गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १५ गते । घुन्साखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । लक्ष्मी सन्राइज बैङ्क लिमिटेडको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैङ्कहरू र रेमिट हाइड्रोबिच उक्त आयोजनामा १८ अर्ब १३ करोड रुपियाँ लगानी गर्ने सम्झौता भएको छ ।
घुन्साखोला जलविद्युत् आयोजनाले २०७९ साउन ८ गते विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमतिपत्र लिनुका साथै गत वैशाख २१ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौतासमेत गरिसकेको छ ।
कम्पनीको मुख्य प्रवर्धकका रूपमा नेपाल विद्युत् प्राधिकरण, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी र विद्युत् उत्पादन कम्पनीको संयुक्त लगानी ५१ प्रतिशत हुने बताइएको छ ।
परियोजना निर्माणका लागि लक्ष्मी सन्राइज बैङ्कको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैङ्कले परियोजना लागतको ७० प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी ३० प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा साधारण प्रवर्धकहरूबाट लगानी रहने छ ।
लक्ष्मी सन्राइज बैङ्कको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता पाँच अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैङ्क तथा वित्तीय संस्थामध्ये हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको तीन अर्ब, नागरिक लगानी कोषको दुई अर्ब, माछापुच्छे« बैङ्कको एक अर्ब ४४ करोड र एभरेस्ट बैङ्कको एक अर्ब २५ करोडसमेत गरी जम्मा १२ अर्ब ६९ करोड ४० लाख रुपियाँ रहेको छ । आयोजना डिसेम्बर २०३० भित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन भएपछि वार्षिक करिब ४६२.२८ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुने जनाइएको छ ।