• १४ माघ २०८१, सोमबार

मैले नचाहेको हत्या [कथा]

blog

पढ्ने, जागिर खाने र ठुलो मानिस बन्ने चाहनामा मैले आफ्ना बाबुआमाको न्यानो काख चटक्क बिर्सेर सहर पसेको थिएँ । पूजनीय बाआमाको अर्तीउपदेशलाई टेरपुच्छर नलगाई सहर पलायन भएका थुप्रैमध्येको म पनि एक हुँ । मैले मेरा बाआमाको उपदेशलाई कहिल्यै स्वीकार गरिनँ । सदा तिरस्कार नै गर्दै आएँ । मलाई उहाँहरूले दिएका अर्तीउपदेश त्यतिबेला अति नै कर्णकटु लागेका थिए । उहाँहरूले सम्झाउँदा रिसको झोँकमा मैले घरमा भएका कति सामान तोडफोड गरेँ, बिगार गरेँ । कहिलेकाहीँ त मनभित्र रिसको बाढी उर्लेर आउँथ्यो वर्षात्का दिनमा बागमती नदी उर्लेर आए झैँ । मैले रिसको आवेगमा कैयन् पटक नमिठा बोली पनि बोलेको छु । अहिले विगत सम्झँदा मलाई घृणाबोध हुन्छ ।

त्यतिबेला मलाई म जस्तो जान्नेबुझ्ने र बलियो कोही छैन जस्तो लाग्दथ्यो । सायद सबैलाई यो किशोर अवस्थामा त्यस्तै हुन्छ कि थाहा छैन । त्यसैले मैले धेरैको अगाडि घमण्डसाथ भन्ने गर्थें, “म तिमीहरूलाई हत्केलामा नचाउन सक्छु ।” मैले त्यतिबेला गरेका हरेक क्रियाकलाप सम्झँदा अहिले आफूलाई धिक्कार ठान्दछु । विगतका कार्यहरूप्रति मलाई लज्जाबोध हुन्छ । म त्यतिबेलाका हरेक घटनाको परिणाममा अहिले पनि भावविह्वल हुने गरेको छु । अतीतलाई सम्झन्छु, अतीतमा आफूले गरेका गलत कार्यप्रति लज्जित हुन्छु । भित्र भित्रदेखि नै पश्चात्तापको अग्निमा जल्न पुग्दछु म । न मैले आफ्ना आमाबाको अगाडि झुकेर व्यवहार गरेँ न उनीहरूको चहराइरहेको घाउमा मलमपट्टी नै गर्र्न सकेँ । मेरो मनले सधैँ मलाई धिक्कार्छ । म आफैँलाई नै प्रश्न गर्छु, “आफ्ना आमाबाबुको मर्म नबुझ्ने पनि के छोरो ?” आफैँले आफूलाई धिक्कार्नुबाहेक अरू केही विकल्प नै छैन मसँग । 

मैले जे गरेको थिएँ, त्यो सबै एउटी नारीको मायाजालमा फसेर गरेको थिएँ । म उनको त्यो त्यस्तो कुन रवैयामा मोहित भएर सहर पसेको थिएँ, मैले आजसम्म पनि बुझ्न सकेको छैन । जुन सम्झँदा पनि मलाई अहिले पश्चात्ताप लाग्दछ तर पनि म केही गर्न सक्दिनँ । म दुईखुट्टे निरीह पशु साबित भएको छु । त्यो अविवेकी तर म विवेकी मानिसको प्रतिनिधि भएर पनि अविवेकीको नाटक गरिरहेको छु । पश्चात्तापको अग्निमा जलेर पनि मेरो मनमा शान्तिको अस्तु पनि बचेको छैन । आफ्नो र अरू छुट्याउन सकिनँ मैले । माया, ममता र नाताको परबाह भएन मेरा लागि । सहर छिरेको केही दिनमा नै उनले बाआमालाई भनेर एउटा घर किन्न लगाइन् । अहिले म त्यही घरमा बस्छु । मेरो पौरखको घर कहाँ हो र त्यो । त्यो त उनको घर हो । त्यो घर मेरा लागि घर जस्तो छैन, भूतघर जस्तो बनेको छ । कसैले ‘घर कस्तो हुनु पर्छ’ भनेर सोध्यो भने मसँग दिने कुनै उत्तर नै छैन । घरमा भएका नोकरचाकरभन्दा पनि कता कता मेरो दर्जा तल्लोस्तरको हो कि भन्ने महसुुस हुन्छ मलाई । बिहान उठ्नेबित्तिकै मलाई दैनिक रूपमा चियानास्ता र खाना मिल्छ । त्यसपछि म आफ्नो अफिस जान्छु, अनि साँझ अफिसबाट फर्कन्छु । उही दैनिक तालिका अनुसार केही खाजाका साथै खाना मिल्छ । यसरी नै मेरो दिनचर्या बितेको छ । दिन, हप्ता, महिना र वर्ष यसै गरी नै क्रमशः ...। हप्ताको एक दिन ह्याङ्गरबाट मेरा मैला कपडा झिकिन्छन् र औपचारिकताका लागि ती धोइन्छन् ।

उनी र मबिच त्यस्तो कुनै झैझगडा र मनमुटाव छैन तर पनि यस्तो किन हुने गर्दछ । आखिर उनी र मबिच समझदारीमै विवाह भएको थियो । अझ भन्नुपर्दा उनले नै मन पराएर मैले बिहे गरेको हुँ । विवाह भएको लामो समय बितिसक्दा पनि हामीबिच किन यस्तो मन मुटाव ? मेरो मनमा यो प्रश्नले कति वर्षदेखि डेरा जमाएको छ । मैले त्यसको केही कारण बुझ्न सकेको छैन । कारणको पछि लाग्ने हो भने ठुलो हङ्गामा मच्चिन्छ घरमा अनि नानाथरीका गनगन सुरु हुन्छ । विडम्बना चुप लागेर बसूँ भने पनि कति बसूँ । सहनु पनि एउटा सीमा हुन्छ नि कति सहने ? कहिलेसम्म सहने ? सहाइको यति पत्र चुलिएको छ मेरो मनमा त्यो चुलिँदा चुलिँदा सगरमाथालाई पनि माथ दिन सक्ने भइसकेको छ । 

एक मनले भन्ने गर्छ, “तोड्दे त्यो बन्धनलाई र स्वतन्त्र तवरले बाँच् । वास्तवमा जीवनको मज्जा नै त्यहीँ छ । जहाँ स्वतन्त्रता छ । पिँजडाभित्रबाट संसार हेरेर रमाउने होइन, बाहिर निस्केर रमाउनु पर्छ । अनि त्यसरी रमाउनुमा जति स्वर्गीय आनन्द हुन्छ नि अरू केहीमा पनि हुँदैन ।” ममा त्यो बन्धन तोड्ने साहस पनि छैन । म निरीह बनेर दिन काटिरहेको छु । मेरो मन पनि स्वयम् मेरो नियन्त्रणमा नभए झँै लाग्दछ । स्वतन्त्रता कुन चराको नाम हो । म त्यसमा अनभिज्ञ छु । जसको फलस्वरूप म आफ्ना चाहना र इच्छालाई मनभित्र गुम्स्याएर बाँच्न विवश छु । विवशतामा बाँच्नु पर्दा म आफैँदेखि साह्रै लज्जित भएको छु । सायद हाम्रा पारिवारका बिचमा आकाश जमिनको अन्तर भएर हो ।

समाजले मेराबारेमा धेरै कुरा काटेको सुनेको छु । मलाई विभिन्न उपनाम दिएका छन् । तिनीहरूले मलाई दिएको जोईटिङ्गे्रको उपमा म सहर्ष स्विकार्न तयार छु । आजसम्म मैले उनका कुरा काट्ने दुस्साहस गर्न सकिनँ । मैले उनका कुरामा कहिल्यै विमति जनाउन सकिनँ । मेरो यही नरम स्वभावमा उनले मेरो कमजोरीमाथि खेलेकी त होइनन् ? मेरो कमजोरीमाथि उनले राज गरेकी हुन् वा उनले मलाई जोईटिङ्ग्रे साबित गरेकी हुन् ? के उनले आधुनिक महिलाको नवीन भाष्य खडा गर्न खोजेकी त होइनन् ?

मैले आफूलाई मर्द वा छुट्टै प्रवृत्तिको पुरुष साबित गर्ने प्रयास पनि नगरेको होइन, कता कता उनको अगाडि म गरुडको छाया परेको सर्प जस्तो पो हुन पुग्छु । “के कारणले यस्तो हुने गर्दछ मलाई नै थाहा छैन । कुन जैविक तत्वको अभाव छ ममा ?” म आफैँलाई बारम्बार यही प्रश्न गर्छु । 

यस्तो कैयन् कुरा सोच्दासोच्दै समयका कति पत्र फेरिए । भन्दछन्, ‘समय सधैँ एकनासको हुँदैन’ तर मेरा लागि त समय एउटै बिन्दुमा अडिग भए झैँ लाग्दछ । ऋतु बदलिन्छन्, प्रकृति परिवर्तन हुन्छ । प्रभात पनि गोधुली हुँदै कालो रातमा परिणत हुन्छ । त्यस्तै बालक पनि बढ्दै युवा हुन्छ र एक दिन वृद्ध हुन पुग्छ । हरेक चिज परिवर्तन हुने यस जगत्मा म भने कस्तो मनुष्यरूपी जीव रहेछु । ममा परिवर्तनको सूक्ष्म शिखा पनि देख्न नसक्दा मलाई आफैँमा कत्ति प्रश्न सोध्न मन लाग्दछ तर म आफूलाई सदा निरुत्तर पाउँछु । 

उमेर बढ्दै गएपछि मानिसमा थप समस्या देखिन्छन् । स्वाभाविक रूपमा रोगले ग्रसित बनाउँदो रहेछ । आमा पनि बिरामी हुनुभयो । उपचारकै सिलसिलामा विभिन्न आशा बोकेर आमा सहर आउनुभयो भाइको साथ लागेर । जुन सहरमा हामी रहन्थ्यौँ ।  जब आमाले घरमा पाइला टेक्नुभयो । मेरा मनमा हर्षका लहर उठे । म आमाको मातृवात्सल्यको लहरमा डुबुल्की मार्दै धेरै टाढा टाढासम्म पुगेँछु । मलाई स्वर्ग नै मेरो घरभित्र प्रवेश गरे जस्तो लाग्दथ्यो । स्वयम् भगवान् विराजमान भएको मेरो घर आज मन्दिर जस्तो लागेको छ मेरा लागि । हामीबिचमा धेरै कुराकानी भए । घरपरिवार, गाउँ, छरछिमेक सबैका बारेमा हामीले निकैबेर कुरा ग¥यौँ । त्यो साँझ साँच्चै नै मेरा लागि अविस्मरणीय बन्न पुग्यो । मनले कल्पना गरिरह्यो, “यस्ता साँझ जीवनभरि आइरहून् । कहिल्यै पनि यस्ता साँझबाट कोही पनि सन्तान टाढा हुन नपरोस् ।” 

बिछ्यौनामा पल्टेर सोच्दासोच्दै म कतिबेला निदाएँछु । चराको चिरबिर आवाजसँगै ब्युँझिएँ । आमासँगै बसेर चिया पिएँ । आमा पनि ज्यादै खुसी देखिनुहुन्थ्यो । अफिस जानेबेलामा “दुई÷चार दिन मलाई अफिसमा कामको अलि चाप बढेको छ, आमालाई राम्रोसँग चेकजाँच गराउनू है बाबु” भन्दै भाइको हातमा केही रुपियाँ राखिदिएँ । भाइले पनि “हुन्छ दाइ” भनी स्वीकृतिमा टाउको हल्लायो । मेरो मनले सोच्यो, “आमालाई अब गाउँ जान दिनुहुँदैन । यही राखेर उपचार गराउनुपर्छ ।” मलाई ज्यादै खुसी लाग्यो । निकै वर्षपछि आमासँग भेट हुँदा । खुसीले अफिसको काम पनि सहजै सम्पन्न भयो । समय बितेको पत्तै भएन ।  विडम्बना भनूँ कि अरू नै के भनूँ आमा र भाइ घरमा पसेदेखि घरमा कहिल्यै नबज्ने भाँडा बज्न थालेका थिए । ठाकठुक आवाज सुनिन थालेको पनि केही दिन भएको थियो । मैले सहन सकिनँ र सबैका अगाडि उनलाई एक दिन हपारेँ, “सरु तिम्रो चाला के हो ? यी पराइ त होइनन् नि ?” मेरो आवाज नसकिँदै प्रत्युत्तर आयो, “मैले हजुरका आमाभाइ होइनन् भनेको कहाँ हो र ?” 

“उसो भए के भन्न खोजेकी त ? उपचारका लागि केही दिन यहाँ बस्दा हामीलाई के नै अप्ठ्यारो पर्छ र ?” मैले कडा स्वरमा सरुलाई हपारेँ । उनले पनि हातको सामान टेबुलमा राख्दै अलि कडा स्वरमा भनिन्, “अप्ठेरो कसलाई परेको छ पर्नेलाई मात्र थाहा होला ? कसलाई फुर्सद छ र यी बुढाबुढीको रेखदेख गर्न ।”  सरु अर्थात् बुहारीका कुरा सुनेर आमालाई पनि असह्य भयो । धेरै दिनदेखिका सरुका वचनले गर्दा आमाको मनमा एक प्रकारको असन्तुष्टि जमेर बसेको थियो । ज्यादै नै असह्य भएपछि आमाले भन्नुभयो, “मलाई तिमीहरूको रेखदेख चाहिन्न बा । म त उपचारका लागि केही दिन यहाँ बस्न आएकी हुँ । म दुःख दिन आएकी होइन नि ? म बरु उतै मर्थें नि, नजाऊँ भन्दाभन्दै किन ल्याइस् रामु ? सहरमा दाजुभाउजू छन् भनेर ल्याएको होइनस् तैँले ? म यहाँ बस्दिनँ मलाई लैजाऊ, म अब यहाँ बस्न सक्दिनँ ।” आमाले आँखाभरि आँसु पार्दै गुनासो गर्नुभयो । मैले केही गर्न सकिनँ केवल टुलटुलु हेरेर बसिरहेँ मात्र । 

बुहारीको वचनले आमाको आँखाबाट असह्य आँसुका धारा बगिरहे, रोकिएनन् । हिमालका हिमनदी रोकिन सक्छन् । बहेको हावा पनि थामिन सक्दछ तर आमाको आँसुको धारा रोकिएन । भाइले आमाको आँखाको आँसु पुछ्दै भन्यो, “आमा नरुनुहोस्, कमजोरी बढ्छ ।” म केही नबोली आमाकै नजिक बसेँ । रुँदारुँदै आमा निदाउनुभयो । “जे भो अन्यथा नठान्नू, आमालाई पनि सम्झाउनू है बाबु” रामुलाई यस्तै यस्तै सान्त्वना दिएर म अफिसतिर लागेँ । चाहेर पनि मैले आमा र भाइलाई भन्नुपर्ने धेरै कुरा भन्न सकिनँ मनभित्र नै बाँकी रहे । 

दिनभरि अफिसमा काम गर्न मन लागेन वरपरको वातावरण पनि धमिलो जस्तो लाग्यो । कता कता आफ्नै मन पनि हराए झँै भयो । समय कसरी बित्यो पत्तै भएन । कार्यालय छुट्टी भयो, साँझपख घर आएँ । आमालाई भेट्ने उमङ्गका साथ कोठाभित्र छिरेँ । कसैलाई पनि देखिनँ । वल्लोपल्लो कोठातिर नजर दौडाएँ । गह्रौँ मन लिएर सोफाको एक छेउमा गएर बसेँ । अनायास कागजको चिर्कटोमा आँखा प¥यो । त्यो खोलेर हेरेँ, भाइले लेखेको रहेछ–

दाइ, 

कत्रो आस लिएर हामी यहाँ आएका थियौँ तर आशा सबै निराशामा परिणत भए । त्यसैले आजै आमाले गाउँ फर्कने निर्णय गर्नुभयो । त्यसैले म आमालाई लिएर गाउँतिर हिँडेँ । दाइ, साह्रै खुसी लागेको छ, तपाईंको उन्नति र प्रगति देखेर तर मनभित्र भने चोटको ठुलो पहिरो गएको छ । भैगयो त्यो दोष तपाईंको होइन, समयको हो कि ? वा सहरिया खानदानी सभ्य भनाउँदो समाजको हो । हामी गाउँलेहरूले धेरै सिक्न बाँकी रहेछ सहरबाट । हामी गाउँले धेरै पछाडि रहेछौँ । त्यसैले आफ्ना आमाबाबु नचिन्ने समाज, छोराबुहारी एवं दाजुभाइका अभावका कारण हामी गाउँ फर्किएका हौँ । दुई÷चार दिनको आश्रयका लागि मुरीमुरी धन्यवाद ।

उही भाइ 

रामु

पत्र पढ्दापढ्दै रिँगटा लागेर आयो मलाई, म ओछ्यानमा पल्टिएँ । मेरा हातगोडा पुस माघको चिसोले काँपे झैँ लुग लुग काँप्न थाले । आफैँले आफैँलाई कोपर्न मन लाग्यो, चिथोर्न मन लाग्यो । ठुलो स्वरमा चिच्याउन मन लाग्यो । टुक्राटुक्रा पारौँ जस्तो लाग्यो आफूले आफैँलाई । अन्ततः म मनदेखि नै आफूलाई धिक्कार्छु, “म....। मैले जन्मदिने आमालाई गरेको व्यवहार । मैले केही गर्न सकिनँ । म नालायक हुँ । मैले सरुलाई सम्झाउन सकिनँ । आखिर किन ?”

आफ्नो नामर्दपनदेखि मलाई घृणा जागेर आयो । मेरो मन मलाई धिक्कार्दै भन्छ, “यसरी बाँच्नुको के सार । यो बचाइको के अर्थ ?” एउटा सन्तानले आफ्नो आमाबाबुप्रति गर्नुपर्ने कर्तव्य गर्न मैले नसक्दा मभित्र हीनताबोध बढेको छ । म आमा र भाइका नजरबाट गिरेँ । 

मेरो गिराइको कुनै मापन छैन, असीमित अगणनीय गिरावटले मेरो मृत्युलाई उछिनिसकेको भान हुन्छ मलाई । म जिउँदो लास बनेको छु । म बाँच्नुको कुनै सार छैन । मलाई नै थाहा छैन, किन म अझै बाँचेको छु । केका लागि बाँचेको छु ? यो प्रश्नचिह्न बनेर खडा भएको छ मेरो जीवनमा । म बाँचेको अनुभूति कसलाई भएको छन आमालाई न भाइलाई अनि म आफैँलाई ? लाग्छ, नैतिकता र कर्तव्यको हत्यासँगै मैले नै मेरो हत्या गरेको हुँ । त्यो स्वाभिमानको हत्या जुन मैले नचाहेको हत्या थियो ।