• १४ माघ २०८१, सोमबार

भूकम्प प्रभावित क्षेत्रबाट फर्किंदै दाता

blog

जाजरकोट समाचारदाता 

जाजरकोट, माघ १३ गते । जाजरकोट भूकम्पपछि जिल्लामा आएका दाता धमाधम फिर्ता हुन थालेका छन् । धेरै जसो दाता तथा विकास साझेदारको समयावधि सन् २०२४ को डिसेम्बरसम्म भएकाले उनीहरूले परियोजना स्थानीय तहलाई हस्तान्तरण गर्दै फर्किन थालेका हुन् । 

दाता फर्केसँगै यहाँका दुई सयभन्दा बढी स्थानीय रोजगारबाट विमुख भएका छन् । यसरी दाताका परियोजना फिर्ता हुन थालेपछि भूकम्प प्रभावित क्षेत्रका स्थानीय निराश हुन थालेका छन् । जाजरकोट भूकम्पपश्चात् प्रभावित क्षेत्रमा विभिन्न परियोजनामार्फत नमुना आवास, अस्थायी आवास, विद्यालयमा अस्थायी सिकाइ केन्द्र, खानेपानी तथा सरसफाइ, आयआर्जन, मनोसामाजिक परामर्श जस्ता कार्यक्रम सञ्चालन हुँदै आएका थिए । 

जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले भूकम्प प्रभावित समुदायका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका परियोजना अवधि सकिएर फिर्ता भइरहेको जानकारी दिनुभयो । भूकम्पपछि जाजरकोटमा तत्काल राहत तथा पुनर्लाभका लागि सयभन्दा बढी दाता तथा विकास साझेदारबाट सहयोग प्रदान भएको थियो । 

जिल्लामा संयुक्त राष्ट्रसङ्घीय विकास एजेन्सी तथा अन्य दातृ निकायको ठुलो मात्रामा परियोजना सञ्चालन भएका थिए । जिल्लामा युएनडिपी, युनिसेफ, आइओएम, युएनएफपिए, डब्लुएफपी जस्ता एजेन्सीले संयुक्त रूपमा जाजरकोट पुनर्लाभ परियोजना सञ्चालन गरेका थिए ।