• २४ माघ २०८१, बिहिबार

वृत्तचित्र ‘टेस्ट अफ इटाली’ पोर्चुगलमा प्रदर्शन

blog

गोरखापत्र अनलाइन

लिस्बन, माघ २३ गते । इटालियन खानाका लागि युरोपमा प्रख्यात नेपाली सेफ टंक सापकोटाले निर्माण गरेको इटालियन खानासम्बन्धी वृत्तचित्र  ‘टेस्ट अफ इटाली’ सार्वजनिक गरिएको छ ।

वृत्तचित्र पोर्चुगलको राष्ट्रिय टेलिभिजन टिभीआईमार्फत सार्वजनिक एवं प्रसारण गरिएको छ। सापकोटाले पोर्चुगलमा सञ्चालन गरेको इटालियन रेष्टुरेन्ट ‘कोमे प्रिमा’ को २५ औं वार्षिकोत्सवको अवसर पारेर प्रसारण गरिएको वृत्तचित्रमा इटालियन खानाको परम्परा, खानपानको शैली, खानाको स्वाद, व्यञ्जन र परिकारलाई समेटिएको छ । 

पोर्चुगिज चलचित्र निर्देशक टियागो पीडे कार्भाल्होले निर्देशन गरेको उक्त वृत्तचित्र इटालीका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ । पोर्चुगिज र इटालियन भाषाको सम्मिश्रणमा निर्माण गरिएको वृत्तचित्रमा सापकोटा स्वयं प्रमुख पात्र र प्रस्तोताका रूपमा प्रस्तुत हुनुभएको छ । 

वृत्तचित्रमा मूलतः इटालियन परम्परागत खानाका जड, इटालियन खानाका रहस्य, इटालियन पाक कलाको स्वाद र खानपानको शैलीलाई पस्कने प्रयास गरिएको छ । वृत्तचित्रलाई एउटा नेपालीले युरोपमा रहेर तीन दशकदेखि विदेशी परिकार इटालियन खानाका पारखीहरूलाई उत्कृष्ट स्वाद पस्कँदै प्राप्त गरेको सफलताका रूपमा समेत लिइएको छ । 

खानाका पारखीदेखि लिएर प्रख्यात इटालियन सेफहरू, पाक कलासँग सम्बन्धित विभिन्न व्यक्तिहरू र ८३ वर्षीया इटालियन वृद्धा भान्सेसँग इटालियन पाककला, खानाका परिकार, स्वादिष्ट भोजन र व्यञ्जन तथा बहुमूल्य ट्रफलको खोजीलगायत विषयमा खोज, जानकारी, संवाद र साक्षात्कार गरिएको छ । 

इटालियन खानाका परिकार र विश्व बजारमा बहुमूल्य मानिने ह्वाइट ट्रफलको खोज अनुसन्धान र लिलामीलाई वृत्तचित्रमा प्रस्तुत गर्न खोजिएको छ । 

सेफ सापकोटाले इटालियन खानासम्बन्धी आर्जन गरेको ज्ञान, सीप, कला र कौशलातालाई समेत वृत्तचित्रमा चित्रण गरिएको छ । आइतबार पहिलो भाग प्रसारण भएको उक्त वृत्तचित्र शृङ्खलाबद्ध रूपमा छ भाग प्रसारण हुनेछ । वृत्तचित्र इटालियन खानामा केन्द्रीत रहेको भए पनि त्यसको प्रमुख पात्र आफू नेपाली भएको नाताले वृत्तचित्र नेपाल र नेपालीको गौरव र प्रतिष्ठासँग जोडिएको सापकोटाले बताउनुभयो। वृत्तचित्रलाई नेपाली भाषामा समेत अनुवाद गरेर नेपालमा प्रदर्शन गर्ने  योजना रहेको उहाँको भनाइ छ ।  

करिब २८ वर्षदेखि सपरिवार पोर्चुगल बस्दै आएका बागलुङ, दमेकका सापकोटाको राजधानी लिस्बनमा तीन इटालियन र एक नेपाली गरी चार रेष्टुराँ सञ्चालनमा छ । ट्रफल एम्बेस्डरसमेत रहेका सापकोटाले पाक कलामा उत्कृष्टता प्रदर्शन गरेकै कारण दर्जनौँ  ‘अवार्ड’ तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।