• १४ माघ २०८१, सोमबार

कम्युनिस्ट एकताको सैद्धान्तिक विमर्श

blog

कम्युनिस्ट पार्टी श्रमजीवी वर्गको मुक्ति र समृद्धिका निम्ति निर्माण गरिएको राजनीतिक संस्था हो । कम्युनिस्ट पार्टीको मुख्य लक्ष्य वैज्ञानिक समाजवाद निर्माण गर्नु हो । कम्युनिस्ट पार्टी सिद्धान्त अनुरूप निर्माण, विकसित र सिद्धान्त अनुरूप नै अन्त्य पनि हुन्छ । कम्युनिस्ट पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद हो । यसको विश्व दृष्टिकोण निर्धारण गर्ने दर्शन द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद हो । वर्गमा विभाजित समाज रहँदासम्म कम्युनिस्ट पार्टीको अस्तित्व रहने छ । समाजवाद विकसित भएर जब राज्यको अस्तित्व समाप्त हुने छ कम्युनिस्ट पार्टीको पनि आवश्यकता पर्ने छैन र त्यसको अन्त्य हुने छ । 

कम्युनिस्ट पार्टीको पहिलो जिम्मेवारी सङ्गठित सर्वहारा वर्गलाई राज्यसत्तामा स्थापित गर्ने थियो । त्यसपछि राज्यको पहिलो जिम्मेवारी सम्पूर्ण कृषिभूमि राष्ट्रियकरण गर्ने तथा पुँजीवादी सम्पत्ति समाप्त गर्ने त्यसपछि समाजवादका संरचना एक एक गर्दै निर्माण गर्न सुरु गर्ने । कस्तै अवस्थामा पहिले नै निर्माण भएर क्रियाशील कम्युनिस्ट पार्टीको विरुद्ध हुने गरी अर्को कम्युनिस्ट पार्टी निर्माण गर्न नहुने । श्रमजीवी वर्गको हितभन्दा कम्युनिस्टको आफ्नो छुट्टै हित बनाउन नहुने । विभिन्न राष्ट्रमा क्रान्ति सम्पन्न गर्दा राष्ट्रिय विशेषताका कारणले केही न केही फरक देखिए पनि समग्रमा श्रमजीवी वर्गको राज्यसत्ता स्थापित गर्ने र समाजवाद विकसित गर्ने सबैको कार्यभार एउटै हुने गरी व्यवस्थापन गरियो । साँचो अर्थमा त्यसबेला कम्युनिस्ट सर्वहारा वर्गका असल प्रशिक्षक र मार्गदर्शक रहेका थिए । 

माक्र्स र एङ्गेल्सले ज्यादै ठुलो महत्वका साथ सर्वहारा र कम्युनिस्टका बिच के सम्बन्ध हुन्छ भनेर कम्युनिस्ट पार्टीको घोषणापत्रमा नै उल्लेख गरेका छन् र भनेका छन् कस्तै अवस्थामा श्रमजीवी वर्गको पार्टीका विरुद्ध हुने गरी आफ्नै छुट्टै कम्युनिस्ट पार्टी कसैले पनि बनाउने छैनन् । अहिले संसारका लगभग सबै राष्ट्रमा कम्युनिस्ट पार्टी सञ्चालित छन् एक होइन अनेक छन् । गिन्ती गर्ने हो भने दुई सय राष्ट्रमा करिब हजार कम्युनिस्ट पार्टी होलान् । यो अवस्थाले कम्युनिस्ट आन्दोलनलाई ज्यादै ठुलो धक्का लागेको छ । साँच्चिकै एक राष्ट्रमा एउटा मात्र कम्युनिस्ट पार्टी हुन्थ्यो भने संसारका अत्यधिक राष्ट्रमा समाजवादी समाज विकास भएको हुने थियो । 

कम्युनिस्ट पार्टी घोषित रूपमा श्रमजीवी वर्गको पार्टी हो । एउटा राष्ट्रमा वर्गका आधारमा भन्नु पर्दा एउटा श्रमजीवी वर्ग रहेको हुन्छ । स्वाभाविक रूपले एउटा श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधि संस्थाका रूपमा एउटै मात्र पार्टी हुनु स्वाभाविक हुन्छ । कम्युनिस्ट पार्टीको घोषणापत्रमा उल्लेख भएको निर्देशनात्मक विचारलाई बेवास्ता गर्दै आपसमा भिडन्त गराउने काम जसले गर्छ निजले कम्युनिस्ट पार्टीको घोषणापत्रलाई ठाडै उल्लङ्घन गरेको साबित हुन्छ । संसारभरका कम्युनिस्टका निम्ति हरेक देशमा एउटै मात्र कम्युनिस्ट पार्टी सञ्चालित हुनु विश्व कम्युनिस्ट आन्दोलनको महìवपूर्ण विषय हो । 

कम्युनिस्ट पार्टी किन विभाजित भइरहन्छन् ?

कम्युनिस्ट पार्टीको नाम सिद्धान्त अनुरूप विकसित भएको छ । कम्युनिस्ट पार्टीको संरचना सिद्धान्त अनुरूप विकसित भएको हुन्छ । कम्युनिस्ट पार्टीको जन्म र विकास सिद्धान्त अनुरूप हुन्छ । कम्युनिस्ट पार्टीको सञ्चालन पनि सिद्धान्त अनुरूप मात्र हुन्छ । जब पार्टीका नेता सिद्धान्त अनुरूप चल्न सक्दैनन् त्यसपछि कम्युनिस्ट पार्टी समाप्त हुनका निम्ति विभाजित हुन्छ । यो भन्दा अर्को कारण छैन ।

माक्र्सवादी दर्शनका तीन मुख्य नियम छन् । यिनै नियमका आधारमा यो दर्शनले पूर्णता प्राप्त गरेको छ । ब्रह्माण्डमा भौतिक पदार्थ मात्र छ । त्यो निरन्तर परिवर्तन र विकासको अवस्था हुन्छ । परिवर्तन र विकासका नियममा (१) विपरीत तत्वका बिच एकता र सङ्घर्षको नियम (२) मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनको नियम तथा (३) निषेधको निषेध नियम छन् । कम्युनिस्ट पार्टीमा अन्तरपार्टी सङ्घर्ष, आलोचना, आत्मालोचना र आलोचनात्मक दृष्टिकोणको आधारमा प्रकट हुने व्यवहारले विपरित तत्वको भूमिका निर्वाह गरेका हुन्छन् । यस्तो अवस्था कम्युनिस्ट पार्टीका हरेक तह, हरेक संरचनामा हुने हरेक कमिटीमा यस किसिमको अवस्था प्रकट हुन्छ । कम्युनिस्ट पार्टीका सबै तहका संरचनाबिच हुने जुनसुकै छलफलले विपरीत तìवको भूमिका निर्वाह गरेको हुन्छ । यसलाई नै अन्तरपार्टी सङ्घर्ष भन्छन् । अन्तरपार्टी सङ्घर्षले नै कम्युनिस्ट पार्टीमा विपरीत तìवको भूमिका निर्वाह गरेको हुन्छ । यस आधारमा भन्नुपर्दा कम्युनिस्ट पार्टीका कुनै पनि तहको नेताको आलोचना त्यो जतिसुकै गम्भीर किन नहोस् उनको दीर्घ जीवनको आधार बनेको हुन्छ । त्यसो भएर विगतका महापुरुष सिद्धार्थ गौतम भनौँ या स्वयम् कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्स भनौँ आफ्नो आलोचनाबाट कहिल्यै अलग भएनन् ।

कम्युनिस्ट पार्टी सञ्चालनसम्बन्धी सिद्धान्त

कम्युनिस्ट पार्टीको मूल सिद्धान्त माक्र्सवाद हो । यो सिद्धान्तलाई विकास गर्ने महान् व्यक्ति कार्ल माक्र्स, फ्रेडरिक एङ्गेल्स र जेनी माक्र्स हुन् । माक्र्सवादका तीन अभिन्न अङ्ग छन् । (१) द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद (२) राजनीतिक अर्थशास्त्र तथा वैज्ञानिक समाजवाद । अहिलेसम्म सिद्धान्त र व्यवहारबाट समृद्ध गर्न योगदान गर्ने संसारका अन्य महापुरुष लेनिन, स्टालिन, माओत्सेतुङ, किम इल सुङ, होचिमिन्ह देङ स्याओ पेङ, चे ग्वेरा र मदन भण्डारी हुन् । सम्झन सकिने संसारभरि महान् व्यक्तिहरू लाखौँ लाख रहेका छन् । सबैको प्रेरणाले आज पनि कम्युनिस्ट आन्दोलन समाजमा सम्मानित छ । कम्युनिस्ट पार्टी सञ्चालनसम्बन्धी सिद्धान्त निम्न रहेका छन् ः 

१. कम्युनिस्ट पार्टी सञ्चालित हुने मूल सिद्धान्त माक्र्सवादी दर्शनका तीन मुख्य नियम हुन् । कुनै पनि जीवित वा निर्जीव संरचनाको केन्द्रमा विपरीत तìव विद्यमान हुन्छ । विपरीत तत्वकाबिच निरन्तर एकता र सङ्घर्षको अवस्था अनवरत भइरहेको हुन्छ । यो अवस्थाले गर्दा त्यसको अस्तित्व विद्यमान हुन्छ । कम्युनिस्ट पार्टी सचेत मानवीय संरचना हुन्छ । त्यस्मा विविध रूपका अन्तरपार्टी सङ्घर्ष भइरहेका हुन्छन् । विविध रूपमा वैचारिक मत भिन्नतासहित कम्युनिस्ट पार्टी निरन्तर गतिशील भइरहेका हुन्छन् । जहिले अन्तरपार्टी सङ्घर्ष समाप्त हुन्छ कम्युनिस्ट पार्टी कि विभाजित हुन्छ कि समाप्त हुन्छ । 

२. कम्युनिस्ट पार्टीमा विचारधारात्मक पक्ष प्रमुख हुने भएकाले सबभन्दा पहिले पार्टी निर्माण हुँदा सिद्धान्त र केन्द्रीय नेतृत्व विकसित हुन्छ अथवा पहिले माथि निर्माण हुन्छ र तलतिर प्रवाहित हुन्छ । तलबाट अनुमोदन भएर माथि नवीकृत हुन्छ । तल जनतासँग जीवन मरण सम्बन्ध बनाएर रहेका पार्टी कार्यकर्ता तथा सदस्य हुन्छन् । उनीहरूले पार्टीमा अपनत्व प्रकट गर्छन् । त्यसपछि मात्र कम्युनिस्ट पार्टी महान् बन्न सक्छ । 

३. कम्युनिस्ट पार्टी माथिदेखि तलसम्म केन्द्रीकृत नेतृत्व विकेन्द्रीकृत अधिकारले युक्ति शृङ्खलाबद्ध कमिटी प्रणालीमा आबद्ध संरचनासहित अस्तित्वमा हुन्छ । 

४. कम्युनिस्ट पार्टीमा एकल व्यक्तिले निर्णय गर्न पाउँदैन । पार्टीमा सामूहिक निर्णय प्रणाली हुन्छ । पार्टीमा कुनै पनि नेताले आफ्नो बारेमा बाहेक पार्टीका निम्ति व्यक्तिगत निर्णय गर्न पाइँदैन । 

५. पार्टी सदस्यता प्राप्त गरेपछि मात्र आफूलाई सो पार्टीको सदस्य बनाउन पाइन्छ । सदस्यता प्राप्तिपछि उनी पार्टी कमिटीमा सङ्गठित हुनु पर्छ । उनले नियमित सदस्यता शुल्क र अतिरिक्त सहयोग लेबी तिर्नु पर्छ । पार्टीले निर्णय गरेर प्रदान गरेको जिम्मेवारी पूरा गर्नु पर्छ । उनको अरू सबैको भन्दा फरक कार्यक्षेत्र हुनु पर्छ । पार्टीले प्रदान गरेको जुनसुकै कार्यक्षेत्रमा जिम्मेवारी बहन गर्न नचाहने व्यक्ति पार्टी सदस्य बन्न पाइँदैन ।

६. हरेक पार्टी सदस्य समयमा बैठकमा अनिवार्य उपस्थित हुनु पर्छ । आफ्नो पार्टीको मुखपत्र अनिवार्य अध्ययन गर्नु पर्छ । कमिटीका हरेक सदस्यले बैठकको छलफलमा अनिवार्य भाग लिनु पर्छ । हरेक महिनाको अन्तिममा एक अर्कामा आलोचना र आत्मालोचनाका निम्ति बैठक आयोजना गर्नु पर्छ । 

७. कमिटीको प्रमुखले नियमित बैठक बोलाउनु पर्छ । छलफलका विषय पहिले नै कमिटी सदस्यलाई उपलब्ध गराउनु पर्छ । छलफलमा सबै सदस्यले आफ्नो विचार राख्नु पर्छ । बैठकमा आएर चुप लागेर बस्न र पाइन्न । 

८. कमिटीमा हुने छलफल सर्वसम्मत भएन भने मत विभाजनबाट निर्णय गर्नु पर्छ । बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ । 

९. तल्लो कमिटी माथिल्लो कमिटीको मातहत हुन्छ । सम्पूर्ण सदस्यता केन्द्रीय कमिटीको मातहत हुन्छ । 

१०. पार्टी सदस्यलाई कुनै पनि तहको नेताले वा कमिटीले उनी पार्टीमा रहन चाहँदासम्म निष्कासन गर्न पाइन्न । पार्टीको अधिकार प्राप्त कमिटीले गल्तीको आधारमा खास समयसम्म कुनै व्यक्तिलाई निलम्बनसम्म गर्न सक्छ । आफैँ पार्टी सदस्यता परित्याग गरेर जाने व्यक्तिप्रति सहानुभूतिशील हुनु पर्छ । कम्युनिस्ट पार्टीको कुनै पनि सदस्यले जनताको मुक्ति र समृद्धिका निम्ति जीवन समर्पित गरेको हुन्छ । सम्बन्धित राष्ट्रको संविधान र ऐन नियमका आधारमा उसले आफ्ना सम्पूर्ण सम्भावना राष्ट्र र जनताका निम्ति समर्पित गरेको हुन्छ । यस्तो अवस्थामा कुनै पनि पार्टीका जिम्मेवारलाई सम्बन्धित पार्टीको नेतृत्वले निष्कासन गर्न पाउने जस्तो विषय सम्बन्धित राष्ट्रको न्यायिक निकायमा पुनरवलोकन हुने व्यवस्था कायम गरिनु पर्छ । 

११. पार्टीमा सधैँ जनवादी केन्द्रीयताको सिद्धान्त अवलम्बन गरिन्छ, गर्नु पर्छ । पार्टी सदस्यले अथवा प्रतिनिधिले महाधिवेशन, अधिवेशन, भेला विभिन्न रूपका बैठकमा जे निर्णय गर्छन्, त्यही निणर्यलाई पालना गर्छन् । निर्णय गर्दा उनीहरूले जनवादको प्रयोग गर्छन् । आफैँले निर्णय गरेको विषय पालना गर्दा केन्द्रीयताको रूपमा प्रकट भएको हुन्छ । जनवादबिना केन्द्रीयताको अस्तित्व हुँदैन र केन्द्रीय बिनाजनवादको पनि अस्तित्व हुँदैन । कम्युनिस्ट पार्टीमा जनवाद र केन्द्रीयता मिलेर जनवादी केन्द्रीयत भएको हुन्छ । 

आजको ज्वलन्त आवश्यकता कम्युनिस्ट पार्टीका बिच एकता 

अनेकौँ तथ्यले प्रस्ट पारेका छन् कम्युनिस्ट पार्टीहरूका बिच एकता आजको ज्वलन्त आवश्यकता हो । नेपालमा मात्र होइन सारा संसारभरिका राष्ट्रमा कम्युनिस्टका बिच पार्टी एकता अपरिहार्य आवश्यकताका रूपमा प्रकट भएको छ । कम्युनिस्ट आन्दोलनमा सङ्घर्षको मुख्य रूप सशस्त्र सङ्घर्ष पहिले पनि उचित थिएन आज पनि उचित छैन । हतियारले सुसज्जित शत्रुसित लड्नु प¥यो भने हतियारै उठाउनु पर्छ । आज वर्ग सङ्घर्ष सञ्चालन गर्दा हतियार उठाउनु पर्दैन । पहिले पनि अनिवार्य हुँदैन्थ्यो । विभिन्न कालखण्डमा वर्ग शत्रुको रगतले हात रङ्गिएन भने त्यो कम्युनिस्ट हुन सक्दैन भनेर कम्युनिस्टलाई आततायी बनाउने काम विभिन्न नेताले गरे । दोस्रो विश्व युद्धपछि औपनिवेशिक साम्राज्यवाद पराजित भएको थियो । राष्ट्रिय मुक्ति आन्दोलनले दिविग्जय प्राप्त गरेको थियो । त्यसबेला बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीका माध्यमबाट श्रमजीवी वर्गले राज्यको नेतृत्व गर्ने अवस्था सिर्जना भएको थियो । कम्युनिस्ट आन्दोलनमा रहेको उग्र अराजकतावादले सशस्त्र क्रान्तिको नाममा लामो समयसम्म आफूसँग रहेका योद्धाको बलिदान गराइरहयो । दोस्रो विश्व युद्धपछि खास गरी सन् १९६० देखिका संसारमा भएका सबै सशस्त्र सङ्घर्ष असफल भए । गलत भएकै हुनाले ती सङ्घर्ष असफल भएका थिए । 

अहिले विश्वव्यापी शान्तिपूर्ण र वैधानिक प्रक्रियाबाट बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणालीको उपयोग गर्दै संसारका हरेक राष्ट्रमा कम्युनिस्ट क्रान्तिकारीले विजय हासिल गर्ने अवस्था सिर्जना भएको छ । यो २१ औँ शताब्दीको युग शान्तिपूर्ण र वैधानिक प्रक्रियाबाट वैज्ञानिक समाजवाद निर्माण गर्ने युुग हो । यसलाई पूर्ण क्षमताका साथ उपयोग गर्नु पर्छ र विश्वव्यापी रूपमा हरेक राष्ट्रमा समाजवाद निर्माण गर्नु पर्छ । 

हतियारको होडबाजीलाई रोक्न सकिएन भने तेस्रो विश्वयुद्धको खतरा नजिक भइरहेको भान हुन्छ । विश्वयुद्धलाई रोक्नका निम्ति संसारका जति राष्ट्रमा कम्युनिस्ट पार्टी क्रियाशील छन् सबैले आफूसक्दो प्रयत्न गर्नु पर्छ । सशस्त्र सङ्घर्षबाट समाजवाद निर्माण गर्ने काल २१ औँ शताब्दीको सुरुदेखि समाप्त भएको छ र शान्तिपूर्ण र वैधानिक प्रक्रियाबाट समाजवाद निर्माण गर्ने युगिन अभिभारा आाजका कम्युनिस्ट क्रान्तिकारीका काँधमा आएको छ । अबको समाजवाद राष्ट्रिय पुँजीवादसहितको तथा बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली अवलम्बन गर्ने समाजवाद मात्र वैज्ञानिक समाजवाद हुन सक्छ र सफल पनि हुने छ । 

सोभियत सङ्घमा समाजवादको असफलता र पुँजीवादको पुनस्र्थापनाको घटनाले के पुष्टि हुन्छ भने ब्रह्माण्डको सार्वभौम नियमको उल्लङ्घन हुन सक्दैन । सोभियत सङ्घमा समाजवाद निर्माण भयो तर समाजवादको विपरीत तत्व समाप्त गरियो । समाजवादमा विपरीत तत्वको भूमिका राष्ट्रिय पुँजीवादले मात्र निर्वाह गर्न सक्दथ्यो । आज पनि समाजवादमा राष्ट्रिय पुँजीवादले भूमिका निर्वाह गर्न सक्छ । विपरीत तत्वका बिच एकता र सङ्घर्षको नियम ब्रह्माण्ड परिचालनको अनुलङ्घनीय नियम हो । माक्र्स र एङ्गेल्सले यही नियम अनुसरण गरेर द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दर्शन विकास गरेका थिए । जसलाई दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्रको प्रमुख भएका बखत एङ्गेल्सको प्रस्तावमा त्यसलाई माक्र्सवादी दर्शन नामकरण गरिएको हो । 

नेपालका कम्युनिस्ट पार्टीले माक्र्स एङ्गेल्सले एउटा राष्ट्रमा एउटा मात्र कम्युनिस्ट पार्टी विकसित भएर मात्र समाजवाद निर्माण गर्न सकिन्छ भन्ने निर्देशनात्मक सिद्धान्तलाई बेवास्ता गरिरहेका छन् । अहिले नेपाल राष्ट्रमा श्रमजीवी वर्ग एउटा मात्र छ । एउटा श्रमजीवी वर्गलाई विभाजित गरेर अनेक कम्युनिस्ट पार्टी सञ्चालन गर्नु प्रकारान्तरले माक्र्सवाद लेनिनवादको विरोध गर्नु हो । जसरी भए पनि जुनसुकै तरिका अपनाएर पनि कम्युनिस्ट एउटै कम्युनिस्ट पार्टीमा एकीकृत हुनु पर्छ । तब मात्र नेपालमा समाजवाद निर्माण गर्न सकिने छ । अबको वैज्ञानिक समाजवाद बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली अवलम्बन गर्ने राष्ट्रिय पुँजीवादसहितको समाजवाद मात्र हुन सक्छ । 

चौथो कम्युनिस्ट अन्तर्राष्ट्रको स्थापना

संसारमा सयभन्दा धेरै राष्ट्रमा कम्युनिस्ट पार्टी विकसित भएका छन् । अन्तर्राष्ट्रको स्थापना भयो भने विश्वव्यापी श्रमजीवी जनताको मनोबल धेरै उच्च बन्ने छ । यसको काम हरेक वर्ष नयाँ राष्ट्रमा कम्युनिस्ट अन्तर्राष्ट्रको भव्य सम्मेलन आयोजना गर्ने र प्रतिनिधिले आआफ्नो राष्ट्रको राजनीतिक अवस्थाको जानकारी दिने लिने मुख्य काम हुने छ । पहिले विकसित भएका राष्ट्रले भर्खर समाजवाद निर्माणमा प्रवेश गरेका राष्ट्रलाई सहयोग गर्ने कामबाट महìवपूर्ण अभिभारा पूरा हुने छ । कम्युनिस्ट अन्तर्राष्ट्रको हेड क्वाटर हरेक वर्ष नयाँ राष्ट्रमा जाने छ । 

अब बन्ने कम्युनिस्ट अन्तर्राष्ट्र चौथो अन्तर्राष्ट्र हुने छ । पहिलो अन्तर्राष्ट्र १८६८ मा माक्र्स र एङ्गेल्सले निर्माण गरेका थिए । दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्र सन् १८८९ मा एङ्गेल्सको नेतृत्वमा निर्माण भएको थियो र तेस्रो कम्युनिस्ट अन्तर्राष्ट्र सन् १९१७ को सर्वहारा समाजवाद क्रान्तिको सफलता पछि सन् १९२२ मा लेनिनको नेतृत्वमा स्थापना भएको थियो । त्यो सन् १९४३ मा सोभियत सङ्घ र संसारभरिका राष्ट्रिय स्वतन्त्रता प्राप्त राष्ट्रको रक्षाका निम्ति भङ्ग गर्न परेको थियो । अब बन्ने अन्तर्राष्ट्रले त्यसकै निरन्तरता कायम गर्ने छ । जब सोभियत सङ्घको कम्युनिस्ट पार्टी र जनवादी गणतन्त्र चीनको कम्युनिस्ट पार्टीका बिच अन्त्यहीन विवाद सुरु भयो सारा संसारका कम्युनिस्ट पार्टी विभाजित भए । त्यस कालमा संसारभरिका कम्युनिस्टका बिच निराशा फैलियो । सबै देशका कम्युनिस्टले विभाजित हुने गरी कम्युनिस्ट अन्तर्राष्ट्र कायम गर्नु उचित छैन भन्ने एउटा विचार जबरजस्त विकसित थियो तर आज त्यो अवस्था छैन त्यसो भएर आज कम्युनिस्ट अन्तर्राष्ट्रको सान्दर्भिकता प्रकट भएको छ ।