तिलाचन पाण्डे
तम्घास, माघ १९ गते । गुल्मीमा बिस्तारामै दिसापिसाब गर्ने अशक्तको घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाको रेसुङगा नगरपालिका वडानम्बर–७ नेटा निवासी ‘क’ वर्गका अपाङ्गता भएका १८ वर्षीय नवीन मरासिनीलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको हो ।
रेसुङगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमसहितको टोलीले मरासिनीलाई घरमै पुगेर नागरिकता प्रदान गर्नुभएको हो । २०६४ साल फागुन १७ गते जन्मिएका मरासिनीे सानै उमेरमा एक्कासी बिरामी परेपछि थलिदै गएर पूर्णरुपमा अशक्त बनेको परिवारले जनाएको छ ।
घरमै आएर नागरिकता प्रदान गरेकोमा आमा गोमा मरासिनीले खुसी व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी गौतमले अपाङ्गता भएर प्रशासन कार्यालयसम्म आउन नसक्ने नागरिकलाई घरमै पुगेर सेवा दिने कार्यालयको अभियान स्वरुप मरासिनीलाई नागरिकता प्रदान गरेको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले स्थानीय सरकारको समन्वयमा अशक्तहरुका लागि घरमै पुगेर नागरिकता प्रदान गर्दै आएको छ । नेपालमै जन्मिएका नागरिक नागरिकता विहीन बन्न नहुने र त्यस्ता ब्यक्तिहरुको घरमै पुगेर नागरिकता प्रदान गर्ने गरेको गौतमले बताउनुभयो । नवीनले नागरिकता पाएसँगै सरकारबाट पाउने सेवा लिनका लागि पनि बाटो खुलेको छ ।