• १९ चैत २०८१, मङ्गलबार

क्षयरोगले सताइएका सहिद परिवार

blog

सहिदप्रति सम्मान व्यक्त गर्दै विभिन्न विषय र कोणबाट उनीहरूको योगदान सम्झिने अवसर सहिद दिवस (माघ १६) ले प्रदान गरेको छ । तत्कालीन सामाजिक आर्थिक अवस्थाको प्रभाव सहिद र उनीहरूको परिवारमा पनि पर्ने नै भयो । त्यसबेलाको स्वास्थ्य स्थिति र त्यसबाट उत्पन्न हुने परिणाम सहिद र उनीहरूका आफन्तले पनि सहनु नै पथ्र्यो । त्यस समयको नेपालको स्वास्थ्य सेवा नाम मात्रैको थियो । परम्परागत आयुर्वेद प्रणाली र भर्खरै भर्खरै विस्तार हुँदै गरेको पश्चिमा चिकित्सा प्रणालीबाट जनता लाभान्वित हुन सकिरहेका थिएनन् । औलोज्वरो, बिफर, टाइफाइड, हैजा जस्ता सरुवा रोग महामारीका रूपमै फैलिन्थे । क्षयरोग प्रमुख जनस्वास्थ्य समस्याका रूपमा थियो । आमा र शिशु सुत्केरी अवस्थाको जटिलताबाट जीवन गुमाउन अभिशप्त थिए ।

दशरथ चन्द र जुलियाको प्रेममा क्षयरोग बाधक

सुदूरपश्चिम बैतडी लस्कोटमा विसं १९६० असार १७ गते रजौटा खलक ठकुरी चन्द परिवारमा दशरथको जन्म भयो । बुवा शेरबहादुर नेपाली सेनामा लप्टन भएकाले उनको बाल्यकाल सहज रूपमै बित्यो । भारत अल्मोडा र बनारसबाट आइएसम्मको अध्ययन गरेका चन्द खाइलाग्दा र आकर्षक व्यक्तित्व थिए । अग्लो र मोटो शरीर, गोरो लाग्यो अनुहार, सानोमा ठेउला रोगका कारण अनुहारमा ससाना दाग र चस्मा लगाउँदा उनी सुन्दर देखिन्थे । 

विसं १९८८ तिर उनी काठमाडौँ आए । (डा. देवीप्रसाद ओझा, अमर सहिद दशरथ चन्द, २०५१) मावली साइनोको नाताले राणा परिवारसँग उनको सम्बन्ध जोडियो । त्यसबेला काठमाडौँका राणा पश्चिमतिरका झर्रा ठकुरीका छोराछोरीसित बिहेवारी गर्न लालायित देखिन्थे । काठमाडौँदेखि खर्च हालेर कन्या खोज्न पश्चिमतिर मान्छे खटाउँथे ।

इतिहासकार पुरुषोत्तम जबराका अनुसार दशरथ चन्दलाई तत्कालीन प्रधानसेनापति तथा स्वास्थ्य विभागका डाइरेक्टर रुद्रशमशेर जबराको चारबुर्जा दरबारमा आउनेजाने अवसर प्राप्त भयो । आकर्षक ठकुरी युवा देखेपछि रुद्रशमशेरकी छोरी जुलिया राणा (मैया) पनि उनीप्रति आकर्षित भइन् । कैलो कैलो कपाल भएकी ‘कैली मैया साहेब’ भर्खरै १६/१७ वर्षकी थिइन् । दुवैबिच प्रेमसम्बन्ध रह्यो । विसं १९८८ तिर उनीहरूबिच विवाह हुने पक्कापक्की भयो । उनीहरू आपसमा चिठीपत्र आदानप्रदान गर्ने, चारबुर्जा दरबारका झ्यालमा बसी दूरबिनले एकअर्काको चियो गर्ने, उपहार पठाउने जस्ता कार्य गर्थे । सच्चा प्रेम दर्साउँथे । विसं १९८८ तिर उनीहरूबिच विवाह हुने पक्का भएपछि विवाहका लागि बैतडी कुमालीका पण्डित ईश्वरीदत्त भटट् र गणेशदत्त जोशीहरू जन्ती लिएर दुई/दुई पटक काठमाडौँ आए । जुलियाको परिवारतिर जुठो परेकाले दुवै पटक विवाह हुन सकेन ।

विसं १९९० चैतमा राजनीतिक कारणले रुद्रशमशेरको परिवारलाई जुद्धशमशेरले पाल्पातिर धपाए । परिवारसँगै जुलिया मैया पनि पाल्पा पुगिन् । त्यहीँ उनलाई १९९४/९५ सालतिर क्षयरोग (टिबी) लाग्यो । त्यहीँ उनको उपचार कम्पाउन्डर श्यामकृष्ण मल्लले गरे, जो वीर अस्पतालमा काम गर्थे । त्यसबेला उपचारका लागि गोरखपुरतिरबाट ‘डाक्टर’ हरू पनि पाल्पामा झिकाएर वा पाल्पाबाट बिरामी पटनासम्म गएर उपचार गर्ने चलन थियो । जे गर्दा पनि जुलियाको क्षयरोग निको भएन ।

पाल्पा पुगेपछि दशरथ र जुलियाको विवाहले प्राथमिकता पाउन सकेन । रुद्रशमशेरको पारिवारिक, आर्थिक अवस्था व्यवस्थित हुन सकिरहेको थिएन । क्षयरोगले जतिसुकै च्यापे पनि जुलियाको मनबाट दशरथ टाढा हुन सकेका थिएनन् । विसं १९९५/९६ तिर जुलियाले दशरथलाई सम्झनास्वरूप ‘डम्बरकुमारी खास्टो, सल’ काठमाडौँ पढाएकी थिइन् । सो खास्टो दशरथले प्राप्त गरे र प्रेमको निसानीस्वरूप त्यसलाई प्रयोगमा ल्याए । खास्टो पठाएको केही दिनपछि उपचार सफल नभएर अन्ततः क्षयरोगको जटिलताका कारण जुलियाको मृत्यु भयो । 

यता काठमाडौँमा दशरथ चन्दले जुलियाको दुःखद खबर प्राप्त गरेपछि पकनाजोल मामाघरमा १३ दिनसम्म जुठो बारे । जुलिया र दशरथको प्रेम यति गहिरो थियो कि जुलियाको परिवार पाल्पा लखेटिएपछि जुद्धशमशेरका छोरा राणाकालीन प्रधान न्यायालय प्रमुख बहादुरशमशेरले आफ्नी छोरी दिने प्रस्ताव राख्दा त्यस प्रस्तावलाई दशरथले सिधै अस्वीकार गरेका थिए । जीवनभर अर्को विवाह पनि गरेनन् ।

अमर सहिद दशरथ जस्ता क्रान्तिकारी र लौहपुरुषले आफूले गोली खाँदासमेत प्रेमको निसानी ‘डम्बरकुमारी खास्टो’ ओढेरै प्राणको आहुति दिए । इतिहासमा उनी संवेदनशील प्रेमीका रूपमा समेत दरिन पुगे । जुलियासँगको वियोगले दशरथ चन्दलाई राणा शासनविरुद्ध लाग्न झनै दृढ बनाएको बुझ्न सकिन्छ । १९९७ कात्तिक २ गते पकनाजोलस्थित मामाघरबाट पक्राउ परेका दशरथलाई १९९७ माघ १४ गते मध्यराति शोभाभगवतीमा उनका कोखा, तिघ्रा र छातीमा चार वटा गोली दागियो । त्यस समयमा पनि उनले डम्बरकुमारी खास्टो ओढिरहेका थिए । भोलिपल्ट हेर्दा खास्टो रगतले लतपतिएको थियो । त्यही खास्टो ओढेरै सहादत प्राप्त गरे । 

सुदूरपश्चिमतिर गाइने देउडा गीत ‘टोपी मैली, धोती मैली धोई दिन्या कोई छैन धोई दिन्या कोई छैन, परदेश मरन्याको, रोइ दिन्या कोई छैन’ भने जस्तै उनी मारिँदा उनका लागि आँसु झार्ने जुलिया मैयालाई २३/२३ वर्षको उमेरमै क्षयरोगले यस धर्तीबाट खोसिसकेको थियो । 

सहिद र प्रेम अमर रहून् !

क्षयरोगले धर्मभक्तकी उत्तरादेवीलाई पनि खोस्यो

धर्मभक्त माथेमाको जन्म विसं १९६६ असोज ९ गते काठमाडौँ ओमबहालमा बुवा सुब्बा आदिभक्त र आमा चन्द्रकुमारीबाट भएको थियो । उनको आईएसम्मको पढाइ दार्जिलिङ र कोलकातामा भयो । सुब्बा आदिभक्त माथेमा निर्वासित भएपछि कोलकातामा सपरिवार व्यापार गरी बस्थे । त्यही कारणले धर्मभक्त पनि कोलकातातिर रहेका थिए । उनी शारीरिक सुगठनका च्याम्पियन थिए । विसं १९९३ मा आफ्नै फुपूको घरमा प्रजापरिषद्को स्थापनामा सक्रिय रहे । उनलाई विसं १९९७ माघ ७ मा राजद्रोहको आरोपमा मृत्युदण्ड सुनाइयो । विसं १९९७ माघ १२ गते राति ९ बजे सिफलको एउटा रुखमा राणाले झुन्ड्याए । नेपाल र नेपालीको स्वतन्त्रताका लागि धर्मभक्तले शहादत प्राप्त गरे । 

उनै सहिद धर्मभक्त माथेमाकी श्रीमती उत्तरादेवी क्षयरोगबाट पीडित थिइन् । विसं १९९४ मङ्सिरतिर धर्मभक्त श्रीमतीको उपचार गराउन कोलकाता गए । केही महिना क्षयरोगको उपचारमा बिताए । श्रीमतीको रोग कम भएन, झन् झन् स्वास्थ्य बिग्रिँदै गयो । अन्ततः क्षयरोगको उपचार गर्दागर्दै उत्तरादेवीको विसं १९९४ माघमा क्षयरोगको जटिलताका कारण कोलकातामै निधन भयो । श्रीमतीको वियोग सहँदै उनकै चिनो नाबालक साढे दुई वर्षकी छोरी रेणु माथेमालाई कोलकाता आफन्तकोमै छाडी धर्मभक्त ‘पूर्णकालीन’ हुन काठमाडौँमै फर्किए र राजनीतिमा सक्रिय भए । आज अमर सहिदका रूपमा सबै नेपाली उनलाई श्रद्धा गर्छन् । (डा. राजेश गौतम, नेपालमा प्रजातान्त्रिक आन्दोलन : नेपाल प्रजापरिषद्को भूमिका, पाद टिप्पणी ३६, पे. ८७)

क्षयरोगले खोस्यो कृष्णलाल

विसं १९७७ को ‘मकै पर्व’ का नायक सुब्बा कृष्णलाल अधिकारीको जन्म विसं १९४४ माघ १४ गते रामेछाप जिल्लाको कठजोर तिल्पुङगाउँमा भएको थियो ।

उनले विसं १९७७ मा मकैको खेती’ नामक पुस्तक लेखी एक हजारप्रति छपाए । उक्त पुस्तकमा ‘मकै खाने रातो टाउको’ र ‘कालो टाउको भएको किरा’ उल्लेख गरिएको थियो । त्यस्तै ‘बालकलाई आमाको दुधले जस्तो चन्द्रोदय (औषधी) ले फाइदा गर्दैन भनेर लेखिएको विषयलाई राणाशासन खास गरी चन्द्रशमशेर र भीमशमशेरलाई होच्याइएको अर्थ लगाइयो । सोही ‘अपराध’ मा विसं १९७७ साउन ११ गते गिरफ्तार गरी उनले छापेका ९९९ पुस्तक जलाइयो, उनको जागिर खोसियो र नेल ठोकी नौ वर्षका लागि जेल हालियो ।

जेलमा बस्दा विसं १९७९ तिर उनलाई क्षयरोग लाग्यो । (डा. भूपहरि पौडेल, कृष्णलाल अधिकारी र ऐतिहासिक मकैपर्व, पृ. २१) जेल अस्पतालमा उनको उपचार गरिएको भए पनि क्षयरोगले झन् गलाउँदै लग्यो । उनी सिकिस्त बिरामी पर्दा पिता लक्ष्मण अधिकारीले ‘घाट लैजान पाऊँ’ भनी चन्द्रशमशेरसँग बिन्ती गर्दा जेलमा कुहाएर मार्न भनी हालेको हुँ भनी आर्यघाटसमेत लैजान दिएनन् । अन्ततः विसं १९८० मङ्सिर १ गते ३६ वर्षको उमेरमा सदाका लागि जेलमै अस्ताए । त्यही जेलमा बस्दा उनले विसं १९७८ तिर धर्मकुमारी शिक्षा नामक पुस्तक लेखे ।

उक्त पुस्तकमा उनले ‘शरीर रक्षा गर्न जान्नु, सन्तान पालना गर्भिणी बालखको रक्षा, रजस्वलाको विधि’ जस्ता स्वास्थ्यसम्बन्धी विषयमा समेत आफ्नो धारणा प्रस्तुत गरेका छन् । (खगेन्द्र भट्टराई, नेपाली साहित्यमा ऐतिहासिक महत्वको एक पृष्ठ : धर्मकुमारी शिक्षा, पृ. ९८)

स्वास्थ्यका विविध विषयमा कलम चलाएकाले उनलाई नेपालका पहिलो साहित्यिक सहिद मात्रै होइन, स्वास्थ्य विषय उठान गर्ने ‘स्वास्थ्य सहिद’ पनि भन्न सकिएला कि ? छलफल चलाउन आवश्यक ठान्दछु ।

‘धर्मकुमारी’ सहिद कृष्णलालकी धर्मपत्नीको नाम थियो । दिवङ्गत श्रीमती धर्मकुमारी सुवेदीको स्मृतिस्वरूप ‘धर्मकुमारी शिक्षा’ लेखिएको हुनु पर्छ । विसं १९७७ मा फैलिएको खोकी ज्वरो (आँठे) ले ३० वर्षको उमेरमा उनकी धर्मपत्नीलाई उनीबाट सदाका लागि चुँडेर लग्यो ।

(साम्वभक्त सुवेदी : सृजना र सम्झना, २०६९, पृ. ६२३) 

‘प्रचण्ड गोर्खा’ का नेताहरूलाई पनि छाडेन क्षयरोगले 

विसं १९८८ साउन २८ गते नेपालको पहिलो राजनीतिक संस्था ‘प्रचण्ड गोर्खा’ को स्थापना भयो । त्यस संस्थाका संस्थापक कप्तान खण्डमानसिंह, खड्गमानसिंह, मैनाबहादुर खत्री, रङ्गनाथ शर्मा, उमेशविक्रम शाह, लक्ष्मण राजा आदि थिए । यसको उद्देश्य राणाशासनको अन्त्य गरी राजाको वैधानिक शासनव्यवस्था स्थापना गर्नु थियो । (पदमसिंह कार्की, अन्नपूर्ण, माघ १७, २०७६) यिनै संस्थापकमध्ये मैनाबहादुरको जन्म नेपालमा भयो तर यिनी बुवासँग कोलकातामा हुर्के र भारतीय अहिंसात्मक आन्दोलनबाट प्रभावित थिए ।

राणाविरोधी कप्तान खण्डमान सिंह बस्न्यात राणाहरूको अपमान सहन नसकेर जागिर छाडी सङ्गठन निर्माणमा लागेका थिए । यस राणाविरोधी आन्दोलनमा लाग्ने सबैलाई ठुलो यातना दिइयो । रङ्गनाथ शर्मा पौडेललाई ११ वर्ष कैद र अरू सबैलाई सम्पत्ति जफतसहित आजीवन कारावासको सजाय दिइयो ।

जेलमा बस्दा मैनाबहादुर र खण्डमान सिंह बस्नेतलाई क्षयरोग लाग्यो । (राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्को भूमिका, २०४६, पाद टिप्पणी, पे. ४५–४६) सदर जेलभित्र रहेको जेल अस्पतालमा उनीहरूको क्षयरोगको ‘उपचार’ भयो तर उनीहरूलाई क्षयरोगको जटिलताले ग्रसित बनाउँदै लग्यो र अन्त्यमा उनीहरूको जीवन क्षयरोगकै कारण जेलभित्रै समाप्त भयो । 

खड्गमानसिंह बस्नेतका अनुसार जेलभित्रको अस्पतालको दुरवस्था देख्दा कैदीहरू त्यसलाई अस्पताल होइन ‘घाट’ भन्ने गर्थे । त्यस अस्पतालमा भर्ना भएका रोगी पुनः फर्केर नआउने हुँदा त ‘घाट’ भनिएको होला ।