गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १९ गते । मस्र्याङ्दी नदी जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । गोरखा, लमजुङ र तनहँु भएर बग्ने मस्र्याङ्दी नदीमा एम. ए. पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैैङ्कको अगुवाइमा लगानी जुटेको हो ।
आयोजनामा बैङ्कको अगुवाइमा शुक्रबार लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैङ्क लिमिटेड, प्रभु बैङ्क, सिद्धार्थ बैङ्क, कृषि विकास बैङ्कलगायतका विभिन्न बैङ्क तथा वित्तिय संस्थाको १५ अर्ब १८ करोड ७५ लाख रुपियाँको संयुक्त लगानीमा आयोजना निर्माण हुने गरी ऋण सम्झौता सम्पन्न भएको छ ।
स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बराल हुने कम्पनीले जनाएको छ ।
साथै डोल्मा इम्पाक्ट फन्डले पनि कम्पनीमा ४९ प्रतिशतसम्म स्वपुँजी लगानी गर्न पूर्व आवश्यक ड्यु डिलिजेन्स स्टडी अगाडि बढाएको कम्पनीले जनाएको छ । यही समूहबाट हाल सेतीखोला हाइड्रोपावर लिमिटेडमार्फत सेतीखोला जलविद्युत् आयोजना २२ मेगावाट क्षमताको आयोजनाको निर्माण अन्तिम चरणमा रहेको छ ।
आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग कात्तिक १ गते विद्युत् खरिदबिक्री सम्झौता सम्पन्न भई व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति २०८६ वैशाख २२ गते रहेको छ ।