लिलाधर वली
घोराही, माघ २१ गते । लुम्बिनी प्रदेशमा एक वर्षको अवधिमा ८४ हजार बढी पशुमा कृत्रिम गर्भाधान गराइएको छ । आर्थिक वर्ष २०८०-०८१ को प्रतिवेदन अनुसार प्रदेशका १२ जिल्लाहरूमा ८४ हजार पाँच सय ९७ पशुमा कृत्रिम गर्भाधारण गराइएको हो ।
लुम्बिनी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका वार्षिक प्रतिवेदन अनुसार प्रदेशमा कृत्रिम गर्भाधान गराउनेमा ४३ हजार चार सय ३६ वटा गाई, ३९ हजार नौ सय ३४ वटा भैंसी र एक हजार दुई सय २७ वटा बाख्रा रहेका छन् । व्यावसायिक रूपमा पशुपालन गर्ने व्यावसायीलाई उन्नत जातको पशुसँगै खर्च बचत गर्नका लागि प्रदेशमा कृत्रिम गर्भाधान गराउने किसानको सङ्ख्या बढ्दै गएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अनुप तिवारीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार प्रदेशमा गाईमा कृत्रिम गर्भाधारण किसानको सङ्ख्या धेरै रहेको छ । कृत्रिम गर्भाधान गराउँदा दूधको उत्पादन बढ्ने, बाच्छा–बाच्छी उन्नत जातका जन्मनेसँगै किसानलाई खर्च समेत कम लाग्ने भएपछि कृत्रिम गर्भाधान गर्नेको सङ्ख्यामा वृद्धि भइरहेको उहाँले जानकारी दिनुभएको छ ।
पशुमा कृत्रिम गर्भाधान सेवा लिने किसान प्रदेशमा सबैभन्दा धेरै रूपन्देहीमा छन् । मन्त्रालयका अनुसार रूपन्देहीमा गाईमा १८ हजार ५५ वटा, भैँसीमा १३ हजार ६४ वटा र बाख्रा पाँच सय ८७ वटा गरेर ३१ हजार सात सय ६ वटामा कृत्रिम गर्भाधारण गराइएको छ ।
त्यसैगरी नवलपरासीमा आठ हजार तीन २४ वटा गाई, आठ हजार दुई ७५ वटा भैँसी र चार सय ९७ वटा बाख्रामा गरी १७ हजार ९६ वटा, अर्घाखाँचीमा एक हजार ५ सय ७५ वटा गाई, चार हजार चार सय २१ वटा भैँसी र पाँच वटा बाख्रामा गरी छ हजार एक वटा, पाल्पामा एक हजार सात सय १५ वटा गाई, एक हजार सात सय ६ वटा भैँसी र १२ वटा बाख्रामा गरी तीन हजार चार सय ७३ वटा, कपिलवस्तुमा तीन हजार दुई २५ वटा गाई, तीन हजार एक सय २८ वटा भैँसी र २३ वटा बाख्रामा गरी छ हजार तीन सय ७६ वटा पशुमा कृत्रिम गर्भाधारण गराइएको छ ।
बाँकेमा एक हजार आठ सय ९ वटा गाई, एक हजार दुई सय ४९ भैँसी र २१ वटा गरी बाख्रामा गरी तीन हजार ७९ वटा, दाङमा दुई हजार तीन सय ३८ गाई, दुई हजार एक सय ४८ वटा भैँसी र ४४ वटा बाख्रामा गरी चार हजार पाँच सय ३० वटा, गुल्मीमा एक हजार छ सय १५ वटा गाई, एक हजार चार सय ६१ वटा भैँसी र चार वटा बाख्रामा गरी तीन हजार ८० वटा, बर्दियामा चार हजार चार सय १० वटा गाई, तीन हजार सात सय ९२ वटा भैँसी र १० वटा बाख्रामा गरी आठ हजार दुई सय २ वटा, रोल्पामा एक हजार ३६ वटा गाई, तीन सय ७६ वटा भैँसी र सात वटा बाख्रामा गरी पाँच सय १९ वटा , प्युठानमा दुई २६ वटा गाई, दुई ५७ वटा भैँसी र आठ वटा बाख्रामा गरी चार ९१ वटा, रुकुम पूर्वमा आठ वटा गाई, १७ वटा भैँसी र नौ वटा बाख्रामा गरी ३४ वटामा कृत्रिम गर्भाधारण गराइएको मन्त्रालयले जनाएको छ ।