• १७ माघ २०८१, बिहिबार

निमा र रमा

blog

“हेलो रमा ! म निमा, चौँरीखर्कबाट आएको, चिनेनौ मलाई ?” अचानक निमालाई देख्दा रमा एकछिन् अक्क न पक्क पर्छिन् । के गरूँ के नगरूँ को अवस्थामा पुग्छिन् । तुरुन्तै आफूलाई सम्हाल्छिन् र हाँस्दै निमाको स्वागत् गर्छिन्, “निमा तिमी आज हाम्रो घरमा ? नमस्कार, हार्दिक स्वागत छ साथी ।” 

रमाले साथी निमा र बाबाआमाको परिचय गराइन् । उहाँहरूले पनि निमाको स्वागत गर्नुभयो । एकछिन कुराकानी गरेपछि रमाले निमालाई आफ्नो अध्ययन कक्षमा लगिन् । निमाले जाडो बिदामा आफूले कोरेका थुप्रै चित्र र रचेका कविता देखाइन् । 

निमाले पनि जाडो बिदा सुरु भएपछि लेखेका दैनिकी, कथा, यात्रावर्णन एउटा छुट्टै अभ्यास पुस्तिका देखाउँदै भनिन्, “म पनि केही लेख्ने गर्छु । हरेक दिनको दैनिकी लेख्छु । कथा र कविता पनि रच्छु । नयाँ ठाउँ घुम्न जाने गर्छु र यात्रावर्णन तयार पार्छु ।” 

निमा र रमा इमेलबाट बनेका साथी हुन् । दुई वर्षको इमेलमित्रतापछि पोहोरसाल चौँरीखर्कमा उनीहरूले पहिलो भेट गरे । रमा गर्मी बिदामा निमाको गाउँ चौँरीखर्क गएकी थिइन् । रमाको घर मध्यपहाडी भेगको गुरुङ गाउँमा छ । विद्यालयमा एक महिनाको गर्मी छुट्टी हुन्छ । निमाको घर हिमाली जिल्लामा छ । अहिले उनको विद्यालयमा जाडोको छुट्टी छ । पुसको १५ गते गुरुङ जातिको नयाँ वर्ष अर्थात् तमु ल्होसार । घरहरू सिँगारिएर चिटिक्क छन् । लालुपाते र राता र सेता फूलले आँगनका डिल रङ्गीचङ्गी र चित्रमय बनेको छ । घमाइलो खरबारी पाखो सिमल फुलेर रमाइलो छ । सिमलका हाँगामा घाँस बुनेर बनाइएका तोप चराका कलात्मक गुँड तन्द्र्याङतुन्द्रुङ झुन्डिरहेका छन् । आकाश छ्याङ्ग खुलेको छ । पारिपट्टि काफलडाँडाको निर्मल चमेरे छाँगो छ्याङछ्याङ गर्दै हामफालिरहेको छ । रमाको घरगाउँ देखेर निमा दङ्ग पर्दै भन्छिन्, “रमा, मलाई तिम्रो गाउँ असाध्यै मन प¥यो । सधै यतै बसुँ जस्तो लाग्न थाल्यो मलाई त ।” 

“अँ, धन्यवाद निमा । अझ ल्होसारको दिन त भोलि हो” रमाले भनिन् ।

दिन ढल्किएपछि रमा र निमा गाउँ घुम्न निस्कन्छन् । नयाँ वर्षको स्वागतका लागि साँझ झिलिमिली छ । घर घरमा सेलरोटी, वटुक र अरू धेरै परिकार पाक्दै छन् । महिला नाकमा बुलाखी, शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिट्को गुन्यु र मजेत्रोमा सजिएका छन् । पुरुष चाहिँ शिरमा टोपी, भोटोमाथि भाङ्ग्रो, कछाड र पटुकीमा रमाएका छन् । उनीहरू घाटु, सोरठी, चुट्का भन्दै कौडा नाच्छन् । “रमा हामी पनि नाचौँ न ।” निमालाई नाचु नाचु लाग्छ । “गुरुङ नाच आउँछ तिमीलाई ?” रमा ठट्टा गर्दै प्रश्न गर्छिन् । 

“अरूले नाचेको हेरेर सिक्दै नाच्छु नि” निमा जवाफ फर्काउँछिन् ।

“लौ जाऔँ भित्र, गुरुङ पोसाक लगाउन ।” 

रमाको कुराले निमा दङ्ग पर्छिन्, “म पनि गुरुङसेनी बन्ने ? हाहाहा, कस्तो रमाइलो !”

निमा र रमा सुन्दर पुतली जस्तै सिँगारिएर निस्किन्छन् र अरूले जस्तै छमछमी नाच्छन् ।

साँझ छिप्पिँदै गर्दा घर फर्किन्छन् । काइँली फुपूसँगै सालको पातका दुना, टपरी र बोहोता गाँस्छन् । त्यसपछि आमालाई परिकार पकाउन सघाउन पुग्छन् । सुत्नुअघि आजको दैनिकी लेख्छन् । नयाँ वर्षको उज्यालो बिहानीको प्रतीक्षा गर्दै विश्राम गर्छन् ।    

 मुना