बुलबुले समाचारदाता
सुर्खेत, माघ १० गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले जनशक्ति अभाव झेलिरहेको छ । छ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयलाई आवश्यक जनशक्ति नहुँदा काम गर्न समस्या भइरहेको छ ।
कार्यालयको कार्यक्षेत्र अन्तर्गत सुर्खेत, दैलेख, जाजरकोट, रुकुमपश्चिम, डोल्पा र हुम्ला पर्छन् । २१ जनाको स्वीकृत दरबन्दी रहेको कार्यालयमा १४ जना मात्र कर्मचारी छन् । सात जनाको दरबन्दी रिक्त छ । नागरिकका आधारभूत आवश्यकतासँग जोडिएर काम गर्ने कार्यालय भए पनि पर्याप्त कर्मचारी नहुँदा लक्ष्य अनुसारको काम गर्न नसकिएको कार्यालयले जनाएको छ । जनशक्ति अभाव हुँदा अपेक्षित काम गर्न नसकिएको कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार विभिन्न पदमा गरी १० कर्मचारी करारमा छन् । कार्यालयका लागि कम्तीमा दुई वटा चारपाङ्ग्रे गाडी आवश्यक छ तर एउटा पनि उपलब्ध छैन ।
पर्याप्त जनशक्ति नहुँदा बजारमा मापदण्डविपरीत र जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने खाद्य पदार्थको बेचबिखन खुलेआम हुने गरेको छ । यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाले पनि जनशक्ति अभाव झेलिरहेको छ । उक्त कार्यालयले तीन जिल्लामा सेवा दिइरहेको छ । कालीकोट, जुम्ला र मुगुमा कार्यालयले सेवा दिइरहेको हो । चार जनाको स्थायी दरबन्दी रहेको उक्त कार्यालयमा तीन जना कार्यरत छन् । एक जनाको दरबन्दी रिक्त छ । तीन जिल्ला हेर्ने कार्यालयमा तीन कर्मचारी कार्यरत हुँदा एक कर्मचारीको भागमा एक जिल्ला पर्छ । जनशक्ति र स्रोतसाधनको अभावमा लक्ष्य अनुसारको काम गर्न नसकिएको कार्यालय प्रमुख पङ्कज दाहालले बताउनुभयो ।
यसैबिच खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले त्रैमासिक प्रगति समीक्षा गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य उद्योग र खाद्य बजारको अनुगमन गर्ने, खाद्यवस्तुको गुणस्तर जाँच्न प्रयोगशाला सेवा दिने, उद्योग सञ्चालनका लागि अनुज्ञापत्र जारी गर्नेलगायतका काम गर्छ । चालु आर्थिक वर्षको हालसम्मको प्रगति भने सन्तोषजनक नरहेको कार्यालय प्रमुख थापाले बताउनुभयो । उहाँका अनुसार हालसम्म कार्यालयले ५६.५२ प्रतिशत भौतिक प्रगति गरेको छ भने वित्तीय ५७.५२ प्रतिशत मात्र गरेको छ । चालु आवको हालसम्म ४२० पटक निरीक्षण अनुगमन गरिएको छ ।