• १३ साउन २०८१, आइतबार

चीनतर्फको उडान खुल्ने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १३ गते । कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको चीनसँगको सिधा उडान मङ्गलबार (जेठ १७)देखि सञ्चालनमा आउने भएको छ । नेपाली र चिनियाँ लगानीकर्ताको लगानी रहेको हिमालय एयरलाइन्सले मङ्गलबारदेखि चीनको कुनमिङ उडान सुरु गर्न लागेको हो । जेठ १७ गते (मे ३१)देखि साताको एक उडान गर्ने सो एयरलाइन्सले जनाएको छ । महामारीको कारण देखाउँदै दुई वर्षअघि चीन सरकारले नेपालबाट हुने सिधा उडान रोकेपछि कार्गो उडान मात्रै हुँदै आएको थियो । 

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले उडान सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान तालिकासमेत पाइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महामारी सुरु भएसँगै बन्द भएको नियमित उडान सञ्चालनको बाटो खुलेको छ । क्यानबाट व्यावसायिक उडानको अनुमति पाएसँगै उडान तालिका स्वीकृत भएको छ ।”

यो दुई वर्षको अवधिमा थुप्रै चार्टर्ड उडान भए पनि नियमित उडान सुरु हुन नसक्दा नेपाल–चीनबीच आवागमनमा समस्या पर्दै आएको छ । सिधा उडान बन्द रहेकै कारण नेपाल आउने चिनियाँ पर्यटक समेत घटेका छन् । अहिले कुनमिङ उडानका लागि बुकिङ खुला गरेको जानकारी दिँदै एयरलाइन्सले यात्रु अकुपेन्सी तथा उडान अनुमतिका आधारमा थप गन्तव्यमा उडान सञ्चालनमा ल्याउने जनाएको छ ।

महामारीअघि हिमालय एयरलाइन्सले काठमाडौँबाट चीनको बेइजिङ, चाङ्सा, नाङचाङ, कुनमिङ उडान गर्दै आएको थियो । चीनको पर्यटकीय सहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक उडानबाट चीनको हवाई बजारमा प्रवेश गरेको एयरलाइन्सले अलि, शेन्जेङ, हाएकाउ, नान्चाङलगायतका आधा दर्जन गन्तव्यमासमेत उडान विस्तार गर्दै जाने योजना तय गरेको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पनि छिट्टै बेइजिङ उडान गर्ने तयारी गरेको छ । निगमले अहिलेसम्म स्लट पाएको छैन । नेपाल–चीनको हवाई सम्झौताअनुसार नेपालका एयरलाइन्सले चीनका सातवटा सहरमा उडान गर्न सक्छन् । बेइजिङ, साङ्घाई, ल्हासा, ग्वाङजाउ, कुनमिङ, छेन्दु र जियानमा नेपालका एयरलाइन्सले उडान गर्न सक्छन् ।