जब औसत आयुको कुरा आउँछ मानिसको ८० वर्ष उमेर ग्रिनल्यान्डको समुद्रमा विचरण गर्ने सार्क वा ‘ग्लास स्पन्ज’ सँग दाँज्दा तिनले आँखा झिम्काएको जस्तै भन्न मिल्छ । पशुको संसारमा लामो आयु दुर्लभ नै हुने भए पनि केही यस्ता जीव छन् जो असाधारण रूपमा दीर्घजीवी छन् । तिनीहरूमा भएका जिनको ताकतले क्यान्सर वा स्नायुतन्त्रका गम्भीर रोग विकास हुन पाउँदैन र बुढ्यौली पनि कोसौँ पर रहन्छ ।
ग्लास स्पन्ज (११ हजार वर्ष)
जीव संसारमा कोरल र स्पन्जहरूलाई पृथ्वीमा सर्वप्राचीन जीव मानिएको छ । स्पन्जले समुद्रको पानीबाट खनिज तत्व अवशोषित गरी आफ्नो वरिपरि कडा कवच तयार पार्छन् । ग्लास स्पन्जमा शुद्ध सिलिकाले बनेको सिसा जस्तो अस्थिपञ्जर हुन्छ । यो जीव ६५ करोड वर्षपहिले पृथ्वीमा विकास भएको अनुमान गरिन्छ । त्यतिबेला डायनोसरसमेत पृथ्वीमा थिएनन् । वैज्ञानिकले ग्लास स्पन्ज धेरै पहिले लोप भइसकेको ठानेका थिए तर सन् १९८७ मा क्यानडाको गहिरो समुद्रको पिँधमा ग्लास स्पन्ज फेला पर्यो र यसको संरक्षणमा उपाय अपनाउन थालियो । सन् २०१२ मा आएर मात्र वैज्ञानिकले यस जीवको आयु अनुमान लगाउन सकेका थिए ।
महासागरीय क्वाहग (कम्तीमा पाँच सय वर्ष)
रबर जस्तो लाग्ने क्वाहग पृथ्वीमा पाइने एक सर्वप्राचीन मोलास्क मानिन्छ । क्वाहग उत्तरी आन्ध्र महासागरमा पाइन्छ । त्यहाँ माझीले बयस्क भइसकेका क्वाहग, ६० वर्ष पुगेका मात्र शिकार गर्न पाउँछन् । विस्तारै बढ्ने यी मोलास्क हामीले सोचेभन्दा धेरै पुराना छन् ।
सन् २००६ मा वेल्सको बाङ्गर विश्वविद्यालयको अनुसन्धान टोलीले आइसल्यान्डको तटीय क्षेत्रमा ठूलो क्वाहग फेला पारेको थियो । शक्तिशाली सूक्ष्मदर्शक यन्त्र प्रयोग गरेर हेर्दा क्वाहगको कवचमा धेरै रिङ देखियो । जसले त्यसको उमेर बताउँथ्यो । सबै रिङ गणना गर्दा क्वाहग ५०७ वर्ष उमेरको पाइयो । त्यस क्वाहगलाई अनुसन्धान टोलीले मिङ नाम दिए किनभने इस्वी संवत्को १४ औँ शताब्दीमा मिङ राजवंश अस्तित्वमा रहेका बेला यसको जन्म भएको रहेछ ।
ग्रिनल्यान्ड सार्क (चार सय वर्षभन्दा बढी)
सार्कका प्रजातिमा ग्रिनल्यान्ड सार्क सबैभन्दा धेरै बाँच्ने गर्छ । विशालकाय यो माछा आफ्नो सम्पूर्ण जीवन गहिरो आर्कटिक समुद्रमा बिताउँछ । तेज पौडने यो सार्कको आकार प्रतिवर्ष एक सेन्टिमिटरभन्दा कम बढ्छ ।
सन् २०१६ मा वैज्ञानिकहरूले यस सार्कको आयु पत्ता लगाएका थिए । यो सार्क २० फिटसम्म लामो हुन्छ । अन्य सार्कको आयु त्यसका मेरुदण्डमा रहने रुखका रिङ जस्ता आकारलाई गणना गरेर पत्ता लगाइन्छ तर ग्रिनल्यान्ड सार्कको शरीरमा कडा तन्तु नै हुँदैन । त्यस कारण वैज्ञानिकले कार्बन डेटिङको सहारामा ग्रिनल्यान्ड सार्कको आयु पत्ता लगाउँछन् । यस सार्कको आँखामा विशेष खालको प्रोटिन हुन्छ । जो कहिल्यै क्षय हुँदैन । १५० वर्ष पुगेपछि मात्र यस सार्कमा यौन परिपक्वता विकास हुने गर्छ ।
–युवामञ्च