• २३ माघ २०८१, बुधबार

रुख ढालेर सडक अवरोध

प्रसव व्यथाले चापेकी जोगीको बिचल्ली

blog

मेची राजमार्गको गोपेटार–जोरपोखरी सडकखण्डमा बन्दकर्ताले ढालेका रुख । तस्बिर : गोरखापत्र

ताप्लेजुङ समाचारदाता

फिदिम, माघ २३ गते । ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा केबुलकार बनाउन थालेपछि त्यसको विरोधमा उत्रेको ‘नो केबुलकार’ समूहले आह्वान गरेको आमहड्तालको पहिलो दिन मङ्गलबार मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडकखण्डमा रुख ढालेर सडक अवरुद्व गरिएको छ । सडकमा अवरोध सिर्जना गरिएपछि राति बिरामी लिएर सदरमुकाम आउँदै गरेका एम्बुलेन्स बाटैमा रोकिएका थिए ।

सुत्केरी व्यथा लागेर स्थानीय स्वास्थ्य चौकीमा प्रसूति गराउन नसकिएपछि हिलिहाङ–२ देखि फिदिम ल्याइँदै गरेकी हिलिहाङ–१ की कल्पना जोगी (तामाङ) लाई बोकेको एम्बुलेन्स सडकमै रोकिँदा बिरामीको बिचल्ली भएको हो । पाथीभरामा केबुकार निर्माण प्रक्रियाको विरोध गरिरहेको नो केबुलकार समूहले सोमबार राति मेची राजमार्ग अन्तर्गत पॉचथरको जोरपोखरी–गोपेटार खण्डमा चार वटा रुख ढालेर सडक अवरोध गरेका थिए  । 

चालक नुपु शेर्पाले रातको २ बजे बिरामी लिएर आउ‘दै गर्दा बाटोमा रुख ढलेका कारण अगाडि बढ्न नसकिने अवस्था भएको र  बिरामी व्यथाले छटपटाउन थालेपछि पुनः गोपेटार फर्र्काएको बताउनुभयो ।

गोपेटारको एम्बुलेन्सका चालकले रुख ढलेको र एम्बुलेन्समा बिरामी चिच्याइरहेको भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक गर्दै घटना सार्वजनिक गर्नुभएको हो । अवस्था केही जटिल रहेकाले गोपेटारमा बिहानसम्म पनि प्रसूति गराउन नसकिएको त्यहॉका स्वास्थ्यकर्मी चन्द्र घिमिरेले बताउनुभयो ।

पछि प्रहरीले ढालेको रुख हटाएर अवरोध खुलाएको थियो । अवरोध हटेसँगै उहाँलाई प्रसूति गराउन जिल्ला अस्पताल पठाउने तयारी भइरहको छ । अठार वर्षीय जोगीलाई सोमबार बिहानैदेखि प्रसूति व्यथाले चापेको थियो । माघ १५ देखि मेची राजमार्ग र तमोर कोरिडोर बन्द गर्दै आएको नो केबुलकार समूहले मङ्गलबारदेखि अरुणपूर्वका नौ जिल्लामा आमहड्तालको आह्वान गरेको हो । सरकारस‘ग हिजोदेखि वार्ता गरे पनि बन्दलाई यथावत् राख्ने बन्दकर्तामध्येको एउटा घटक किराँत याक्थुङ चुम्लुङले जनाएको छ ।