नयाँदिल्ली, माघ २१ गते । विश्व क्यान्सर दिवसको अवसरमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले दक्षिण–पूर्वी एशिया क्षेत्रमा बढ्दो क्यान्सर बोझलाई सम्बोधन गर्न आफ्नो निरन्तर प्रयासलाई निरन्तर अगाडि बढाएको छ ।
सङ्गठनले सदस्य राष्ट्र तथा साझेदारहरूसँग व्यापक क्यान्सर रोकथाम सन् २०२४–२०३० का लागि डब्ल्यूएचओ दक्षिण–पूर्वी एशिया क्षेत्रीय रणनीति विकास गर्न कामसमेत गरिरहेको छ ।
दक्षिण–पूर्वी एसियाका लागि डब्ल्यूएचओ क्षेत्रीय निर्देशक साइमा वाजेदले भन्नुभयो,“डब्लूएचओले संयुक्त राष्ट्र सङ्घका अन्य एजेन्सी र विकास देशसँगको सहकार्यमा कार्य गरिरहेको छ ।”
“प्रत्येक वर्ष फेब्रुअरी ४ लाई विश्व क्यान्सर दिवसका रूपमा मनाइन्छ । यो वर्ष क्यान्सर विरुद्धको पेरिसको बडापत्रमा हस्ताक्षर भएको २५ वर्ष पूरा भएको छ ।”
डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा सन् २०२२ मा क्यान्सरका २४ लाख नयाँ घटना देखिएका थिए, जसमा ५६ हजार बालबालिका रहेका थिए ।
“हाम्रो क्षेत्रमा ओठ र पाठेघर क्यान्सरको उच्च घटना रहेको छ ।” सन् २०५० सम्ममा यस क्षेत्रमा नयाँ सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या ८५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।
डब्ल्यूएचओ क्षेत्रीय निर्देशकका अनुसार पछिल्ला केही वर्षमा यस क्षेत्रका देशले क्यान्सर नियन्त्रणमा उल्लेखनीय प्रगति गरेका छन् । छ देशले क्यान्सर नियन्त्रणका लागि राष्ट्रिय योजनाहरू समर्पित गरेका छन् । दुई देशले क्यान्सर रोकथाम र नियन्त्रण गतिविधिलाई रणनीतिक रूपमा मार्गदर्शन गर्न राष्ट्रिय योजनाको भागको रूपमा क्यान्सरलाई समावेश गरेका छन् । रासस, एएनआई