• २३ माघ २०८१, बुधबार

डेढ लाखभन्दा बढीलाई एचपिभी खोप

blog

धनगढी समाचारदाता

धनगढी, माघ २३ गते । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान मङ्गलबारदेखि सुरु भएको छ । स्थानीय तहले आआफ्नो पालिकामा एचपिभी खोप अभियानको सुरुवात गरेका हुन् । प्रदेश खोप समन्वय समिति सचिवालय डोटीका अनुसार सुदूरपश्चिम प्रदेशभरि एक लाख ५१ हजार २९१ जना किशोरीलाई यो खोप लगाइने छ । 

कैलालीमा कक्षा ६ देखि १० सम्मका ४७ हजार ३२६ जना छात्र र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका तीन हजार २८७ गरी कुल ५० हजार ६१३ किशोरीलाई एचपिभी खोप लगाइने जनाइएको छ । 

कञ्चनपुरमा २७ हजार पाँच सय, डोटीमा ११ हजार ४८७, अछाममा १३ हजार ९२१, डडेलधुरामा छ हजार ९८६, बैतडीमा १३ हजार ५६४ जना किशोरीलाई एचपिभी खोप लगाइने छ । यसै गरी दार्चुलामा सात हजार २९१, बझाङमा १२ हजार ३५ र बाजुरामा सात हजार ८९४ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने प्रदेश खोप समन्वय समिति सचिवालयका निर्देशक मीनबहादुर जोशीले जानकारी दिनुभयो । 

यसैबिच धनगढी उपमहानगरपालिकासहित कैलालीको १३ वटै पालिकामा एचपिभी खोप लगाउने अभियान सुरु गरिएको हो । धनगढी उपमहानगरपालिका–२, बैइया बेहडीमा रहेको शारदा माध्यमिक विद्यालयमा सामाजिक विकासमन्त्री मेघराज खड्काले खोप हस्तान्तरण गरेर अभियानको उद्घाटन गर्नुभयो । 

कैलारी गाउँपालिका–१, मनाउस्थित जनता आधारभूत विद्यालयबाट १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप लगाउने अभियानको सुरु गरिएको छ । गाउँपालिकामा सो उमेर समूहका एक हजार ९७५ किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य शाखा प्रमुख नरेश चौधरीले जानकारी दिनुभयो । उहाँले २५ विद्यालयमा कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने बताउनुभयो । 

पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सर रहेको जनाइएको छ । न्यून र मध्यम आय भएको मुलुकमा पाठेघरको मुखको क्यान्सर हुने दर ८८ प्रतिशत रहेको बताइएको छ । यसले धेरै महिलाको ज्यान जाने गरेको जनाइएको छ । सो पालिकामा गाउँपालिकाका उपाध्यक्ष भगवती चौधरीले किशोरीलाई खोप कार्ड वितरण गरेर एचपिभी खोप अभियानको सुरुवात गरेको मनाउ स्वास्थ्य केन्द्रका प्रमुख कुसुम चौधरीले जानकारी दिनुभयो ।