• १३ साउन २०८१, आइतबार

मुगुमकार्मारोङमा खुल्यो यार्सागुम्बा सङ्कलन

blog

यार्सागुम्बा टिप्न मुगुमकार्मारोङ गाउँपालिकाको वन क्षेत्रभित्र जाँदै मुगाली । फाइल तस्बिर : हरिकृष्ण ऐडी

मुगु समाचारदाता

मुगु, जेठ १४ गते । जिल्लाको मुगुमकार्मारोङ गाउँपालिकाले मुगुको पूर्वी करान भेगमा सर्वसाधारणका लागि यार्सागुम्बा सङ्कलन खुला गरेको छ । जेठ १५ गतेदेखि खुला गरिएको यार्सागुम्बा सङ्कलनमा जिल्लाभित्र र बाहिरबाट समेत सर्वसाधारण जाने गर्छन् । मुगुमकार्मारोङ गाउँपालिकाले सार्वजनिक सूचनामार्फत सो जानकारी दिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले वन प्रवेशका लागि गाउँपालिकाले कर उठाउने र कर बुझाएका सङ्कलनकर्ताले १५ जेठबाट वन प्रवेश गर्न पाउने बताउनुभयो । उहाँका अनुसार मुगमकार्मारोङ गाउँपालिकाको यार्सागुम्बा कार्यविधिअनुसार जिल्लाभित्रका सङ्कलनकर्ताले प्रतिव्यक्ति दुई हजार र बाहिर जिल्लाबाट आउने सङ्कलनकर्ताले दुई हजार पाँच सय रुपियाँका दरले कर बुझाउनुपर्ने छ । 

पालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले यार्सागुम्बाबाट सङ्कलन भएको राजस्व रकमबाट सुरक्षाकर्मीको रासन र व्यवस्थापनमा खटिएका कर्मचारीलाई केही रकम खर्चिने र बाँकी रकम स्थानीय क्षेत्रको विकासमा प्रयोग गरिने बताउनुभयो । 

उक्त राजस्व रकम मुगुमकार्मारोङ गाउँपालिकाको कार्यपालिकाले निर्णय गरेअनुसार यहाँको विकास निर्माणका लागि आवश्यकताअनुसार खर्च गरिने उहाँको भनाइ छ । गाउँपालिकाको वडा २, मुगुगाउँको सामुदायिक वन क्षेत्रमा पर्ने रिमाण ठूलोकोइकी, सानोकोइकी, छापाखोला, चाकुखोलालगायतका वनमा यार्सागुम्बा पाइन्छ ।

गाउँपालिकाको सिरानीचौरमा यार्सा सङ्कलनमा सयौँ सङ्कलनकर्ता बसोबास गर्ने भएकाले उक्त ठाउँमा सङ्कलनकर्ताको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मीको सहजीकरणमा स्वास्थ्य हेल्थ डेस्कको व्यवस्था गरिएको अध्यक्ष लामाले बताउनुभयो । 

यहाँका स्थानीयवासीको आम्दानीको स्रोत यार्सा सङ्कलन र बिक्री रहेको छ । प्रत्येक सिजनमा २० देखि ३० दिनसम्म यार्सागुम्बा सङ्कलन गर्दा दुई लाखदेखि तीन लाख रुपियाँसम्म आम्दानी हुने जुम्ला चौधबीस गाउँका रामसिं बुढाले बताउनुभयो । हिमाली जडीबुटी यार्सागुम्बाले आफ्नो घरपरिवारको खर्च धान्न सहज भएको उहाँको भनाइ छ ।

यार्सागुम्बा सङ्कलन हुने ठाउँबाट नै गुणस्तरीय यार्सागुम्बा एउटाको चार सयदेखि पाँच सय रुपियाँसम्म बिक्री हुने गरेको छ । यार्सा सङ्कलनको समयमा वन प्रवेशपछि वातावरणमा असर पुग्ने क्रियाकलाप नगर्न पालिकाले सचेत गराएको छ ।