सुजन काफ्ले
चरीकोट, माघ २१ गते । दोलखाको मेलुङ गाउँपालिकाका कृषक व्यावसायिक गाईपालनतर्फ आकर्षित देखिएका छन् । गाउँपालिकाले कृषकलाई व्यावसायिक बनाउन कृषि र पशुपालनमा विभिन्न सहयोग तथा अनुदानका कार्यक्रम ल्याएसँगै कृषकहरु व्यवासायिक गाईपालनतर्फ आकर्षित भएका हुन् ।
गाउँपालिकाले कृषकहरुलाई गाईपालनमा व्यावसायिक बनाउने उद्देश्यले जर्सी गाईपालनलाई प्राथमिकता दिँदै आएको छ । जर्सी गाईपालनकै कारण यहाँका कृषकहरूको आर्थिक अवस्था र जीवनशैलीमा उल्लेखनीय सुधार भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले यस आर्थिक वर्षमा पशु, कृषि क्षेत्रको विकासको लागि एक करोड ५० लाख बजेट विनियोजन गरिएको मेलुङ गाउँपालिकाका अध्यक्ष हीराकुमार तामाङले जानकारी दिनुभयो । मेलुङ गाउँपालिका कृषि, फलफूल र पशुपालनका लागि उपयुक्त गाउँपालिका रहेको पनि अध्यक्ष तामाङले बताउनुभयो ।
मेलुङ-२ का कृषक रामहरि अधिकारीले जर्सी गाईले राम्रो मात्रामा दूध उत्पादन गर्ने भएकाले यसको माग पनि उच्च रहेको बताउनुभएको छ । जर्सी गाईले अहिले प्रतिदिन १९ लिटरसम्म दूध दिन थालेको अधिकारीले बताउनुभयो । यसको दूध गुणस्तरीय हुने र नजिकै दुग्ध सङ्कलन केन्द्र भएकोले यो व्यवसाय लाभदायक बनेको उहाँको भनाइ छ । उहाँले वर्षौंदेखि भैँसी पनि पाल्दै आउनुभएको छ । भैँसीले पनि दैनिक ७ लिटरसम्म दूध दिने गरेको उहाँले बताउनुभयो ।
त्यस्तै, अर्का किसान मेलुङ–२ ठूलीबेंसीका वीर बहादुर तामाङले पनि वर्षौंदेखि गाई पालन गर्दै आउनुभएको छ । उहाँले सो ठाउँमा गाईपालन गरेको ७ वर्ष बितिसकेको छ । उहाँका गोठमा अहिले ६ वटा दूध दिने गाई छन् । यस वर्ष गाउँपालिकाले जर्सी गाई खरिदमा ५० हजारसम्म अनुदान दिने भएपछि उहाँले गाई थप गर्नुभएको छ । गाईपालक किसानलाई सजिलो होस् भनी गाउँपालिकाले नजिकै दूध सङ्कलन केन्द्र राखिदिएको छ ।
गाउँभरिका किसानलाई पायक पर्ने गरी ढलेवर, कल्लेरी, उपल्लो गाउँमा दूध सङ्कलन केन्द्र राखिएको वडा नम्बर २ का वडाध्यक्ष रामकृष्ण भण्डारीले जानकारी दिनुभयो । सो वडामा एक घर, एक गाई अभियान सञ्चालन गरी दूधमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको वडाध्यक्ष भण्डारीले बताउनुभयो । अहिले यस वडामा मात्र ३४ वटा गाई पुर्याउनको लागि १७ लाख बजेट विनियोजन गरिएको छ।
पालिकाकै पहलमा गाउँपालिकामा अहिलेसम्म ३४ घरपरिवारलाई गाई वितरण गरिसकेको छ । यस अभियानमा हेफर परियोजनाले कृषकलाई प्राविधिक सहयोग, तालिम, समूह निर्माण र परामर्श सेवा दिदै आएको छ । गाउँपालिकाले अनुदानको व्यवस्था गरेपछि सोही वडाका जीतबहादुर न्यौपानेले थप गाई ल्याउनुभएको छ । उहाँको गाईले अहिले प्रतिदिन ९ लिटरभन्दा बढी दूध दिने गरेको छ। गाउँपालिकाले कृषकलाई पायक पर्ने गरी दूध सङ्कलन केन्द्र राखिएकोले सहज बनाएको छ । सङ्कलन केन्द्रमा दूध पुर्याउन यातायातको सुविधा रहेको र समयमै रकम भुक्तानी हुने हुँदा कृषकहरू थप प्रोत्साहित भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले कृषकहरूलाई गाईपालनमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम सञ्चालन गर्नुको साथै गाई किन्न र घाँस उत्पादन गर्न आर्थिक सहयोग प्रदान गर्दै आएको छ । यसले कृषकहरूलाई आर्थिक रूपमा सक्षम बनाउँदै गाईपालनलाई अझ व्यावसायिक बनाउन मद्दत पुगेको पालिकाकी उपाध्यक्ष गायत्री आचार्यले बताउनुभयो ।
गाउँपालिकाले गाई पालनमा आर्थिक प्राविधिक सहयोग गरेकै कारण कृषकहरूले गाईपालनसँगै घाँस खेतीलाई पनि प्राथमिकता दिएको आचार्यले बताउनुभयो । कृषकहरूले घरछेउमा नेपियर, डँडेलो घाँस जस्ता उन्नत घाँस लगाएका छन् । यसले गाईको पोषण आवश्यकतामा टेवा पुर्याएको छ र दूध उत्पादनको मात्रा बढाएको छ ।