पर्वत समाचारदाता
पर्वत, माघ १३ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले युवालाई देशमा बसेर पनि केही गर्न सकिन्छ भन्ने बनाउन रोजगार प्रवर्धन गर्ने खालका कार्यक्रम ल्याउने गरी बजेटको तयारी गरिने बताउनुभयो ।
शुक्रबार पर्वतको जलजला गाउँपालिका–१, बाँसखर्कमा आयोजित बाँसखर्क सुन्तला महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले देशमा बसेर पनि केही गर्न सकिन्छ भन्ने युवाका लागि रोजगारीमार्फत देशमै भविष्य खोज्न प्रोत्साहित गरिने बताउनुभएको हो । उहाँले कृषकलाई उत्पादनका आधारमा अनुदान व्यवस्था गर्ने गरी कार्यविधि ल्याउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कामै नगर्ने कृषकले अनुदान लैजाने र काम गर्ने कृषकले अनुदान नपाउने गरेकाले त्यसलाई निरुत्साहित गरी उत्पादन गर्ने कृषकलाई अनुदान दिने व्यवस्था गर्र्छौं ।” मुख्यमन्त्री पाण्डेले बाँसखर्कको प्रमुख उत्पादन सुन्तलाको बजारीकरणमा सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तह र प्रदेशको समन्वयमा सडक र सिँचाइको प्रबन्ध गराउँछौँ ।”
कार्यक्रममा कृषि, भूमि तथा सहकारीमन्त्री पदमा जिसी श्रेष्ठले सुन्तला खेती विस्तार र बजार प्रवर्धनका लागि बाँसखर्कलगायत जलजला गाउँपालिकामा पहाडी काष्ठफल विकास परियोजना (नाफा) लागु भएको र सोमार्फत नै कृषकलाई विभिन्न शीर्षकमा अनुदान दिइने बताउनुभयो ।
कार्यक्रममा बोल्दै उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले बाँसखर्कलाई सुन्तला पर्यटनका रूपमा विकास गरी अगाडि बढाउन आवश्यक सहयोग गर्ने बताउनुभयो । बाँसखर्कमा २३९ घर रहेकोमा अधिकांश घरपरिवारले सुन्तला खेती गर्ने गरेका छन् । यस वर्ष मात्रै बाँसखर्कमा सुन्तला बिक्रीबाट २० करोड रुपियाँभन्दा बढी आम्दानी हुने आकलन गरिएको छ । बाँसखर्कमा यस वर्ष सुन्तलाको बजार मूल्य १३५ प्रतिकिलो रहेको छ । यहाँको एक हजार पाँच सय रोपनी क्षेत्रफलमा सुन्तला खेती गरिएको छ ।