• १९ चैत २०८१, मङ्गलबार

देशान्तरणको विमर्श

blog

नेपालबाट दैनिक हजारौँको सङ्ख्यामा नेपाली विदेश जाने गरेका छन् । शिक्षा आर्जन र कामको खोजीमा जानुका साथै पर्यटनका निमित्त विदेश भ्रमण गर्नेको सङ्ख्या पनि बढेको छ । शिक्षा मन्त्रालयका अनुसार सन् २०२३ मा एक लाख १२ हजार ५९३ विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका थिए । श्रम विभागका अनुसार सन् २०२३ मा सात लाख ४१ हजार मानिस रोजगारीका लागि बाहिर गएका थिए । सन् २०२३ मा कुल १६ लाख मानिस विदेश गएको अध्यागमनको हिसाब अनुसार काम र शिक्षाका लागि आठ लाख मानिस विदेश गएको देखिन्छ । सात लाख ५० हजार मानिस पर्यटन वा व्यापार प्रवर्धनका लागि विदेश गएको देखिन्छ । नेपालमा अहिले शिक्षा आर्जन र कामका लागि विदेश जानेको सम्बन्धमा धेरै चर्चा गरिन्छ । चर्चा यसकारण पनि बढी गरिएको छ कि पहाडका गाउँ प्रायः सुनसान हुन थालेका छन् । जे जति जनसङ्ख्या छ, त्यसमा पनि ६० वर्ष कटेका मानिसको सङ्ख्या अत्यधिक छ । 

युवा मात्र गाउँमा कम भएका होइनन् । बच्चाको मनमोहक कलाकारी र किशोरको चुलबुलापन देख्न पनि दुर्लभ हुन लागेको छ । जौ, गहुँ, मकै, कोदोलगायतका अन्न र फलफूल तथा बिरुवाले भरिभराउ सुन्दर बारी घाँसे मैदान बनेका छन् र बन्दै छन् । थोरै रहेको मानिसको जनसङ्ख्यालाई बाँदर र बँदेलले अझ कष्टकर बनाएका छन् । खानेपानी, विद्युत्, यातायातका साधन, प्राथमिक स्वास्थ्य, माध्यमिक तहको शिक्षा प्रत्येक वडामा उपलब्ध छ । प्रायः हरेक टोलबस्तीमा मोटरबाटो पुगेको छ । सुविधा जति वृद्धि भएको छ र थपिँदै छ, टोलबस्ती त्यत्ति नै बढी खाली हुँदै छन् । यस्तो उल्टो गति क्रम किन बढिरहेको छ ? के यो शासनको असफलता मात्र हो कि अरू पनि कारण छन् ? 

मानव इतिहास खोतल्दा मानिसको प्राकृतिक गतिक्रम घुमन्ते देखिन्छ । आदि मानव अफ्रिकाको भीषण गर्मी र अनावृष्टिबाट पीडित बनेपछि सहज जीवनको खोजीमा पूर्वउत्तरतर्फ लाग्दै हालको युरेसिया भनिने क्षेत्रमा बस्न पुगे । त्यहाँबाट भारतीय उपमहाद्वीप, चीन, अस्ट्रेलिया र पछि अमेरिकासम्म पुगी विस्तारित भए । हामी नेपालीका पुर्खामध्येका केही दक्षिणतर्फबाट र केही उत्तरतर्फबाट स्थानान्तर भई अहिलेको नेपालका विभिन्न स्थानमा बस्न पुगे । अफ्रिकाबाट अनावृष्टि, सुक्खाका कारण त्यहाँबाट स्थान परिवर्तन गरेको मानिए पनि युरेसियाबाट स्थानान्तरण हुनु अझ राम्रो जीवनको अपेक्षा साथै मानिसको नैसर्गिक जिज्ञासु स्वभाव र नवीनताको खोजी हो ।

रामायणकालीन सीता–रामको विवाह र महाभारतकालीन अभिमन्यु–उत्तराको विवाहबाट जनकपुर र अयोध्या तथा विराटनगर र हस्तिनापुर (हालको दिल्ली) को सम्बन्ध गाँसिएको घटना विवरण साहित्यिक मिथक वा वास्तविकता जे माने पनि बसोबासको परिवर्तन र व्यापार तथा पर्यटन नेपालीले हजारौँ वर्षपहिलेदेखि गरेको मान्न कर लाग्छ । सातौँ शताब्दीमा नेपालकी भृकुटी तिब्बतका राजा स्रङचङ गम्पोसँग विवाह गरेर गएको र उनी त्यहाँ गएपछि काठमाडौँका नेवार व्यापार गर्न तिब्बत पुगेकामध्ये कतिपय उतै विवाह गरी बसेको पाइन्छ । यो क्रम सन् १९५९ मा चीनले तिब्बतलाई अधीनस्थ गरेपश्चात् मात्र रोकिएको कुरा इतिहासकारले उल्लेख गरेका छन् ।

आधुनिक इतिहास हेर्दा सन् १८१६ को सुगौली सन्धिका कारण ‘दर्प मर्दित’ भएपछि बलभद्र कुँवर प्रतिशोध साध्न पन्जाबको लाहोरमा सिख सेनामा भर्ना भएको इतिहास छ । तत्पश्चात् नेपाली लाहोर गएर सिख सेनामा भर्ना हुने क्रम बढेकाले नेपालमा विदेशी सेनामा भर्ना भएर जागिर खानेलाई लाहुरे भनिने गरिएकामा पछि रोजगारीको सिलसिलामा नेपालबाहिर जाने सबैलाई लाहुरे भन्ने गरिएको थियो । नेपालसँगको युद्धमा नेपालीको वीरताबाट प्रभावित भएर अङ्ग्रेजले नेपालीलाई आफ्नो सेनामा भर्ना गर्न सुरु गरे । तिनैमध्येका धेरै नेपाली हङकङ, बेलायतमा बस्न पुगेका छन् । भारतको कोलकाता, दिल्ली, विहार आदि ठाउँबाट अझ राम्रो अवसरको खोजीमा नेपाली १९ औँ शताब्दीमा नै बर्मा, थाइल्यान्ड पुगेका थिए । बर्मामा अहिले पनि करिब पाँच लाखको सङ्ख्यामा हिन्दु नेपाली रहेको अनुमान छ । उनीहरू कृषि, बागवानी, पशुपालन र केहीले रत्नको व्यापार गरिरहेका र केहीले रत्नका खानीको स्वामित्व लिएर बसेको बताइन्छ । नेपालीको सरल गन्तव्य भारत भएको र भाषा, लिपिको समानताका कारण पनि ठुलो सङ्ख्यामा नेपाली भारतमा नै छन् ।

विक्रम संवत् २०४६ मा प्रजातन्त्रको पुनस्र्थापना हुनुअघिसम्म नेपालीलाई भारतबाहेकका देशमा यात्रा गर्न राहदानी प्राप्त गर्नु सरकारको निगाहमा भर पर्दथ्यो । उपचारका लागि बेलायत जानु जरुरी भएकाले विसं २०२६ मा बिपी कोइरालालाई राहदानी दिन राजदरबारले अस्वीकार गरेकाले मानवका नाताले भारतले दिएको परिचयपत्रका आधारमा उहाँ उपचार गर्न बेलायत पुग्न सम्भव भएको थियो । प्रजातन्त्रको स्थापनापछि नेपाली नागरिकलाई राहदानी प्राप्त गर्न खुला गरियो र विसं २०५२ पछि काठमाडौँबाहेक तत्कालीन अवस्थाका पाँच विकास क्षेत्रबाट राहदानी वितरण गर्न प्रारम्भ गरियो । अहिले ७७ जिल्ला प्रशासनबाट नेपालीले राहदानी प्राप्त गर्न सक्छन् । राहदानी प्राप्त गर्न सरल बनेपछि नेपालीको विदेश जाने क्रम पनि वृद्धि भएको छ । अहिले नेपालको विदेशी मुद्रा आर्जनको प्रमुख हिस्सा नै विप्रेषण भएकाले काममा विदेश जाने नेपालीको आर्थिक महìव कति छ भन्ने सहजै आकलन गर्न सकिन्छ ।

अहिले युवा विद्यार्थीमा माध्यमिक तहको शिक्षा समाप्त गर्नासाथ विदेश जाने प्रवृत्ति बढ्दो छ । अध्ययनका लागि विदेश जाने गन्तव्य मुलुकमा अमेरिका, अस्ट्रेलिया, जापान र युरोपियन मुलुक पर्छन् । यसमा अध्ययनको मात्र उद्देश्य राखेर जानेको सङ्ख्या न्यून छ । अधिकांशको उद्देश्य ती मुलुकमा काम गरी पढ्नुका साथै आयआर्जन गर्नु र सकेसम्म त्यही स्थायी आवास गर्नु रहेको हुन्छ । विद्यार्थीका आमाबुवाको मानसिकता पनि भरसक छोराछोरी युरोप, अमेरिका, अस्ट्रेलियालगायत विकसित मुलुक जाऊन् भन्ने रहेको हुन्छ । देखावटी रूपमा छोराछोरीले बस्नै मानेन भने पनि मेरो छोरो वा छोरी अमेरिका, बेलायत या जापान छ भन्नु र कहिलेकाहीँ छोराछोरी भेट्न आफूहरू पनि जानुलाई गौरवका रूपमा लिएको सबैले अनुभव गरेकै हो । आफू जान नसके पनि त्यतै स्थायी आवास पाएका युवकयुवतीसँग विवाहित हुन खोज्नुले पनि नेपालीमा विकसित देशमा जाने मोहलाई दर्साउँछ ।

अहिले एउटा भनाइ नेपालमा सर्वत्र सुनिन्छ । नेपालमा काम गर्ने वातावरण छैन । जताततै भ्रष्टाचार छ । रोजगारीको अवसर छैन । त्यसैले युवा जति विदेश पलायन हुँदै छन् । देश खत्तम भयो । नेताहरूले बिगारे । मानिसमा देश बिग्रियो भन्ने एक खालको प्राक्कल्पना नै बनेको छ । यसमा सत्यता हुँदै नभएको होइन । जति विकरालता प्रदर्शन गर्न खोजिएको छ, त्यो पनि यथार्थ होइन । सरकारी तथ्याङ्कका कुरा नगरौँ । माघ ११ गते अनलाइन खबरमा सेयरकास्ट इनिसिएटिभ नेपाल भन्ने संस्थाले ५२ जिल्लाका तीन हजार घरमा पुगी गरेको सर्वेक्षण प्रकाशित गरिएको छ । त्यसमा पाँच वर्षपहिले र अहिलेको बिचमा मानिसले कस्तो अनुभव गरेका छन् भन्ने देखाएको छ । देशको अवस्था खराब कि सुधार भन्ने प्रश्नमा ५०.५ प्रतिशत मानिसले पाँच वर्षभन्दा अहिले सुधार भएको भनेका छन् भने २४.३ प्रतिशत मानिसले देशको अवस्था बिग्रिएको बताएका छन् । तपाईंको पारिवारिक अवस्था सुध्रियो कि झन् खराब भयो भन्ने प्रश्नमा ५६.९ प्रतिशतले सुध्रिएको बताएका छन् । नेताका सम्बन्धमा भने अधिकांशको नकारात्मक विचार छ । यो साधारण घरपरिवारको भोगाइ र धारणा हो । यसमा कृत्रिमता छैन । अर्कातर्फ व्यापार वा पर्यटनका लागि सात लाख ५० हजार मानिस बाहिर जानुले पनि नेपालीको आर्थिक अवस्थामा सुधार भएको नै देखाउँछ । देश बिग्रियो भन्ने नकारात्मकता पनि राजनीतिक व्यक्तिले नै फैलाएको हो । सत्तामा हुँदा सब ठिक देख्ने, सत्ताबाहिर बस्दा देश खतम भयो भन्ने राजनीतिक नेताको भ्रमको प्रचारले नकारात्मकता फैलाउन मद्दत गरेको छ । हो, देशमा समस्या छ, बेरोजगारी छ । औद्योगिक विकास हुन सकेको छैन । कृषि उत्पादनमा पनि परनिर्भर छौँ । भ्रष्टाचार छ । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व इमानदार भएको भए देशले अझ प्रगति गर्न सक्थ्यो । हामी जस्तै भूपरिवेष्ठित देश भुटानको हाराहारीमा प्रतिव्यक्ति आम्दानीमा पुग्न सकिन्थ्यो । केही नभएको र देश खत्तमै भएर युवा विदेश पलायन भएको भाष्य पनि तथ्य र तर्कसङ्गत देखिँदैन ।

मानिसको प्रवृत्ति सुविधा र अवसर खोज्ने रहेको माथि नै चर्चा गरिएको छ । अमेरिकाका मानिस युरोप र युरोपका मानिस अमेरिकातर्फ बसाइँ सर्ने अद्यापि चलन छ । उनीहरू देश खतम भएर बसाइँ सरेका होइनन् । फेरि हाम्रो बेरोजगारीको समस्या समाधान गरिदिन विकसित मुलुकले यहाँका युवालाई अवसर दिएका पनि होइनन् । ती देशमा जन्मदरको कमीले श्रमिकको अभाव पूर्ति गर्न यहाँका युवाले अवसर पाएका हुन् । विकसित देशको जन्मदर प्रतिपरिवार दुईभन्दा पनि कम भई जनसङ्ख्या असन्तुलनको चपेटामा छन् । यो असन्तुलन उनीहरूले बाहिरी देशबाट पूर्ति गरिरहेका छन् । हाम्रोमा अवसरको कमी तथा विकसित देशमा श्रमको कमीले स्वाभाविक रूपमा श्रमको माग र आपूर्ति मिलेको हो । हामी युवा बाहिरिएकाले चिन्तित छौँ । युरोप तथा अमेरिकामा दक्षिणपन्थी बाहिरी आप्रवासनले हाम्रो मौलिकता हराउन लाग्यो, स्वदेशीको रोजगार खोसियो भन्ने भाष्य बनाउन लागेका छन् ।

माओवादी द्वन्द्वको समयमा गाउँ छाडेको जनसङ्ख्यालाई पुनः गाउँमा पुनस्र्थापित गराउने योजना राज्यले बनाउन सकेन । यसले पनि पहाडी गाउँका धेरै परिवार विस्थापित भए । गाउँ खाली हुनुको प्रमुख कारण यो पनि हो । यसले जनसङ्ख्याको असन्तुलन मात्र बढाएको छैन, यसले ग्रामीण संस्कृति, सभ्यता र परम्परागत पारिवारिक माया, ममता, स्नेह र अपनत्वको भावनामा नै ह्रास आएको छ । गाउँमा हुने सामूहिकता र सहयोगको संस्कृति हराउँदै जान थालेको छ । मानिस एक्लो बन्दै छ । कैयौँ परिवारको सम्बन्ध छिन्नभिन्न हुन पुगेको छ । पहाडका जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा नै अत्यधिक छन् । पारिवारिक स्नेहको अभावले परिवार मात्र विघटन हुने होइन, यसले समाज नै भ्रष्ट तथा चरित्रहीन बनाउँछ ।

युवा विकसित देशमा जानु त्यहाँको प्रविधिसँग अभ्यस्त हुनु र नयाँ काम व्यवसाय सिक्नु हाम्रा लागि अवसर पनि हो । देङ सियाओ पेङले आफ्नो १० बर्से कार्यकालमा चीनको कायापलट गरे । उनी सिङ्गापुर जाँदा त्यहाँको प्रगतिबाट प्रभावित भएर सयौँ चिनियाँलाई त्यो प्रगतिको रहस्य अध्ययन गर्न सिङ्गापुर पठाए । आफ्नो देशको आवश्यकता अनुसारको प्रविधि सिकेर स्वदेश फर्कन विद्यार्थीलाई युरोप तथा अमेरिका पठाए । अहिले त्यही शिक्षा र सिपको जगका आधारमा चीन विश्वको दोस्रो ठुलो अर्थतन्त्र बनिसकेको छ । हाम्रा मन्त्री र कर्मचारी निरन्तर विदेश भ्रमणमा निस्कन्छन् । उनीहरू न्युयोर्क पुगे भने स्टेचु अफ लिबर्टी र ह्वाइट हाउस हेर्छन् । फोटो लिन्छन् । फ्रान्स पुगे आइफिल टावर र भर्साइल दरबार भिजिट गरेको फोटो राख्छन् । चीन पुगे ग्रेटवाल हेरेर आउँछन् । ती देश कसरी विकसित बन्न पुगे ? 

आजभन्दा १५० वर्षभन्दा पनि अघि बनेको न्युयोर्कको रेल, सडक सञ्जालले कसरी अहिलेसम्म पनि संसारको सबभन्दा व्यस्त र अग्ला भवन भएको सहरलाई धानिरहेको छ भन्नेतर्फ उनीहरूको दृष्टि पुग्दैन । आइफिल टावरनजिकैबाट बग्ने साइन नदी जो ७५६ किलोमिटर लामो छ, कसरी यति सफा राखेका छन् ? हामीले नेपालमा जम्मा १९६ किलोमिटर लम्बाइ भएको बागमती नदी पनि सफा राख्न सकेका छैनौँ भन्ने प्रश्न उनीहरूको मनमा उत्पन्न हँुदैन । 

काठमाडौँका सडकमा बाटो पिच गर्नासाथ कहिले पानी कहिले ढलका लागि किन बिगारिन्छ तर युरोप, अमेरिकालगायतका विकसित देशमा किन त्यस्तो देखिँदैन ? यो सोच पनि उनीहरूमा आउँदैन । राज्यले जनताले तिरेको करको खर्चबाट विदेश पठाउँदा त्यस देशबाट के लाभ लिन सकिन्छ ? के शिक्षा आर्जन 

गरिन्छ ? भनेर सोच्नुपर्ने हो । अहिलेसम्म त्यस्तो सोच आएको जनताले महसुस गरेका छैनन् । यो नेपाली जनताको पसिनाको सदुपयोग भयो कि दुरुपयोग ? यी प्रश्नको सन्तोषजनक उत्तर आजसम्म प्राप्त भएको छैन । निर्वाचित अस्थायी सरकारले स्थायी सरकार प्रशासकलाई र कर्मचारीले नेतालाई जिम्मेवारी सार्ने अनि कोही पनि जवाफदेही नहुने, देशले कसरी उन्नति गर्न सक्छ ?

स्वेच्छाले स्थानान्तरण वा देशान्तरण मानवीय प्रवृत्ति हो । यसलाई बलपूर्वक रोक्न सकिँदैन । स्थानान्तरण वा देशान्तरणलाई निषेध गर्नु पनि प्रत्युत्पादक हुन सक्छ । विकसित देशका मानिस पनि देशान्तरण गरिरहन्छन् । आफ्नो देशले कति र कस्तो प्रकारको आप्रवासनलाई आत्मसात् गर्न सक्छ भन्ने सम्बन्धित देशको चासोको विषय हो । बाध्यताले बिदेसिनुपर्ने नेपालीलाई नेपाल बस्न सहज हुने बनाउनु नेपाल राज्यको जिम्मेवारी हो । राज्यले नागरिकको जिम्मेवारी नलिने हो भने त्यो राज्यको जिम्मेवारी नागरिकले पनि लिँदैनन् । यो जिम्मेवारी पूरा गर्न राज्य अग्रसर हुनै पर्छ । लोकतान्त्रिक सरकारले अब पनि विगतबाट शिक्षा नलिनु र आफ्नो जिम्मेवारी पूरा नगर्नु भनेको देशको माया नभएको र नागरिकलाई हेपेको मान्नु पर्छ ।

नेपालले अमेरिका, चीन वा भारतको विकासको नक्कल गर्नु हानिकारक हुन्छ । हामीले हाम्रो देशको अवस्था र भौगोलिक स्थिति अनुसारको विकास मोडल लिनु पर्छ । अहिले नै अत्यधिक सहरीकरणका समस्या देखिएका छन् । बागमती किनार र नक्खु किनारमा असोज १२ र १३ को बाढीले गरेको विध्वंस अत्यधिक तथा योजनाविहीन सहरीकरणको परिणाम हो । पहाड होस् वा तराई ग्रामीणमुखी विकास नगर्ने हो भने हाम्रा समस्या बढ्दै जाने छ । सरकारी शिक्षालाई कसरी स्तरीय बनाउने ? हरेक जिल्लामा विशेषज्ञ चिकित्सक बस्न सक्ने अवस्था र स्वास्थ्य उपकरणको उपलब्धता कसरी वृद्धि गर्ने ? स्वस्थ पिउने पानी र भरपर्दो विद्युत् उपलब्धता कसरी सुनिश्चित गर्ने ? कुन गाउँमा कुन खालको उत्पादन राम्रो हुन्छ, त्यसको विस्तृत सर्वेक्षण र त्यही अनुसारका साना, मझौला उद्योग स्थापनाका लागि राज्यले के कस्तो नीति लिने ? यी र यस्तै अरू पनि साधारण जस्तै लाग्ने विविध सेवा र उत्पादनमुखी अर्थतन्त्रमा ध्यान र लगानी केन्द्रित गर्ने हो भने हाम्रो देश अझ सुन्दर बनाउन सकिन्छ । मानिसको जानेआउने क्रम चलिरहन्छ । मानिसको देशान्तरणले कुनै देश रित्तो भएको छैन र हाम्रो पनि हुने छैन । हाम्रो देश सन्तोषसाथ बस्न सक्ने बनाउने हो र यो हामीले नै गर्ने हो ।