• ६ असार २०८२, शुक्रबार

अन्दोलनका घाइतेको निःशुल्क उपचार गराएको तीन अस्पतालले मागे ३९ लाख रकम

blog

काठमाडौँ, असार ६ गते । तीनकुनेमा भएको व्यवस्थाविरोधी आन्दोलनको क्रममा घाइते भएकाको उपचार गराए बापत तीन अस्पतालले  ३९ लाख भन्दा बढी रकम माग गरेका छन् । 

विसं. २०८१ चैत १५ गते व्यवस्थाविरोधी आन्दोलनको क्रममा घाइते भएकाको निःशुल्क उपचार गराए बापत तीन अस्पतालले ३९ लाख छ हजार ८७७ रुपियाँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बिल पेस गरेका छन् ।  

घाइतेको निःशुल्क उपचार गराए बापत बिल पेस गर्नेमा काठमाडौँ मेडिकल कलेज, निजामती कर्मचारी अस्पताल, बी एन्ड बी अस्पताल रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।  

मन्त्रालयका अनुसार हालसम्म निजामती कर्मचारी अस्पतालले छ जना बिरामी उपचार गराए बापत १२ लाख ८८ हजार ३८५.२७, काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडले सात जना बिरामी उपचार गराएको एक लाख ४६ हजार ९७१ र  बी एन्ड बी अस्पतालले चार जना बिरामी उपचार गराए बापत २४ लाख ७१ हजार ५२१.५३ रुपियाँ गरी ३९ लाख छ हजार ८७७ रुपियाँको बिल पेस गरेका छन् ।   

विसं. २०८१ चैत १५ गते व्यवस्थाविरोधी आन्दोलनको क्रममा घाइते भएकाको निःशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई मन्त्रीपरिषद्को बैठकले निर्देशन दिएको थियो । 

 मन्त्रीपरिषद्को निर्देशक अनुसार स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै उक्त आन्दोलनमा घाइते भएकाको निःशुल्क उपचार गर्ने घोषण गरेको थियो ।  

डा. बुढाथोकीका अनुसार उक्त आन्दोलनमा ३३ जना घाइते भएका थिए । घाइतेले  उपत्यकाका विभिन्न अस्पतालमा भर्ना भएर उपचार गराएका थिए ।   

हाल उपचाररत घाइते अस्पतालबाट डिस्चार्ज भइसकेको भए पनि केही फलोअप सर्जरी र उपचार बाँकी रहेको डा. बुढाथोकी बताउनुहुन्छ । 

डा. बुढाथोकीका अनुसार बी एन्ड बी अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा फलोअप सर्जरी बाँकी छ।  

राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले निःशुल्क घाइतेको उपचार गराए बापत अझसम्म पनि बिल पेस नगरेको डा. बुढाथोकीको भनाइ छ । सबै अस्पतालले बिल पेस गर्दा लगभग ८० लाख बराबरको उपचार खर्च आउने अनुमान मन्त्रालयको छ । 

सबै अस्पतालले उपचार गराएको बिल र कागजात पेस गरिसकेपछि अर्थ मन्त्रालयमा उपचार खर्च माग गर्ने डा. बुढाथोकी बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “सबै गरेर ८० लाख जतिको उपचार खर्च आउने अनुमान गरिएको छ । सबै अस्पतालले निःशुल्क उपचार गराएको बिल पेस भएपछि भुक्तानीको लागि अर्थ मन्त्रालयसँग माग रकम माग गरेर सम्बन्धित अस्पताललाई बुझाउने निर्णय भएको छ ।”