• २१ माघ २०८१, सोमबार

नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन सरकार लागिरहेको छ : उपप्रधानमन्त्री सिंह

blog

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह ।

ढोरपाटन (बागलुङ), माघ २१ गते । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउनतर्फ केन्द्रीत भएर लागेको बताउनुभएको छ । 

जिल्लाको ढोरपाटन नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको आज उदघाटन गर्दै उहाँले संसद्का दुई ठुला दल मिलेर बनेको सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । मुलुकमा राजनीतिक अस्थिरताका कारण विकासले गति लिन नसकेको भन्दै उपप्रधानमन्त्री सिंहले हाल स्थायी प्रकृतिको सरकार बनेपछि लामो समयदेखि रोकिएका काम अगाडि बढेका बताउनुभयो । 

“सरकारका विषयमा विभिन्न व्यक्तिहरूले नकारात्मक टीकाटिप्पणी गरे पनि पछिल्लो समय देशभर आशा जगाउने गरी काम अगाडि बढिरहेका छन् । मेरो नेतृत्वको सहरी विकास मन्त्रालयले पनि देशभर सुरक्षित र व्यवस्थित सहर बनाउने गरी काम गरिरहेको छ । यस कारण जसले जे भने पनि अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म अगाडि बढ्छ”, उहाँले भन्नुभयो । 

उपप्रधानमन्त्री सिंहले जनताको नजिक रहेको स्थानीय सरकारका समस्या समाधान गर्न माथिल्लो तहका सरकारबिच सहकार्य जरुरी रहेको धारण राख्नुभयो । “तीनै तहका सरकार जनताको समस्या समाधान गरी समृद्ध मुलुक निर्माणका लागि बनेका हुन् । अब एकताबद्ध र सहकार्यको भावनाका साथ जनताको पक्षमा काम गर्न जुटौँ । त्यसका लागि केन्द्रीय सरकार प्रतिबद्ध छ”, उहाँको भनाइ थियो ।  रासस