• १९ चैत २०८१, मङ्गलबार

चेक अनादरका समस्या बढ्दो

blog

गत वर्ष लहानमा एक जना साथीको मोटरसाइकल सोरुममा पुगेको थिएँ । उनले करोडौँ रुपियाँ बराबरका बाउन्स चेक घर्राभरि देखाए । त्यसमध्ये केही चेक बाउन्सको समय अवधि सकिसकेको रहेछ । चेक बाउन्स गर्‍यो भने डरले मान्छेले पैसा तिर्छन् भन्ने लागेको थियो तर बेइमानको अगाडि केही चल्दैन, चलेन । धेरै मान्छेले गलत नियतले नै बाँकी बक्यौतामा मोटरसाइकल लगेका रहेछन् ।

कतिपयलाई प्रहरीमार्फत बैङ्किङ कसुर र कतिपयलाई अदालतमार्फत चेक अनादर मुद्दा पनि चलाइयो तर त्यसमा पनि के भयो भने कतिको नाममा सम्पत्ति नै थिएन भने कतिपयको नाममा रहेको सम्पत्ति पनि रोक्ने र लिलामीमा चढाउन हम्मे हम्मे पर्‍यो । फेरि पनि लागत उठाउन सकेनन् । स्थानीय रूपमा उनीहरूकै भोगचलनमा रहेको सम्पत्तिको कारण र बोलवाला तथा हप्कीदप्कीवाला भएकै कारण अरूले दुस्मनी लिन चाहेनन् । कौडीको मूल्यमा पनि जायजेथा बिक्री हुने स्थिति छैन ।

आफ्नै लगानी पुँजी र सम्पत्ति असुली गर्न बर्सौं लगाएर प्रहरी र अदालत चहार्दै लाखौँ खर्च गर्नु पर्‍यो । समय नोक्सानीका कारण उनको व्यापार व्यवसाय नै चौपट भयो । कतिपय ऋणी व्यक्तिले हप्कीदप्की र धम्की दिएर उल्टै उहाँलाई धम्की दिएको भनेर प्रहरीमा उजुरी दिएर दुःख दिने कामसमेत गरे । कतिपयलाई प्रहरीले नियमपूर्वक पक्राउ गरेर कारबाहीमा लगेपछि राजनीतिक शक्ति, पैसा र पहुँच प्रयोग गरेर जमानत, धरौटी र तारिखमा छोडिएर बर्सौंदेखि न्यायालयमा झुल्ने काम भइरहेको छ ।

एउटा मोटरसाइकलमा पाँचदेखि १० हजारसम्म बचत थियो । यहाँ बचतको कुरा त परै जाओस्, करोडौँ लगाएको पुँजी उठ्नेसमेत देखिएन । कम्पनीको जमानत र धरौटीमा रहेको करोडौँको जायजेथा उल्टै बेचेर व्यवहार मिलाउनुपर्ने भयो । सप्तरीको रूपनी गाउँपालिका–२ का अर्जुन रामको हालत पनि उस्तै भयो । उहाँले विदेशमा मजदुरी गरेर जम्मा गरेको केही पैसा थियो । सहरमा थोरै घडेरी किन्ने सोच बनाउनुभयो । जमिनको कारोबार गर्ने एक जना व्यापारीसँग उहाँको चिनजान भयो । ८० लाखको जमिन केही वर्ष उधारो पाउने आसमा ती व्यापारीलाई थप ऋण सापटी गरेर ५० लाख रुपियाँ नगद चेक जमानतमै दिनुभयो तर उहाँले न जमिन पाउनुभयो न त पैसा । चेक अनादर मुद्दा दायर गरी अदालत धाएको बर्सौं भएको छ । व्यापारीको आफ्नो तीन पुस्तामा पर्ने कोहीकसैको नाममा सम्पत्ति छैन । अरूकै नाममा सम्पत्ति राखेर जग्गा व्यवसाय गरेर धेरैलाई त्यसरी नै ठगी गरेको कुरा थाहा पाएपछि अर्जुनको परिवार तनावमा छ ।

पछिल्लो समय नेपालमा चेक अनादरको घटना तीव्र वृद्धि भएको छ । यो फन्दामा सर्वसाधारणदेखि साना, मझौला व्यवसायी तथा बैङ्क तथा वित्तीय संस्थासमेत परेका छन् । पछिल्लो समय आर्थिक मन्दीले चतुर मानिस गाउँघरमा पसेर सर्वसाधारणलाई विभिन्न लोभलालचमा पारेर खाली चेकबुकमा नक्कली हस्ताक्षर गरेर नगद लिने र ठगी गर्ने कार्य पनि बढेको छ । सप्तरीको बोदेबरसाइन नगरपालिका–३ का ट्याम्पोचालक घुरन मोचीले बरसाइन चोकमा रहेको एक कबाडी पसलेलाई घरमा रहेको तीन लाखसहित ऋण सापटी गरेर जम्मा पाँच लाख नगद दिनुभयो । कबाडी काममा धेरै कमाइ हुन्छ । त्यो व्यक्तिले विश्वासका लागि नाफाको पैसा बराबरी बाँड्ने सहमतिमा चेकबुकमा हस्ताक्षर गरेर दियो तर केही महिना नबित्दै कबाडीवाला आफ्ना सबै सरसामान बेचेर भाग्यो । अहिले ट्याम्पोचालक घुरन प्रहरी, प्रशासन र अदालत तथा बैङ्क धाउँदै हुनुहुन्छ । 

कर्जा सूचना केन्द्रका अनुसार पछिल्लो पाँच वर्षमा चेक अनादरका मुद्दा ३४ हजार ९३९ छन् भने व्यक्ति तथा संस्थागत रूपमा ६३ हजार ५३८ चेक कालो सूचीमा परेका छन् । आर्थिक रूपमा पछिल्लो चार वर्षमा मात्र चेक अनादरको बिगो ५८ अर्ब २९ करोड ३६ लाख ४८ हजार ६५२ रुपियाँ छ । यी तथ्याङ्कले के पुष्टि गर्छन् भने पछिल्लो समय अरू क्षेत्रको समस्याभन्दा यो क्षेत्रको समस्या भयावह रूपमा बढिरहेको छ । यतिबेला गाउँघर र सहरबजार यो समस्याले ग्रसित छन् । 

चेक अनादरको घटना वृद्धिले आर्थिक अपराधको अवस्था गम्भीर बन्दै गएको छ । मानिस समस्यामा पर्दै गएका छन् । हत्या, आत्महत्या जस्ता अपराधका घटनासमेत वृद्धि भएका छन् । चेक अनादरलाई कानुनले दोषी करार गर्दागर्दै पनि सचेत मानिस र व्यवसायीसमेत यसको फन्दा र लापर्बाहीको सिकार भएको देखिन्छ । कतिपय अवस्थामा मान्छे झुक्याउने र ठगी गर्ने आधार नै चेक लेनदेन घटना हुँदै छ । सरकारले बैङ्क तथा वित्तीय क्षेत्रलाई जति व्यवस्थित गरे पनि समस्याको दीर्घकालीन समाधान हुन सकेको छैन । नयाँ नयाँ समस्या झन् सृजित भइरहेका छन् । जसले गर्दा नागरिक र व्यवसायीले बैङ्क तथा वित्तीय संस्थामार्फत गरेको कार्यसमेत असुरक्षित भइरहेको छ ।

गत असोजको १५–१८ गते चार दिनको बिचमा अनलाइन बैङ्किङमार्फत सिटिजेन्स बैङ्कको खातामा रहेको तीन करोड ५१ लाख ५० हजार ३७२ रुपियाँ पाँच सयभन्दा बढी व्यक्तिको खातामा ट्रान्सफर भयो तर कसैले थाहा पाएनन् । प्रहरीले लामै अनुसन्धान गर्नु पर्‍यो । अनुसन्धानका क्रममा जुन खातामा पैसा पठाइएको थियो, ती खाता भेटियो तर कसरी पठाइयो र कसले पठायो भन्ने कुरा प्रहरीले पनि पत्ता लगाउन सकेन । यस्ता घटना बैङ्किङ तथा वित्तीय क्षेत्रमा आजकल भइरहेका हुन्छन् ।  नागरिकले हैरानी खेपिरहेका छन् किनभने गाउँघर र सहरमा पहिला जस्तो सानो रकम मानिससँग छैन । विभिन्न व्यवसाय, कारोबार र वैदेशिक रोजगारीका कारण ठुलो र मोटो रकमको बैङ्किङ कारोबार बढेको छ । असुरक्षाका कारण हरेक नागरिकले बैङ्किङ कार्यलाई सुरक्षित ठान्नुपर्ने बाध्यता छ ।

बैङ्क तथा वित्तीय संस्थाले राज्यको नियमपूर्वक खाता खोलेर नागरिकको बचत पैसाले आफ्नो बिजनेस चलाउँछन्, कर्मचारी पाल्छन् । सरकारलाई कर तिर्छन्, ऋण प्रवाह गर्छन् र मुनाफा कमाउँछन् । यतिसम्म कि नागरिकले नै गरेको आफ्नो बचतबाट नागरिकले नै चर्को ब्याजदरमा ऋण पाउने स्थितिको सामना गरिरहेका छन् । यो व्यावसायिक चक्रीय नियम होला तर नागरिकको पैसाले यतिसम्म गर्दा पनि समस्या परेका बेला नागरिकलाई कसैले चिन्दैनन्, कसैले झेल्दैनन् । चेक अनादर जस्ता समस्या पर्दा त्यही बैङ्कले असुली गर्ने जिम्मेवारी लिँदैन । कानुनी प्रक्रियामै जानुपर्ने बाध्यता छ । जसले गर्दा नागरिक दोहोरो समस्या झेलिरहेका छन् ।

नागरिकले सबैको भार थाम्छन् तर नागरिकको भार र समस्या थाम्ने र जिम्मेवारी लिने कोही पनि छैनन् । प्रक्रिया र लामो उल्झनमै सीमित छन् नागरिकका समस्या । प्रहरी, प्रशासन र अदालतको लामो प्रक्रियाले नागरिक हैरान छन् । उच्चतम प्रविधिको युगमा पनि राज्य, नागरिक र व्यवसायीबिच हुनुपर्ने आपसी सद्भाव, आत्मीयता र अन्तर्घुलनमा ठुलो कमी छ । सेवाभन्दा एकअर्काले आफ्नो स्वार्थ पूरा गर्ने दाउ मात्र खोजिरहेका हुन्छन् । जसले राज्यको अर्थतन्त्रलाई निकै कमजोर बनाएको छ । मानवीय संवेदना हराएको स्थिति छ ।

पछिल्लो समय राजनीतिक अस्थिरता, ऐन, कानुनी र नियमले एउटा व्यक्ति र परिवार कालो सूचीमा परे पनि ती व्यक्तिले पुरानो नागरिकता त्यागेर वा नत्यागेर कानुनी छिद्र र पहुँचका आधारमा अर्को नागरिकता बनाउने र नयाँ कारोबार गर्ने अर्थात् आफू र आफ्नो परिवार कानुनी रूपमै सुकुमवासी भएर पनि आफन्त, साथीभाइका नाममा आफ्नो कारोबार गरेर पीडित र राज्यलाई चुनौती दिइरहेका हुन्छन् । राज्य र सरकारले यसलाई बेलैमा नियमन र नियन्त्रण गर्न जरुरी छ ।