• १७ माघ २०८१, बिहिबार

‘एचपिभी खोप अभियानलाई प्रभावकारी बनाउनुपर्छ’

blog

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्री पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा (एचपिभी) भाइरसविरुद्धको खोप अभियानबारे जानकारी दिनुहुँदै । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, माघ १६ गते ।
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले एचपिभी खोप अभियानलाई सफलसँगै प्रभावकारी बनाउन सरोकारवाला सबै लाग्नुपर्ने बताउनुभएको छ । स्वास्थ्य कार्यालय गुल्मीले आयोजना गरेको खोप समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीबिचको अन्तरक्रियामा उहाँले गुल्मीमा एचपिभी खोप अभियानलाई सफल बनाउन सबैको सहभागिता महत्त्वपूर्ण रहेको बताउनुभएको हो ।

जिल्ला खोप समन्वय समिति संयोजक समेत रहनुभएका प्रमुख खत्रीले सरकारले यहि माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गर्न लागेको पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा (एचपिभी) भाइरसविरुद्धको खोप अभियानमा लक्षित समूह कसैलाई पनि छुटाउन नहुने बताउनुभयो । सरकारले यो अभियानमा कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप लगाउने भएको छ ।

लक्षित समूहमा खोप अभियानलाई पु¥याउनका लागि आवश्यक समन्वय र सहजीकरण गरी खोप अभियान सफल बनाउन सबै पक्ष लाग्न जरुरी रहेको भन्दै उहाँले खोपका लागि निर्धारण गरिएका लक्षित किशोरीहरु छुट्न नहुने बताउनुभयो । खोप अभियानका लागि विद्यालयमा खोप केन्द्र तोकिएको छ । एचपिभी खोप एक मात्रा लगाए पुग्छ । सरकारले आगमी वर्षदेखि कक्षा ६ का छात्रा र विद्यालय बाहिर रहेका १० वर्षका किशोरीलाई नियमित एचपिभी खोप प्रदान गर्ने भएको छ ।

खोप लगाउनका लागि यहाँ स्थानीय तहका स्वास्थ्यकर्मीलाई अभिमुखिकरण गरिएको छ । एचपिभी खोप अभियानलाई सफल बनाउन सङ्घ, प्रदेश र स्थानीय तहका स्वास्थ्य, शिक्षा क्षेत्र, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सबैको सहभागिता हुनुपर्ने बताइएको छ । दुई नगरपालिका र दस गाउँपालिका गरी यस जिल्लाका १२ स्थानीय तहका विद्यालयमा अध्ययनरत ११ हजार ४४ छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका २४४ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिनुभयो ।

खोप लगाउनका लागि जिल्ला स्वास्थ्य कार्यालयले १८६ जना स्वास्थ्यकर्मी र ३७२ जना स्वास्थ्य स्वयंसेवक परिचालन गर्ने भएको छ । जिल्लामा रहेका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राको नामावली सङ्कलनसँगै विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीको नामावली स्वास्थ्य संस्थाले सङ्कलन गर्ने वा सङ्ख्या अनुमान गरी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु र स्थानीय तहसँग समन्वय गरेर लक्षित सङ्ख्या निर्धारण गरिएको उहाँले बताउनुभयो ।