• ११ माघ २०८१, शुक्रबार

बालबालिकाको उपचार निःशुल्क

blog

रुकुमपश्चिमको चौरजहारी अस्पताल ।

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, माघ ११ गते । रुकुमपश्चिमको चौरजहारी अस्पतालमा बालबालिकाको उपचार निःशुल्क हुने गरेको छ । अस्पतालले विगतदेखि नै अस्पतालमा भर्ना भएर उपचार गराइरहेका पाँच वर्षमुनिका बालबालिका र ‘साथी सेवा’ मार्फत १६ वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने गरेको छ । 

अस्पताल प्रशासक डिलबहादुर गिरीका अनुसार पाँच वर्षमुनिका बालबालिका अस्पताल भर्ना भएपछि लाग्ने सम्पूर्ण औषधी उपचार खर्चका साथै कुरुवासमेतको खाना र बस्ने व्यवस्था अस्पतालले गर्ने गरेको छ । यस कामबापत वार्षिक करिब ९० लाख रुपियाँ खर्च हुने गरेको छ भने दुई हजार बालबालिकाले उपचार पाउने गरेका छन् । प्रशासक गिरीका अनुसार अस्पतालमा निमोनिया, टाइफाइड, झाडापखाला, श्वासप्रश्वास, हड्डी भाँचिएकालगायतका समस्या भएका बालबालिकालाई भर्ना गरेर उपचार गर्ने गरिएको छ । 

यसै गरी अस्पतालले विगत सात वर्षदेखि ‘साथी सेवा’ कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । यस कार्यक्रम अन्तर्गत १६ वर्षमुनिका मुटुका रोगी, जन्मजात अपाङ्गता भएका, जलनको समस्या भएका बालबालिकाको उपचार हुने गरेको छ । अस्पताल प्रशासक गिरीले चौरजहारीमै हुने जाँच, उपचार र थप उपचारका लागि रेफर भएमा समेत लाग्ने सम्पूर्ण खर्च बिरामीले तिर्नु पर्दैन । सबै खर्च अस्पतालले नै बेहोर्ने गरेको छ । हरेक वर्ष ४० देखि ४५ जना बालबालिकाले यस कार्यक्रममार्फत सेवा लिने गरेको अस्पतालले जनाएको छ । 

‘साथी सेवा’ मार्फत छोरीको उपचार गराउनुभएका चौरजहारी नगरपालिका–८, सोतीखोलाका डिल्ली शाहीले अस्पताल र उक्त कार्यक्रमले छोरीको उपचार निःशुल्क गरिदिएको बताउनुभयो । उहाँकी नौ वर्षीय छोरी सुमिना शाहीलाई मुटुमा समस्या देखा परेको थियो । शाहीका अनुसार छोरीको मुटुमा प्वाल परेको र एउटा भल्भ सानो थियो । अस्पतालले साथी सेवामार्फत सबै उपचार गरिदिएको छ । सर्वसाधारणका लागि यो ठुलो राहत हो । उहाँका अनुसार करिब १० लाख रुपियाँ खर्च लाग्ने अवस्था रहेकोमा उपचारको सम्पूर्ण खर्च निःशुल्क भएको हो । शाहीले सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा छोरीको अपरेसन भएको र अहिले स्वास्थ्य अवस्था राम्रो रहेको जनाउनुभयो । मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित यस अस्पतालले सुत्केरी, गरिब तथा असहायका लागि समेत निःशुल्क सेवा सञ्चालन गरिरहेको छ । यस अस्पतालबाट वार्षिक एक लाखभन्दा बढीले उपचार सेवा लिने गरेका छन् ।