बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय मुलुक नेपालमा विभिन्न समयमा विभिन्न चाडपर्व, उत्सव तथा पर्व पर्छन् । जसको धार्मिक, सामाजिक सांस्कृतिक एवं ऐतिहासिक महत्व छ । यस्तै पर्वमध्ये वसन्तपञ्चमी एक हो, जुन दिनमा प्रकृति र विद्याकी खानी सरस्वतीको समन्वय भएको पाइन्छ । प्रकृतिका छ वटा ऋतुमध्ये वसन्त ऋतु चैत र वैशाख महिनामा पर्ने भए तापनि सूर्यको परिक्रमाको हिसाबले माघ शुक्ल पञ्चमीको दिनदेखि वसन्तको आगमन हुन थालेको मानेर त्यसको तयारीमा वसन्तपञ्चमी मनाउने गरिन्छ । जसलाई श्रीपञ्चमी पनि भनिन्छ । अरू दिन अलग अलग उत्सवको रूपमा मनाइने उत्सवमा वसन्त ऋतु आगमनको उत्सव एकातिर हुन्छ भने अर्कोतिर विद्याकी देवी सरस्वतीको पूजा आजा गरिने पञ्चमीका रूपमा यस दिनको विशेष महत्व छ ।
वसन्तोत्सव मनाउने परम्परा प्राचीनकालदेखि नै भएको पाइन्छ । वेद तथा ब्राह्मण साहित्यमा समेत वसन्तोत्सवको उल्लेख छ । वात्सायनको ‘कामसूत्र’ मा यसलाई ‘सुवसन्तक’ भनिएको छ भने कालिदासका ‘अभिज्ञान शाकुन्तल’ तथा मालविकाग्निमित्र नाटकद्वय र रघुवंश महाकाव्यमा ऋतुउत्सव मानिएको छ । विभिन्न छ वटा ऋतुमध्ये वसन्त ऋतु ऋतुहरूको राजा हो, जसका कारण सबै धार्मिक, सामाजिक, शैक्षिक कर्महरूको प्रारम्भदेखि लिएर सृष्टिको प्रारम्भ पनि वसन्तऋतुमा नै भएको कुरा विभिन्न स्रोतमा उल्लेख छ । तसर्थ पनि ऋतुराज वसन्तको आगमनको खुसीमा माघ शुक्लपञ्चमीमा ‘वसन्तपञ्चमी’ पर्व मनाइने गरिएको हो । जानकारका अनुसार एक पटक सबै ऋतुले ऋतुराज वसन्तलाई आठ आठ दिनसम्म भेट गरेका थिए र जम्मा चालिस दिन लागेको थियो । त्यसै कारण वसन्तपञ्चमी चैत कृष्ण प्रतिपदामा नभई चालिस दिनअघि माघ शुक्ल पञ्चमीमा मनाउन थालिएको हो । वैदिक युगमा कामदेवको पूजा गरेर वसन्त उत्सव सम्पन्न गरिन्थ्यो भने नेपालको परिप्रेक्ष्यमा लिच्छविकालमा पनि नुवाइधुवाइ गरेर यो उत्सव मनाउने गरेको पाइन्छ । मध्यकालीन नेपालमा कामदेवको पूजा गरेर मनाइने यो उत्सव वर्तमान समयमा पनि काठमाडौँको हनुमानढोका दरबारस्थित नासलचोकमा सम्पन्न हुन्छ । वसन्तपञ्चमीकै दिन विद्याकी देवी सरस्वतीको पूजा आजा गर्ने परम्परा रहेको छ । प्राचीन ग्रन्थहरू सतपथ ब्राह्मण, महाभारत आदिले पनि सरस्वतीको पूजा आराधना गर्ने परम्पराको उल्लेख गरेका छन् ।
वायुपुराणमा महादेवीका ‘श्री’ तथा सरस्वती यी दुई रूपको वर्णन पाइन्छ भने मार्कण्डेयपुराणमा ‘पद्यिनी’ नामक विद्याकी देवी लक्ष्मीलाई मानिएको छ । सामान्य अर्थमा हेर्दा ‘श्री’ शब्दको ‘लक्ष्मी’ अर्थ प्रशिद्ध छ । यसै हुनाले कृषकहरूले हिउँदे बालीरूपी लक्ष्मी अर्थात् अन्नरूपी श्री भित्र्याएको खुसीयालीमा पनि श्रीपञ्चमी मनाउने प्रचलन रहेको छ । विद्या दिने, सम्पत्ति दिने, रूप सौन्दर्य दिने चाडका रूपमा श्रीपञ्चमीलाई लिइन्छ । अन्य विभिन्न पञ्चमीमध्ये यस पर्वमा ‘श्री’ शब्द जुन श्रेष्ठताको प्रतीक हो, त्यो जोडिएको हुनाले पनि श्रीपञ्चमीको विशेष महत्व छ । यस दिनमा ऋतुपूजा, विद्यापूजा, श्री पूजा, प्रकृति पूजा तथा विद्याकी देवी सरस्वतीको प्रतिमा बनाई पूजा गरिन्छ ।
सरस्वतीको प्रसादले खुसी भएका श्रीकृष्णले वरदान दिई वसन्तपञ्चमीमा सरस्वती पूजाको परम्परा चलाएको कुरा स्रोतहरूमा उल्लेख छ भने अर्कातिर यसै दिन सरस्वतीको जन्म भएको प्रसिद्धि पनि छ । यिनी शिवकी पुत्री र गणेश कार्तिकेयकी बहिनी हुन् । नेपालको परिप्रेक्ष्यमा प्राचीनकालदेखि नै सरस्वतीको मूर्ति बनाएर स्थापित गर्ने तथा पूजा आराधना गर्ने चलन छ । खास गरी पठनपाठनमा लागेकाहरूले र नयाँ शिक्षा आदानप्रदान गर्नेहरूका लागि यो दिन विशेष महìवको दिन हो । हिन्दु र बौद्ध धर्मावलम्बी दुवैका लागि यो दिनको विशेष महत्व रहेको छ । हिन्दु धर्मावलम्बीले सरस्वतीको उपासनाका लागि व्रत बस्ने, बिहानै उठेर नुहाउने, सरस्वतीको पूजा गर्ने तथा नौसुते बत्ती, पेडा, सुन्तला, उखु, बयर, बेल जस्ता फलफूल अर्पण गर्ने गर्छन् । यस्तै बौद्ध धर्मावलम्बीले मञ्जुश्रीलाई विद्याका देवताको रूपमा मान्दै यसदिन पूजा गर्ने परम्परा छ । स्वयम्भू पूराणले समेत यसदिन विद्या आर्जनका लागि मञ्जुश्रीको पूजा गरिने प्रसङ्गको चर्चा गरेको छ ।
वसन्तपञ्चमीसँग जोडिएको अर्को पक्ष कामदेव र रतीको पूजा पनि हो । यसमा सुन्दरता र प्रेमका देवता कामदेव र वसन्तको नजिकको मित्रता छ । काम समस्त प्राणीहरूको मूल प्रवृत्ति भएको हुँदा वसन्तपञ्चमी जस्तो प्राकृतिक पर्वमा कामदेवको पनि पूजा गरिन्छ । सरस्वतीको पूजा गरेर विशेष गरी शैक्षिक समुदायले विशेष पर्वका रूपमा मनाउने हुँदा सरस्वती जयन्तीका रूपमा पनि सांस्कृतिक महत्व रहेको छ । सम्पूर्ण विद्यालय तथा शैक्षिक संस्थामा सरस्वतीको मूर्ति पुजिन्छ । यसै दिन बालबालिकालाई सरस्वतीको पूजा गरेर विद्या आरम्भ गराउने चलन छ, जसमा ‘नमः वागीश्वराय’ लेखाउने चलन छ । यसर्थ पनि यस दिनको अझ महत्व छ । साथै यसै दिन विवाह गरेमा सरस्वतीको ठुलो कृपा रहने विश्वासले नेपालका अधिकांश ठाउँमा यस दिन विवाह सम्पन्न पनि हुने गर्छ । वास्तवमा सरस्वती विद्या, ज्ञानविज्ञान, कला, साहित्य र सङ्गीतकी देवी हुन् ।
ब्रह्मा, विष्णु र महेशले पनि सरस्वतीबाट नै शिक्षा प्राप्त गरेका हुन् । यसै हुनाले जगत्जननी संरक्षिकाका रूपमा पनि उनी चर्चित छन् । महाभारतमा वेदकी जननी, जैनधर्ममा ‘श्रुतिदेवी’ तथा बौद्धधर्ममा मञ्जुश्रीका रूपमा सरस्वतीको प्रभाव व्यापक छ भने विभिन्न स्रोतमा ‘शारदाजगतः मातृ’ भनेर उनलाई सम्बोधन गरिएको पाइन्छ । उनलाई महाविद्या, महावाणी, भारती, वाक्, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धिश्वरी नामले पनि सम्बोधन गरिन्छ । ज्ञानोपार्जनका साथै सुस्वास्थ्यका निमित्त पनि सरस्वतीको आराधना गरिन्छ । अधिकांश सरस्वती मूर्ति निर्जन ठाउँमा पाइनुले पनि तथा सरस्वतीसँगै शुभदेवताका रूपमा चिनिने गणेशको समेत मूर्ति बनाइने प्रचलनबाट पनि उक्त कुरा प्रस्ट हुन्छ ।
माघ शुक्लपञ्चमीको दिनको यसै पनि विशेष महत्व छ, किनकि एकातिर यसले मौसममा आएको परिवर्तनलाई सङ्केत गर्छ भने अर्कातिर अध्ययन तथा शिक्षाको महìव तथा अनिवार्यतालाई झल्काउँछ । धार्मिक भेला, वैचारिक छलफल, ज्ञान शिक्षा आदान प्रदानको रूपमा पनि यस दिनको महत्व छ । बहुपक्षीय महत्व रहेको वसन्तपञ्चमीले प्राकृतिक हिसाबले वसन्तऋतु श्रवणको सङ्केत गर्छ भने विद्या, ज्ञान आरम्भ गर्ने शुभ दिनको रूपमा हेरिने भएकाले प्रकृति र विद्याको समन्वय रहेको पाइन्छ । नयाँ कार्य वा शुभकार्यको थालनी गर्ने दिन पर्खने क्रममा बालबालिकाको नाक, कान छेड्नदेखि लिएर उनीहरूको शिक्षा आरम्भका लागि पनि यस दिनलाई उपयुक्त दिन मानिन्छ । सरस्वतीको स्वरूप आफैँमा सर्वव्यापक छ । शास्त्रमा उनको लक्षण श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी भनिएको छ ।
यस्तै चार दिशाका प्रतीक चार हात भएकी, जसमा ज्ञानको प्रतीक पुस्तक, सङ्गीतको प्रतीक विणा, एकाग्रताको प्रतीक माला आदि प्रतीकयुक्त अवस्थामा पाइन्छ । जस्तै सृष्टिको प्रतीकको रूपमा कमलमा विराजमान भएकी सरस्वतीको वाहनका रूपमा राजहंस रहेको हुन्छ । यसरी बहुपक्षीय दृष्टिले वसन्तपञ्चमीको नेपाली समाजमा शिक्षाको थालनी, नयाँ कार्यको शुभारम्भलगायतका महìव छ भने जातीय दृष्टिमा हेर्दा सरस्वती पूजादेखि नै गुरुङ समुदायको प्रसिद्ध धार्मिक नृत्य ‘घाटु’ प्रारम्भ हुन्छ । यस्तै बलामी जातिमा यसै दिनमा मात्र परम्परागत विवाह गर्ने चलन छ । काठमाडौँ उपत्याकाभित्र जय बागेश्वरी, स्वयम्भूको सरस्वती, चाँगु, फर्पिङ, लेलेका सरस्वती मन्दिरहरूमा यस दिन दर्शनार्थीको भिड लाग्छ ।