‘सनग्लास’ आँखाको सुरक्षा कवच मात्र नभएर एक सौन्दर्य प्रसाधन तथा समाजमा आफूलाई सभ्य, सुसंस्कृत र सम्पन्न देखाउने शानदार साधन पनि हो । हामी यहाँ विश्वका छ निकै महँगा चस्माका बारेमा चर्चा गर्दै छौँ ।
कार्टियर पेन्थर पोइन्ट्स (Panthere De Cartier)
कार्टियर ब्रान्डले बनाउने पेन्थर सेरिजका मोडलमध्ये यो ‘स्पेसल अर्डर एडिसन’ हो । अर्थात् अर्डर गरेपछि मात्र यो प्राप्त गर्न सकिन्छ । लग्जरी फेसन ब्रान्ड कार्टियरले केही वर्षअगाडि सार्वजनिक गरेको यो विशेष मोडलको चस्माको हालको बजार मूल्य एक लाख ५९ हजार अमेरिकी डलर छ । यो चस्मा यति महँगो हुनुको कारण हो यसको फ्रेम १८ क्यारेट सेतो सुनले बनाइनु । यसमा ५६१ वटा हिरा र ६४५ वटा ‘ब्लु सफाइर’ का साथै बहुमूल्य अन्य जहारत पनि छन् ।
एल्भिस प्रिस्लेको चस्मा (Elvis Prisley Sunglasses)
चस्मा अत्यधिक महँगो हुनुका पछाडिको कारण त्यसमा रत्नजडित फ्रेम मात्र होइन त्यसको ऐतिहासिकता पनि हो, कुनै प्रसिद्ध व्यक्तिसँग सम्बन्धित भएर पनि चस्मा मूल्यवान् हुन्छ । रक एन्ड रोल म्युजिकका बादशाह एल्भिस प्रिस्लेले सन् १९७७ मा आफ्नो जीवनका अन्तिम दिनमा हवाईमा बिदा मनाइरहेका बेला लगाइएको भनिएको चस्मा सन् २०१८ मा एक लाख ६० हजार अमेरिकी डलरमा लिलाम बिक्री गरिएको थियो ।
जन लेननको चस्मा (John Lennon Sunglasses)
त्यस्तै चौथो महँगो चस्मामा परेको छ अर्का सेलिब्रेटी जन लेननको चस्मा । दी बिटल्स ब्यान्डको ‘व्रmेज’ आजसम्म पनि हामीले बिर्सेका छैनौँ । यही बिटल्स ब्यान्डका गीतकार तथा रिदम गितारिस्ट सुप्रसिद्ध जन लेननको चस्मा सन् २०१९ मा एक लाख ८३ हजार अमेरिकी डलरमा लिलाम बिक्री भएको थियो ।
इमेरल्ड सनग्लास (Emerald Sunglasses)
पन्नाबाट अस्ट्रेलियाको सिल्स ज्वेलर्सले डिजाइन गरेको चस्माको मूल्य दुई लाख अमेरिकी डलर रहेको छ । उक्त इमेरल्ड खोज्न पाँच वर्ष लागेको थियो भने त्यसलाई काटेर लेन्स बनाई फ्रेममा फिट र पोलिस गर्न तीन महिना लाग्यो ।
डी एन्ड जी सनग्लास (D&G Sunglasses)
यो सदाबहार सबैले खोजिरहने चस्मा हो । जसमा खैरो ‘टिन्ट’ भएको लेन्सलाई सुनको फ्रेमले घेरेको हुन्छ भने ‘टेम्पल’ मा हिरा जडित कम्पनीको लोगो रहेको हुन्छ । इटालीको लग्जरी फेसन हाउसको यो उत्पादनलाई विश्वको दोस्रो महँगो चस्मा मानिएको छ । यसको मूल्य तीन लाख ८३ हजार अमेरिकी डलर पर्दछ ।
सोपर्ड डी रिगो (Chopard De Rigo)
सोपार्ड डी रिगो भिजन सनग्लास विश्वको सर्वाधिक महँगो चस्मा हो । यसको बजार मूल्य चार लाख आठ हजार अमेरिकी डलर रहेको छ । यो चस्माको फ्रेममा २४ क्यारेट सुन र ५१ वटा ‘फुल कट रिभर डाइमन्ड’ राखिएका हुन्छन् ।
चस्मा लगाउँदा न्यूनतम गुणस्तरको चाहिँ छ कि छैन भनेर ख्याल गर्नुपर्छ । धुलोधुवाँ छेक्न सक्ने चस्मा लगाउनु पर्छ । हानिकारक रसायन र विकिरणबाट सुरक्षा प्रदान गर्ने चस्मा झन् राम्रो ।
(लेखक वरिष्ठ दृष्टि विशेषज्ञका रूपमा बेटर भिजन फाउन्डेसनसँग आबद्ध छन् ।)