायका सहायक डिन र प्राध्यापक हुनुहुन्छ’ उल्लेख छ । २०८० पुस २८ मा भएको भालुवाङ बस दुर्घटनामा परी प्राडा पाण्डेयको निधन भएको थियो । निधन हुनुअघि नै उहाँ सहायक डिनको जिम्मेवारीबाट मुक्त मात्र होइन, सेवानिवृत्त पनि भइसक्नुभएको थियो ।
पाँच वर्षअघि निधन भएका कसजू र एक वर्षअघि निधन भएका पाण्डेयको परिचयात्मक जानकारी भ्रामक छ । उहाँले आफ्नो थर ‘कसजू’ लेख्नुहुन्थ्यो । उहाँका कृतिहरूमा पनि ‘कसजू’ नै पाइन्छ । रोमन हिज्जेले पनि ‘कसजू’ नै जनाउँछ । ‘कसजू’ को लेखमा पनि उल्लेख छ, “कपी सम्पादकले तथ्य तथ्याङ्कको यथार्थता, एकरूपता/सङ्गति, शुद्धता र पूर्णता सुनिश्चित गर्छ ।”
भाषिक नियमको कुरा गर्दा, २०७७ सालमा प्रकाशित ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ मा पनि उल्लेख छ, “जात, थर, पेसा बुझाउने पहिचानसँग जोडिएका शब्दका अन्तिम इकार र उकार दीर्घ हुन्छन् ।” प्रज्ञा शब्दकोशमा पनि ‘कसजू’ दीर्घ नै पाइन्छ । पुस्तकमा त्यसको परिपालना भएन ।
कुरा यतिमा सीमित छैन । प्रज्ञाबाटै प्रकाशित शैली पुस्तकमा ‘नाम, विशेषणका पदान्तमा उकारान्त ह्रस्व लेखिन्छन्’ उल्लेख गरेको पाइयो । प्रज्ञाको ‘नियम’ नै बाझिएपछि शैलीलाई कसरी बुझ्ने र पछ्याउने ? सवाललाई ‘बब्बाल’ भनी पन्छाउन मिल्दैन । हेक्का रहोस्, आधिकारिक कागजातमा व्यक्तिको नाम थरको हिज्जे फेरिँदा आइपर्ने कानुनी समस्यालाई अहिलेसम्म शैलीको कुनै पनि सिद्धान्तले बचाउन सकेको पाइँदैन । त्यसो त ‘मेरो नाम थर मेरै रहर’ भन्ने पनि हुन सक्लान् ।
शैली पुस्तकका सम्पादकहरूमध्ये एक जनाको नाम सम्पादकको सूचीमा ‘भिम नारायण रेग्मी’, विषय–सूचीमा ‘भीम नारायण रेग्मी’ र लेखमा पुनः ‘भिम नारायण रेग्मी’ उल्लेख रहेछ । ‘भाषा विज्ञान’, ‘भाषा विज्ञान शब्दावली’, ‘लेख्य नेपालीको एकरूपीकरण’ जस्ता कृतिमा ‘भीमनारायण’ हिज्जे पढ्दै/हेर्दै आएकाहरूले ‘भिम नारायण’ लाई उही मान्नु पर्छ भन्ने छैन । विद्वान् लेखकले नै ‘भिम नारायण’ भनी ‘नयाँ न्वारान’ गरेपछि कसैलाई लाग्न पनि सक्छ, शैलीको स्वाद पनि फेरिने तर्खरमा होला !
एउटै पुस्तकमा छापिएका एकै व्यक्तिका नाममा भने एकरूपता अनिवार्य हुन्छ । सम्पादन कर्मले शैली सिद्धान्तलाई पछ्याउने हो भने एकरूपता कायम गर्नै पर्छ । त्यसो गर्न नसके फरक गर्नुपर्नुका कारण पनि खुलाउन पर्छ । यी मामिलामा प्रज्ञाको सरोकार पक्ष सम्पादकीय जिम्मेवारी र पाठकप्रतिको उत्तरदायित्व पूरा गर्नमा चुकेको छ ।
चूडामणि बन्धुको ‘प्राज्ञिक लेखनको भाषा र शैली’ मा कुनै लेखकको नाम र कृतिको चर्चा गर्दा लेखक–पृष्ठ पद्धति वा एमएलए पद्धति र लेखक–मिति पद्धति वा एपिए पद्धति अपनाइने उल्लेख छ । लेखमा ‘नेपाली लेखनका निम्ति एपिए ढाँचा’ र ‘नेपाली लेखनका निम्ति एकीकृत सन्दर्भ सूची’ पनि दिइएको छ । भीमनारायण रेग्मीको ‘लेखन र सम्पादनमा प्राविधिक पक्ष’ मा पनि यस विषयमा जानकारी पाइन्छ । यद्यपि प्रज्ञाले नै सम्पादन तथा प्रकाशनको कुन शैली पछ्याएको छ, त्यो खुट्याउन सकिँदैन ।
उपयोगी ग्र्रन्थ एवं कृति तयार गर्ने/गराउने; अनुसन्धानात्मक तथा मौलिक कृतिहरूको सिर्जना एवं प्रकाशन गर्ने/गराउने र उच्चस्तरीय कृतिहरूको अनुवाद एवं प्रकाशन गर्ने/गराउने जिम्मेवारी प्रज्ञाको हो । यसलाई निर्वाह गर्दै आएको भनिए पनि यसकै शैली पुस्तकको अध्ययनबाट आमप्रयोक्ताले कुन ढाँचा पछ्याउने हो भन्ने खुट्याउन सक्दैनन् ।
पुस्तकको सन्दर्भसूचीमा झ्वाट्ट हेर्दा लेखक–मिति अर्थात् एपिए पद्धति अपनाइएको देखिए पनि एमएलए पद्धति मिसिएको छ । रोमन लिपिका नाममा कतै पूरा त कतै पहिलो अक्षर दिइएको छ । एपिएमा लेखकको नामको पछाडि कोष्ठकभित्र प्रकाशन साल उल्लेख गरिन्छ । एमएलएमा प्रकाशकको नामपछि अल्पविराम चिह्न दिएर प्रकाशन साल दिइन्छ । सन्दर्भसूचीहरूमा लेखकको नामपछि थोप्लो चिह्न दिएर प्रकाशन साल दिइएको छ । कोष्ठकीय स्रोतमा पनि एकरूपता कायम गरिएको छैन । यी केही उदाहरण हुन्, जसबाट आमप्रयोक्ता अलमलिने निश्चित छ ।
एपिए पब्लिकेसन म्यानुअलको सातौँ संस्करण सन् २०१९ मा, एमएलए ह्यान्डबुकको आठौँ संस्करण सन् २०१६ मा र नवौँ संस्करण सन् २०२१ मा प्रकाशित भए । पछिल्ला वर्षमा यी दुवै पद्धतिमा महत्वपूर्ण संशोधन भएका छन् । सन् २०२४ को अन्त्यतिर प्रकाशित ‘लेखन तथा सम्पादन शैली’ मा सन् २०२१ सम्ममा भएका आधारभूत संशोधनहरू पनि नसमेटिनु यसको सम्पादकीय तथा प्रकाशकीय कमजोरी हो ।
पुस्तकमै विभिन्न विद्वान्ले सन्दर्भसूचीमा कृतिको शीर्षकलाई तिर्यक् वा छड्के (इटालिक) अक्षरमा राख्ने सुझाव दिएका छन् । यो सामान्य अभ्यास पनि हो । बहुप्रचलित एपिए, एमएलए, ‘सिकागो स्टाइल गाइड’ आदिमा पनि यही चलन छ । पुस्तकमा राखिएका सन्दर्भसूचीमा भने यसको प्रयोग गरिएन । ‘लेखन र सम्पादनमा प्राविधिक पक्ष’ मा यसको प्रयोग त भएको छ तर त्यो पनि छ्यासमिसे रूपमा ।
‘प्राज्ञिक लेखनको भाषा र शैली’ लेखमा ‘देवनागरीबाहेक अन्य लिपिका र खास गरी अङ्ग्रेजीका सामग्री पनि थर र नाम देवनागरीमा थपी एकीकृत सूचीमा’ राख्न सुझाव दिइएको छ । यो स्वागतयोग्य हो । पुस्तकमा सङ्गृहीत केही लेखमा यसको प्रयोग भए पनि सुझाव दिइएकै लेख भने यसमा चुकेको छ । प्रयोग गरिएका सन्दर्भसूचीमै पनि कतै नामथर दिइएका छन् भने कतै थर मात्र । समग्रमा हेर्दा यो प्रावधानको प्रयोगको पनि छ्यासमिसे नै भएको पाइन्छ ।
शैली पुस्तकमा प्रयोग भएका ‘देव नागरी’, ‘प्रधान मन्त्री’, ‘मन्त्री परिषद्’ जस्ता पदावलीहरू ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ का प्रविष्टिहरूसँग मेल खाँदैनन् । यसबाट प्रज्ञाको पछिल्लो शब्दकोशप्रति नै अविश्वास थपिन्छ । प्रज्ञाको दायित्व अलमलको स्थिति नआउने गरी एउटा मानक तयार गर्नु पनि हो । तर, यस्तो भइरहेको छैन । प्रज्ञाका शब्दकोशहरू विवादमा फस्ने गरेका छन् ।
पछिल्लो ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ लाई लिएर प्रज्ञाले शब्दकोशमा ‘प्रविष्ट कतिपय शब्दार्थबारे विभिन्न जाति, समुदाय, क्षेत्र, लिङ्ग, पेसा विशेषबाट मौखिक तथा लिखित रूपमा असन्तुष्टि एवं विमति प्राप्त हुन आएकाले सो शब्दकोशमा आवश्यक परिमार्जनको प्रक्रिया सुरु गरिएको’ सूचनासमेत जारी गरिसकेको छ । अल्प समयमा नै शब्दकोशमा परिमार्जन गर्नुपर्ने स्थिति आउनु सुखद र पाठक/उपयोगकर्तामैत्री पक्कै होइन ।
उत्तरदायी परिमार्जनको खाँचो
लेखन तथा सम्पादन शैली आमप्रयोक्ताका लागि मानक हुनुपर्ने थियो । त्यस्तो भइदिएको भए यो कतिपय पेसाकर्मीका लागि जीवनको ‘अभिन्न सहयोगी मित्र’ पनि हुन सक्थ्यो । प्रज्ञाले एउटा जरुरी विषयमा पुस्तक निकाल्दा पनि त्यही विषयका व्यावहारिक पक्षमा यो स्वयम् चुकेको छ ।
प्रा. गोविन्दराज भट्टराईले ‘भाषाको वाञ्छनीय स्वरूप’ शीर्षक लेखमा शैली पुस्तकमै उल्लेख गर्नुभएको छ, “कतिले एपिए र एमएलए आदि प्रयोग गर्छन् तर नेपालीमा त्यस्तो सिङ्गो शैली पुस्तिका (म्यानुअल) छैन ।” प्रज्ञाले त्यस्तो शैली पुस्तिका/पुस्तक दिन सफल हुनुपथ्र्यो तर त्यो भएन ।
शैली पुस्तकलाई पछ्याउन चाहने नेपाली प्रयोक्ताले गल्ती नगरोस् भनेर ‘शुद्धिपत्र’ दिइएको भए पनि प्रयोक्ता र प्रज्ञाकै भलो हुन्थ्यो । यस्तो अभ्यासको कमी प्रज्ञाका अन्य पुस्तकमा पनि देखिने गरेको छ, जसलाई प्रज्ञासम्मत र प्रयोक्ता उत्तरदायी मान्न सकिँदैन ।
पुनश्चः सम्बन्धित विषयका विज्ञहरूबाट यसको साङ्गोपाङ्ग अध्ययन, व्याख्या, विश्लेषण, मूल्याङ्कनका साथै अन्त्यमा परिमार्जन हुनु पनि जरुरी छ ।