• १४ माघ २०८१, सोमबार

हाफ म्याराथनमा राजन र सन्तोषी च्याम्पियन

blog

उपाधि विजेता राजन रोकाय र सन्तोषी श्रेष्ठ ।

काठमाडौँ, माघ १२ गते । त्रिभुवन आर्मी क्लबका राजन रोकाय र धादिङकी सन्तोषी श्रेष्ठले राइट टु प्रोटिन रन हाफ म्याराथन उपाधि जित्नुभएको छ ।

शनिबार भएको दौडमामा पुरुषतर्फ राजनले निर्धारित दूरी एक घण्टा ६ मिनेट १० सेकेन्डमा पूरा गर्नुभयो । आर्मीकै खडक बहादुर खड्का दोस्रो र वाहोमका जुलियस मुर्कुली तेस्रो हुनुभयो । 

यस्तै महिलातर्फ ओलम्पियन एक सन्तोषीले एक घण्टा २० मिनेट ४८ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै उपाधि जित्नुभएको हो । आर्मीकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो र एपिएफ क्लबकी पुष्पा भण्डारी तेस्रो हुनुभयो ।

नेपाल भेटेनरी सङ्घले आयोजना गरेको राइट टु प्रोटिन रनको‌ विजेता सन्तोषी र राजनले जनही एक लाख ५० हजार रुपियाँ पुरस्कार पाउनुभयो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु भएर विभिन्न स्थान हुँदै सोही ठाउँमा पुगेर सकिएको थियो ।

दौडमा खुला हाफ म्याराथन, १० किमी पुरुष, पाँच किमी महिला, कक्षा १२ सम्म विद्यार्थीका लागि पाँच किमी (छात्र), तीन किमी (छात्रा) र ह्विलचियर (महिला र पुरुष) दौड तथा बालबालिकाका लागि ‘रन फर फन’ विधा पनि समावेश गरिएको थियो । 

विजेतालाई कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलगायतले पुरस्कार प्रदान गर्नुभयो ।