रेखीराम राना
तानसेन, माघ १३ गते । पाल्पाका दश हजार बढी छात्राहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप (एचपिभी) लगाइने भएको छ । जिल्लाका दश पालिकाभित्रका विभिन्न विद्यालयमा अध्ययन्रत कक्षा ६ देखि कक्षा १० सम्मका १० हजार ४५८ जना छात्रालाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
कार्यालयका अनुसार माघ २२ गतेदेखि २७ गतेसम्म रामपुर नगरपालिका, निस्दी, पूर्वखोला, रम्भा र माथागढी गाउँपालिकाका छात्राहरूलाई खोप लगाइनेछ । यस्तै दोस्रो चरणअन्तर्गत माघ २८ देखि फागुन ६ गतेसम्म तानसेन नगरपालिका, बगनासकाली, रिव्दीकोट, तिनाउ र रैनादेवी छहरा गाउँपालिकाका विद्यालयमा अध्ययन्रत छात्राहरूलाई खोप लगाइने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख टुकप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
खोप अभियानका लागि जिल्लाका ३१५ जना तालिमप्राप्त स्वास्थ्यकर्मी र ६२७ जना स्वयम्सेवक खटिने छन् । खोप अभियानका लागि जिल्लाका विभिन्न स्थानका विद्यालयमा २०४ वटा र विद्यालयभन्दा बाहिर ३१ वटा खोप केन्द्र रहने पोखरेलले जानकारी दिनुभयो । पाल्पामा विद्यालयमा जानेबाहेक थप ७० जना विद्यालयबाहिरका किशोरीलाई खोप लगाइनेछ ।
खोप अभियान प्रभावकारी बनाउन सरोकारवालालाई अभिमुखीकरण, खोपबाट हुन सक्ने समस्या समाधानका लागि चिकित्सकसहितको टोली परिचालन गरिने खोप कार्यक्रमका फोकलपर्सन विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेले गर्भवती, क्यान्सर रोगी र सिकिस्त बिरामी बाहेक सबै लक्षित छात्राहरूलाई खोप लगाउन हुने जानकारी दिनुभयो ।
यसैबिच खोप कार्यक्रम प्रभावकारी बनाउन जिल्लास्थित खोप समन्वय समितिको वैठक तथा सञ्चारकर्मीलाई अभिमुखीकरण कार्यक्रम गरिएको छ । आइतबार तानसेनमा भएको कार्यक्रममा महिलाको पाठेघरको मुखको क्यान्सरबाट जोगाउनका लागि खोप कार्यक्रमलाई प्रभावकारी बनाउनु सबैको दायित्व रहेकोमा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले जोड दिनुभयो ।
खोप कार्यक्रममा लक्षित समूहका छात्राहरूलाई अनिवार्य रुपमा सहभागी बनाउने गरी सबैको एकीकृत पहल आवश्यक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीले स्वास्थ्य क्षेत्रमा राज्यले गरेको करोडौँको लगानीले भविष्यमा सकारात्मक प्रभाव पार्ने विस्वास व्यक्त गर्नुभयो ।