• ८ वैशाख २०८२, सोमबार

रोकिएको पुल निर्माण सुरु

blog

हुम्ला समाचारदाता 

हुम्ला, माघ १५ गते । कर्णाली कोरिडोर अन्तर्गत हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–५ को खार्पुको दोजाम कर्णाली नदीमाथि रोकिएको पक्की पुलको निर्माण सुरु भएको छ । पुलको फाउन्डेसन खनेर पिल्लर ढलान गर्ने क्रममा तातोपानी निस्कनु र नदीको पानी पसेपछि रोकिएको काममा त्यसको डिजाइनमा परिवर्तन गरिएपछि निर्माण सुरु भएको हो । करिब एक वर्ष काम रोकिएको कर्णाली कोरिडोरको खार्पुको पक्की पुलको निर्माण सुरु भएको हिल्सा–सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले बताउनुभयो ।  

उहाँले पुलको दुवैतर्फका पिल्लर यसअघि एम २० र एम २५ अनुपात रहेकोमा हाल त्यसलाई परिमार्जन गरेर एम ३० को अनुपातमा परिवर्तन गरिएपछि काम सुरु भएको बताउनुभयो । अब यो अनुपातको सिमेन्ट, बालुवा, गिट्टी र केमिकल मिसाएमा पिल्लरमा पानीले असर गर्न नसक्ने गरी अनुपात मिलाएका कारण पिल्लर बलियो हुने उहाँले बताउनुभयो । २०८२ को साउन महिनामा सम्पन्न गर्ने गरी पुल निर्माणको जिम्मा पाएका निर्माण कम्पनीलाई म्याद थप सडक विभागले गरेको छ । यसका लागि आयोजनाले स्वच्छन्द पाउन्ट पुमोरी जेभी चितवनसँग २०७८ साउन १४ गते सम्झौता गरेको थियो । ५५ मिटर मिटर लम्बाइ रहेको सो पुल निर्माणका लागि ११ करोड ८३ लाख ९४ हजार रुपियाँमा आयोजनाले निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।