साथीहरू, जताततै जाडो छ । मौसम नै जाडोको छ । जाडोको समयमा लेकतिर हिउँ पर्छ । पहाडको माथि माथि चिसो चिसो मौसम हुने ठाउँलाई लेक भनिन्छ । हिमाली भूभागमा पानी परे जस्तै गरी हिउँको वर्षा हुन्छ । त्यसलाई हिमपात भनिन्छ । तराई क्षेत्रमा हिउँ पर्दैन । बरु शीतलहर चल्छ । २००१ पुसमा काठमाडौँमा पनि हिउँ परेको थियो रे ।
मङ्सिर–पुस–माघ महिनामा तराई क्षेत्रमा शीतलहर चल्छ । जाडो मौसममा चल्ने चिसो कडा हावा हुरीलाई शीतलहर भनिन्छ । घाम नलाग्ने, चिसो हुस्सु मात्र चल्ने भएकाले यस समयमा तराई क्षेत्रको जीवन निकै कष्टकर हुन्छ । कैयौँ दिनसम्म घाम नै देख्न पाइँदैन ।
जाडो बेलामा रातको समयमा आकाशबाट शीत झर्छ । रातको समयमा पानीका ससाना थोप्ला जमिनमा झर्छ । शीतले जमिन ओसिलो बनाउँछ । रुख, जमिन, घाँसका मैदानमा झरेको पानीका ससाना थोप्लालाई नै शीत भनिन्छ ।
साथीहरू, बिहानको समयमा घाँसको मैदानमा कपास जस्तो सेतो वस्तु देख्नुभएको छ ? हो, त्यसलाई तुषारो भनिन्छ । रातको समयमा झरेको त्यही शीत चिसो मौसमले गर्दा जमेर तुसारो बन्छ । घाम लाग्दै गएपछि त्यो आफैँ हराउँछ । त्यो गायब बनेको होइन, पग्लिएर बाफ बनेर उड्छ र हराउँछ ।
शरद ऋतु (असोज–कात्तिक) सकिएपछि हेमन्त ऋतु (मङ्सिर–पुस) सुरु हुन्छ । शरद ऋतुबाटै सुरु भएको जाडो हेमन्तमा आइपुग्दा निकै बढिसकेको हुन्छ । यो बेला हिमाल, पहाड र तराई तिनै भौगोलिक क्षेत्रमा जाडो ज्यादै हुन्छ ।
साथीहरू, यो बेला न्यायो लुगा लगाउनु पर्छ । टाउको, नाक, कान, घाँटी, हात, गोडा, आँखालाई चिसोबाट जोगाउनु पर्छ । त्यसैले त यो बेला हामी टाउको छोप्ने गरी बाक्ला लुगा लगाउँछौँ । बिहानीपखको पारिलो घाम ताप्छौँ । घाम नभएको बेला बिजुलीबत्ती भएको ठाउँमा हिटर पनि ताप्ने गरिन्छ ।
पहाड वा तराईतिर दाउरा प्रशस्त पाइने ठाउँमा आगो बालेर घुर ताप्ने गरिन्छ । यसलाई आगो ताप्ने पनि भनिन्छ । त्यसरी आगो ताप्दा आलु पोलेर तात्तातै खाने चलन पनि छ । छेउको खरानीभित्र मकैका गेडा हालिन्छ र तापले पड्किन्छ । त्यसरी फुलाएर मकै खाने चलन पनि छ । जाडोको बेला आगो ताप्न, खाना बनाउन भदौ/असोजतिरै दाउरा जम्मा पारेर आँगनमा राखिन्छ । मिलाएर दाउरा राखिएको त्यस्तो चाङ, थुप्रो वा कुनिउँलाई खलियो भनिन्छ नि !
दाउरा नपाइने ठाउँमा मसिना झिक्राझिक्री जम्मा पारिन्छ । तराईतिर गाईभैँसीको गोबरमा झिक्राझिक्री, पराल, गहुँको नल मिसाएर गुइँठा बनाइन्छ तराईका घरगोठको भित्तामा गोबर टाँसेर राखिएको देख्नुभएको छ ? हो, त्यसलाई गुइँठा भनिन्छ । जाडोको बेला घुर ताप्नसमेत यो गुइँठाको प्रयोग हुन्छ । तराईमा शीतलहर चलेको बेला त स्थानीय सरकार, सामाजिक संस्थाले समेत आगो ताप्ने व्यवस्था मिलाउँछ । काठका ठुलठुला मुढा ल्याएर गाउँको चोक चोकमा आगो बालेर मानिसलाई आगो ताप्ने व्यवस्था मिलाउने गरेको देखिन्छ ।
हिमाली क्षेत्रका घरको मझेरीको बिचमा चुलो हुन्छ । घरलाई न्यानो बनाउन यसो गरिएको हो । हिमाली क्षेत्रमा त्यसै चुलोको वरिपरि बसेर न्यानो ताप्ने गरिन्छ । हिमाली क्षेत्रका घरमा ससाना झ्याल हुन्छन् । त्यो पनि घर न्यानो बनाउनका लागि हो नि !
अँ, हामी त घुर ताप्ने कुरा गरिरहेका थियौँ । यसरी आगो ताप्दा सचेत चाहिँ हुनु पर्छ है । आगो नभएर पनि हुँदैन र आगोसँग निकै सचेत पनि हुनु पर्छ । आगोसँग कहिल्यै खेल्नु हुँदैन । घरका हजुरबा, हजुरआमा, बाबाआमा, काकाकाकीसँगै बसेर घुर ताप्न खुवै मजा आउँछ । अझ त्यस्तो बेला त हजुरबा/हजुरआमालाई पहिले पहिलेका कथा सुनाउनुस् न भन्दै कथा सुन्न खुवै रमाइलो हुन्छ । तपाईं पनि यो मौसममा घुर ताप्दा या घाम ताप्दा त्यस्तै कथा सुनेर कापीमा सार्नुस् ल ?
विद्यालयमा जाडो बिदासमेत यही बेला हुन्छ । यस्तो बेला त विद्यालयको गृहकार्य पनि गर्नु पर्छ । गृहकार्य भोलि गरौँला भनेर राख्यो भने त पछि एकैचोटि गर्न कठिन हुन्छ । त्यसैले साथीहरूले गृहकार्य पनि छिटो छिटो सकेर बरु घुम्न पो जाने कि ? अहो ! बरु घुम्न पो कहाँ जाने ? यसबारे अर्को पटक भन्छु ल !