जयकृष्ण यादव
इनरुवा, माघ २० गते । सुनसरीमा सरस्वती पूजाका लागि एक हजार बढी मूर्तिको कारोबार भएको छ । सुनसरीका मूर्तिकारहरूका अनुसार एक हजार बढी मूर्ति बिक्री हुदाँ एक करोडको मूर्तिको कारोबार भएको हो ।
एक महिना अघिदेखि आकर्षक रूपमा बनाएको मूर्तिबाट राम्रो आम्दानी गरेको इनरुवाका मूर्तिकार लक्ष्मण मेहताले बताउनुभयो । आफूहरूलाई एक महिनाअघिदेखी भ्याइनभ्याई भएकोमा सोमबार सरस्वती पूजा हुने भएकाले आइतबार मात्रै एक सय बढी मूर्ति आफूले बिक्री गर्दा पाँच लाखको कारोबार भएको मेहताले बताउनुभयो ।
सरस्वती पूजाका लागि विद्यालय, शैक्षिक संस्था र व्यक्तिहरूले समेत मूर्ति लाने भएकाले सोचे भन्दा राम्रो आम्दानी भएको अर्का मूर्तिकार सञ्जय चौधरीले बताउनुभयो । सरस्वती पूजा अगाडि नै कलात्मक र आकर्षक मूर्ति निर्माण गरेको चौधरीको भनाइ छ ।
शिक्षक, विद्यार्थी र शैक्षिक संस्थालाई माटोबाट निर्माण गरिएको सरस्वतीको कलात्मक मूर्ति सहजरूपमा पुर्याउने उद्देश्यका साथ सदरमुकाम इनरुवाका मूर्तिकार विनोद यादव, सरोज यादव, लक्ष्मण मेहता, रामेश्वर मेहता, रन्जय यादव सहितका दर्जन बढीले एक हजार बढी मूर्ति बनाई बिक्री गर्नुभएको हो । अरु बेला खासै काम नगर्ने मूर्तिकारहरू अहिलेको चिसोको बेवास्ता गर्दै सिजनमा दिनरात सरस्वती मूर्ति बनाउन व्यस्त बनेका थिए । उनीहरूलाई मूर्ति बनाउन भ्याइनभ्याई भएको स्थानीय देवराज यादवले बताउनुभयो ।
मूर्तिकार यादवले काठ, बाँस, पराल, माटो र रङको संयोजन गरेर मूर्ति बनाएको र पाँच जनालाई एक महिनाको रोजगार पारिश्रमिक दिएर र खर्च कटाएर तीन लाख रुपियाँ आम्दानी भएको बताउनुभयो। यादवले इनरुवामै सबैभन्दा बढी सङ्ख्यामा र अरूको भन्दा आकर्षक मूर्ति बनाएकाले राम्रो आम्दानी गरेको दाबी गर्नुभएको छ ।
सदरमुकाम इनरुवा सहित कोशी गाउँपालिकाको लौकही, हरिपुर, हरिनगर गाउँपालिकाको भुटाहा, वसन्तपुर, गौतमपुर, बर्जु गाउँपालिकाको अमाही बेलाहा र चिमडी लगायतका स्थानमा रहेका मूर्तिकारहरूले मूर्तिबाट आम्दानी गर्नुभएको छ । जिल्लाका विभिन्न ठाउँमा रहेका क्याम्पस, विद्यालय, शैक्षिक प्रतिष्ठान र निजी विद्यालयका सञ्चालकले समेत सरस्वती मूर्तिको पूजा गर्ने भएकाले मूर्तिको माग अत्यधिक बढेपछि आफूहरू माटोका कलात्मक मूर्ति बनाउन अन्तिम दिनसम्म व्यस्त बनेको मूर्तिकार यादवले बताउनुभयो ।
एउटा मूर्ति बनाउन एक हजार पाँच सयदेखि तीन हजारसम्म लाग्ने र तीन हजारदेखि २५ हजार रुपियाँसम्ममा एउटा मूर्ति बिक्री गरेको मूर्तिकार शिवनारायण पण्डीतले बताउनुभयो । मूर्तिबाट मात्र एक सिजनमा एक मूर्तिकारले खर्च कटाएर ५० हजारदेखि चार लाख ५० हजार रुपियाँसम्म आम्दानी गर्दै आएको मूर्तिकारको भनाइ छ । जिल्लामा २८ जनाभन्दा बढी मूर्तिकारले करिब एक करोड बराबरको सरस्वती मूर्ति निर्माण गरी बिक्री गरेको उनीहरूको अनुमान छ ।