• २६ माघ २०८१, शनिबार

बाँसका कथा, बाँसकै सम्मेलन

blog

‘तिरिरी मुरली बजो झिरैले खोपेको । 

कहिले पनि बिर्सने छैन हाँसेर बोलेको ।’

‘धन र सम्पत्ति घरमै झोलामा । 

     बाँसको डोलामा लान्छन् खोलामा ।’


बाँसका गीत, कविता थुप्रै छन् लोकसाहित्यमा । अझै रचिँदै छन् । झन् बाँसुरीको धुन र गीत त कति छन् कति । मुरली बाँसबाटै त बन्ने हो । भगवान् कृष्णजीको साथमा सधैँ बाँसुरी हुन्थ्यो । कृष्णजीले बजाएको बाँसुरीको धुनमा गोपिनीहरू मोहित हुन्थे । वनमा चरिरहेका गाई, बाच्छाहरू लट्ठ पर्थे । घाँस खानसमेत छोडेर पुच्छर उचाल्दै सुनिरहन्थे । यो कुरा पुराणमा सुन्न पाइन्छ ।

गाउँका मान्छे जन्मेदेखि मृत्युसम्म बाँससँगै हुन्छन् । जन्मिनेबित्तिकै सुत्ने कोक्रो बाँसकै हुन्छ । कोक्रोमा सुतेर आमाको लोरी सुन्दै बच्चा आनन्दले निदाउँछन् । अनि कालमा होस् वा अकालमा मरेपछि पनि बाँसकै डोलीमा चढेर घाटतिर जान्छ । यतिसम्म कि बाँचुन्जेल विभिन्न पापकर्म गरेर मरेपछि पनि मोक्ष भएन र दुष्टात्मा भएर बाँचेकालाई सताउन थाल्यो भने सप्ताह पुराण लाएर दक्षिण ‍दिशामा सातआँखे बाँस गाडेर सेतो कपडा बाँधी राखेमा सात दिन पुराण सुनेपछि त्यो आत्माले मोक्षको गति लिन्छ, पुण्य प्राप्त गर्छ भन्ने हिन्दु धर्मको पौराणिक मान्यता छ ।

गाउँमा बाँसघारी जताततै छन् । डाँडा, खोल्सा, भिरालो, पहिरो गएको ठाउँ, खेतबारीका छेउकुना जताततै । खोटाङ जिल्लाको खाल्ले पनि बाँस धेरै भएको ठाउँ । सेराखोलो, चौबीसेखोलो बाँसैबाँसले ढाकेको । धेरै जसो चोयाबाँस । कतैकतै ढुङ्ग्रेबाँस । बाँसघारीमा बास बसेका रुपीहरू मिर्मिरे उज्यालोमा चिर्बिराउना साथ हाम्रो निद्रा खुल्थ्यो । गोठ वा खेतको कामबाट फर्किंदा साँझ टरेर अँध्यारो भयो भने त्यो बाँसघारीको बाटोमा निकै डर लाग्थ्यो । रातपरेपछि बाँस झ्याङमा भुतप्रेत बसेका हुन्छन् भनेर बुढापाका डर देखाउँथे ।

हिउँदमा बाहरू बारीमा गोठ सार्थे । बाँसकै खाँबा, बाँसकै बला, बाँसकै धुरी । बाँसकै भाटा, बाँसकै चोया, बाँसकै चित्रा । बाँसको फेद वस्तु बान्ने किला । बाच्छाबाच्छी र खसीबाख्राले घाँस खाने ठाउँ बाँसकै टाट्नो । टाट्नो बहुत कलात्मक हुन्थ्यो । हिउँदेबाली जोगाउन बाँसका फरिका बनाएर बार बारिन्थ्यो । हामी बाहरूसँग गोठमा सुत्थ्यौँ । गोठको मझेरीछेउमा अगेनो हुन्थ्यो । अगेनोमा बाँसका जराको आगो हुन्थ्यो । बाँसका जराको आगो निकै खरो । निकै बेरसम्म रहिरहने ।

गाउँघरमा चित्राको काम ठुलो हुन्थ्यो । गोठ, कटेरा छाउनदेखि लिएर कतिपय गरिबका घरमा त चित्राकै छानो । चित्राकै भित्तो । बाँस गरिबको काठ । एकाघरमा बसेका गरिबगुरुवा छुट्टभिन्न हुनासाथ बाँसका सामग्री प्रयोग गरेर तुरुन्त घर बनिहाल्ने । यस्तो काम परेका बेला छरछिमेक सबैले सहयोग गर्थे । घर घरमा धानको भकारी, कोदाको भकारी बाँसकै चोयाको । आँगनमा मकैका थाङग्र्रा पनि बाँसकै । अग्लादेखि होचासम्म विभिन्न खालका भर्‍याङ पनि बाँसकै । बर्खामा ओढ्ने घुम, थुन्से, चाल्नो, नुन राख्ने भुने, अगेनोमाथिको भार, भारी बोक्ने ढाकर, बस्ने मुडा, कुराउनी बोक्ने पेरुङ्गो, कोसेली बोक्ने फिपी, जाँड छान्ने छपनी जस्ता घरेलुजन्य तथा हस्तकलाका सामग्री सबै बाँसकै । बाँसको महìव घरेलु र कृषि औजार मात्रै होइन खानेकुरासित पनि छ । बाँसको तामाको तरकारी र अचार त्यस्तै मिठो । औषधीय गुणले भरिपूर्ण । 

बाँस साहित्यको कुरा छुट्टै छ । यसको खोज अनुसन्धान गर्दै जाँदा एक/दुई वटा लेख मात्रै होइन किताबै बन्न सक्छ । स्कुल, कलेज जाने बाटा अर्थात् मान्छे भेला हुने सार्वजनिक ठाउँ वरपरका बाँसझ्याङमा छोटा छोटा कविता वा मुक्तक जस्ता लाग्ने भावाभिव्यक्ति बाँसमा यत्रतत्र कोरिएका भेटिन्थे । गाउँमा कसले कसलाई मन पराउँछ, कसको कोसँग मायाप्रीति बसेको छ, यस्ता कुरा कसैले यही बाँसमा लेखेर (बेनामे) सार्वजनिक गरिदिन्थ्यो । अनि अरूले थाहा पाउँथे । कसैले कसैलाई मन पराउँछ तर भन्न सकेको छैन भने साङ्केतिक रूपमा छोटा प्रेमिल अभिव्यक्ति बाँसमा नै पोखिन्थे । मानौँ बाँस खुला पुस्तक हो । बाँसझ्याङ एउटा काव्य चौतारी हो । 

के बन्दैन बाँसको ? के हुँदैन बाँसको ? दाउरा, घाँस, खानेकुरा, घरेलुजन्य, कृषिजन्य, निर्माण सामग्रीलगायतका बहुउपयोगी सामग्री कति हुन्छन् कति बाँसका । भनेर साध्य छैन । गनेर साध्य छैन । हाम्रा पुर्खाले बाँससँग जोडिएका धेरै ज्ञानसिप हामीलाई छोडेर गएका छन् । ती परम्परागत ज्ञानसिपलाई हामीले जोगाउनु छ र यसलाई आधुनिक प्रविधिसँग जोड्दै अझ कामयावी, फराकिलो, उन्नत र विकसित बनाउनु छ । बाँस बहुउपयोगी छ । यो सजिलै हुर्कन सक्छ । रोपिदिए पछि हुर्काउन बढाउन त्यस्तो खासै मेहनत गर्नुपर्दैन । यो तातोदेखि चिसो ठाउँसम्म हुन्छ । कुनै छुट्टै व्यवस्थित जग्गा पनि चाहिँदैन । भिरपाखा, खोलाखोल्सी, छेउकुना जता पनि झ्यामिन्छ बाँस । लामो समय कुर्नुपर्दैन । छोटो समयमै हलक्कै हुर्किन्छ ।

बाँस टिकाउ पनि हुन्छ । सजिलै उपलब्ध हुन्छ । यो वातावरणीय दृष्टिले अत्यन्त उपयोगी हुन्छ । किनकि यसले अरू रुखबिरुवाभन्दा बढी कार्बनडाइअक्साइड शोषण गर्छ भन्ने अध्ययन अनुसन्धानले देखाएको छ । बाँस बहुउपयोगी भएको र यसको प्रयोगबाट मनग्गे आर्थिक उपार्जन गर्न सकिने भएकाले यसलाई कलीयुगको कल्पवृक्ष अनि हरियो सुन पनि भनिन्छ । आर्थिक, सामाजिक, धार्मिक, पर्यावरणीय हरेक दृष्टिले महत्व छ बाँसको । बाँसबाट बाढीपहिरो जोगाउन सकिन्छ । घर, अफिस, होटेल, रिसोर्ट आदि आवासीय वा व्यावसायिक भवनलाई आकर्षक र मनमोहक ढङ्गले सजावट गर्न सकिन्छ । 

नेपालमा बाँसबाट निर्मित वस्तुको माग र बजार क्रमशः बढिरहेको र निर्माण सामग्री, हस्तकलाका आकर्षक सामान वा बाँसजन्य उद्योग देशभरि स्थापना गरी बाँसलाई सिप र समृद्धिसँग जोड्न सकेमा स्थानीय रोजगारीका अवसरमा उल्लेख्य वृद्धि भई देशको आर्थिक विकासमा टेवा पुर्‍याउन सकिने बलियो सम्भावना छ ।

सन्दर्भ खोटाङको दिक्तेलमा २०८१ फागुन १५, १६ र १७ गते हुन गइरहेको ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन’ को हो । यसको प्रमुख आयोजक दिक्तेलरूपाकोट मझुवागढी नगरपालिका हो भने वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल, ग्रिन बेम्बो प्रालि. ललितपुर सहआयोजकका रूपमा रहेका छन् । 

बाँसको संरक्षण, व्यवस्थापन, दिगो उपयोगिता र उद्यमशीलता विकास गरी प्राकृतिक संरक्षण तथा राष्ट्रिय अर्थतन्त्रमा वृद्धि गरी समृद्ध पालिका र राष्ट्र बनाउने मूल ध्येयका साथ मनाउन लागिएको यस ऐतिहासिक सम्मेलनको परिकल्पनाकार दिक्तेलरूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हुनुहुन्छ । यस नगरपालिकाको मेयर निर्वाचित हुनासाथ उहाँ बाँसको कुर्सीमा बस्नुभएको थियो । उहाँको कार्यकक्षमा सबै बाँसैबाँसबाट तयार गरेका कुर्सी, सोफा, टेबल, दराजलगायतका फर्निचर रहेका छन् । बाँसको कुर्सीमा स्थानीयले उनबाट बुनेको राडी ओछ्याइएको छ । उहाँको कार्यकक्ष स्थानीय खाल्ले निवासी लेखबहादुर विकले बनाएका बाँसका जराका विभिन्न हस्तकलाले सजाइएको छ । 

विभिन्न सेवा लिन नगरपालिका आउने सुत्केरी दिदीबहिनीले आफ्ना नवजात शिशुलाई स्तनपान गराउन सजिलो होस् भन्नाका खातिर नगरपालिका परिसरमा बाँसैबाँसबाट स्तनपान कक्ष निर्माण गरिएको छ । नगरपालिकाको वडा नं. ६ स्थित नेर्पामा चाँगुनारायण फाउन्डेसनसँग सहकार्य गरेर नगरपालिकाबाट बाँसको तालिम सञ्चालन भइरहेको छ । २०८१ मङ्सिर ६ गतेदेखि सञ्चालन भएको उक्त तालिमको शुभारम्भ कृषिमन्त्री (सङ्घीय) मा. रामनाथ अधिकारीले गर्नुभएको थियो । सोही गाउँमा नगरपालिकाले रु. १० लाख खर्च गरेर बाँस प्रशोधन केन्द्रसमेत स्थापना गरेको छ । त्यसो त दिक्तेल सिरानमा रहेको नुनथलागाउँ बाँसद्वारा निर्मित हस्तकलाका सामानका लागि पहिलादेखि नै निकै प्रसिद्ध ठाउँ हो । नुनथलामा निर्मित डालो, नाङ्लो, मान्द्रो, फिपीलगायतका आकर्षक सामान खोटाङभित्र मात्र नभई खोटाङबाहिर पनि निकै खपत हुने गरेका छन् । हलेसी हुँदै त्यो बाटो भएर खोटाङ घुम्न आउने पाहुनाले सम्झना तथा चिनोका रूपमा यी सामान किनेर लाने गरेका छन् । 

यस्तै प्रकारले बाँसको ख्याति बढिरहेको सन्दर्भमा यसको अझ प्रचारप्रसार, अपरिहार्यता र महìव स्थापित गर्दै बाँसको प्रयोग बढाऔँ र यसका लागि उपयुक्त नीति निर्माण गरौँ भनी केन्द्रीय सरकारलाई झकझक्याउन दिक्तेलरूपाकोट मझुवागढी नगरपालिकाले देशका प्रमुख व्यक्तिहरू राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधि सभा सभामुख, प्रधान न्यायाधीश र राष्ट्रिय सभा अध्यक्षलाई बाँसका एक/एक थान कुर्सी र टेबल उपहारस्वरूप प्रदान गर्ने निर्णय गरेको छ । 

‘जहाँ जीवन त्यहाँ बाँस, जहाँ बाँस त्यहाँ जीवन’ भन्ने मूल नाराका साथ मनाउन लागिएको यो प्रथम राष्ट्रिय बाँस सम्मेलन सम्पन्न गर्न पूर्वमाननीय मन्त्री गणेश शाहको अध्यक्षतामा नगरपालिकाका मेयरसहितको सात सदस्यीय सचिवालय समिति बनेको छ । तीन दिनसम्म सञ्चालन हुने यस ऐतिहासिक सम्मेलनमा नौ जना विज्ञबाट कार्यपत्र प्रस्तुत हुने छ । बाँसको महìव र नेपाल सरकारले भविष्यमा बाँसको विषयमा लिने नीति तय गर्ने सम्बन्धमा जनप्रतिनिधिसँग व्यापक छलफल हुने छ । उद्यमी, व्यापार–व्यवसायीसँग अनुभव आदानप्रदान हुने छ । अन्य तीन सय जनाको हाराहारीमा वन, वातावरण, कृषि क्षेत्रका सरकारी, गैरसरकारी, उद्यमी, व्यवसायी, विश्वविद्यालयका विज्ञ, प्राध्यापक र विद्यार्थीको उपस्थिति हुने छ । सम्मेलनमा खोटाङलगायत विभिन्न जिल्लामा तयार भएका बाँसबाट निर्मित हस्तकलाको प्रदर्शनी हुने छ ।