म स्कुल बसमा मामाघरबाट आउने जाने गर्छु । मेरो बाबाममीले अफिसबाट फुर्सद हुँदा मलाई लिन आउनुहुन्छ । अनि म बाइकमा घर आउँछु । एक दिन मलाई ममीले स्कुलमा नै लिन आउनुभयो । शुक्रबारको दिन थियो । हामी ममीको बाइकमा घर फर्कियौँ । साथीहरूको ममीले स्कुटर चलाउने अनि मेरो ममीले बाइक चलाउने भएकाले मलाई त्यसरी लिन आउँदा ममी नै आइदिए हुन्थ्यो जस्तो लाग्छ । म मक्ख परेर घर आएँ तर ममीलाई धुलिखेल जान हतार भइरहेको थियो । मैले ममीलाई, “बच्चालाई पनि सँगै लैजान मिल्दैन तपाईंको कार्यक्रममा ?,” भनेर सोधेँ । अनि ममीले मलाई गालामा म्वाइँ खाँदै “ल हिँड न त” भन्नुभयो । म फुरफुर हुँदै ममीको पछि लागेँ । बाबाको भने अफिसको काम भएर उहाँ हामीसँग जान मिलेन ।
हामी पहिला पठाओ चढेर कोटेश्वर गयौँ र त्यसपछि बस चढेर धुलिखेल गयौँ । बनेपा पुगेपछि त्यो बसमा मान्छे थोरै भएको भनेर हामीलाई अर्को बसमा चढाइदिए । हामी फेरि त्यहाँबाट ओर्लेर अर्को गाडी चढेर धुलिखेल गयौँ । धुलिखेल पुगेपछि ममीको साथी सुनिता आन्टी हामीलाई लिन आउनुभयो । उहाँको धुलिखेलमा होटल छ– होटल बिहानी । हामी त्यहीँ बस्यौँ । आन्टीले मलाई धेरै माया गर्नुभयो । हामी तीन जनासँगै सुत्यौँ । भोलिपल्ट बिहानै ब्रेकफास्ट गरेर हामी ममीको केही कार्यक्रममा गयौँ । दिउँसो ममीले मलाई जिपलाइन लैजानुभयो । त्यहाँ तीन किसिमका जिपलाइन रहेछन् । क्लासिक जिपलाइन भनेको एक्लै बसेर जाने, उडेँ जस्तै सुतेर खेल्न मिल्ने सुपरम्यान जिपलाइन र दुई जनासँगै बसेर खेल्न मिल्ने टेन्डम जिपलाइन हुँदो रहेछ । मैले नयाँ कुरा पनि सिकेँ । उहाँहरूले हामीले जिपलाइन खेलेको तस्बिर र भिडियो पनि दिनुहुँदो रहेछ ।
जिपलाइन खेल्नु अगाडि त म निकै एक्साइटेड थिएँ । एउटा डाँडाबाट अर्को डाँडासम्म डोरीमा सररर भनेर तर त्यहाँ पुगिसकेपछि मेरो खुट्टा लगलग कामिरहेको थियो । मलाई निकै डर लागेको थियो । मैले नगरौँ न भैगो भनेर ममीलाई अनुरोध पनि गरेँ । तर उहाँले मलाई “केही पनि हुँदैन डराउनु पर्दैन छोरी, मेरो काखमा बस्ने हो, आमाछोरी सँगै खेल्ने हो,” भनेर हौसला दिनुभयो । जिपलाइन गर्नुअगाडि त्यहाँ हुनुभएको अङ्कलहरूले सेफ्टी बेल्ट बाँधिदिनुभयो । त्यो बेल्टलाई हाफ हार्नेस भनिँदो रहेछ । उहाँहरूले ममी र मलाई डोरीमा झुन्ड्याइदिनु भयो । ममीको हातमा गोप्रो क्यामरा बाँधिदिनुभयो । म ममीको काखमा लुपुक्क बसेँ । मलाई निकै डर लागिरहेको थियो । म नाइँ ममी भन्दै थिएँ तर त्यत्तिकैमा १, २, ३, गरेर हामीलाई उहाँहरूले पठाइदिनु भयो । म एक फेर रोएँ पनि तर मजा आयो । म मेरै ममीको काखमा बसेर उडिरहेको थिएँ । चरा जस्तै उडिरहेको जस्तो लागिरहेको थियो । मलाई खुसी लागेको थियो । चिसो हावा चलेको थियो । हरियाली देखिरहेको थिएँ । मैले डरले ममीलाई च्याप्प समातेको थिएँ तर हामी त एकै छिनमा अर्को डाँडा पुगिसकेछौँ । ओर्लिने बेला भइसकेछ । ओहो कति छिटो पुगेको जस्तो लाग्यो । झर्ने बेलामा डर हराइसकेको थियो ।