• ९ माघ २०८१, बुधबार

चालिस वर्ष गुप्तबास !

blog

पछिल्लो पटक सन् १९७३ मा भियतनाम युद्धका बेला अमेरिकी बम वर्षाबाट बच्न दौडिरहेको देखिएका बाबुछोरा घनघोर जङ्गलमा ४० वर्षपछि जीवितै फेला परे । भियतनाममा दुई जना दाउरेले एउटा रुखभित्र सानो झुप्रो फेला पारे र भित्र हेर्दा उनीहरू तीनछक्क परे, जसलाई धेरै वर्षपहिले मृत मानिएको थियो, उनीहरू त त्यहाँ थिए ।  

अमेरिकी हवाई हमलाका बेला हो भान थान आफ्नो घर ध्वस्त भएपछि सानो छोरा हो भान लाङलाई समातेर भाग्दै गरेको गाउँलेले देखेका थिए । त्यसपछि उनीहरूलाई कसैले देखेनन् । डरले भागेका हो भान बाबुछोराचाहिँ घनघोर जङ्गलभित्र आदिम मानव जसरी जीवनयापन गर्न थाले । उनीहरूले बाँच्नका लागि अपरिष्कृत हतियार र उपकरण बनाए । 

४० वर्षपछि उनीहरू फेला पर्दा बुवा भान थान ८३ वर्षका थिए र उनको स्वास्थ्य अवस्था निकै खराब थियो । उनलाई जङ्गलबाट ल्याएर अस्पताल भर्ना गरियो । उनका छोरा भान लाङ ४१ वर्ष भएका थिए र उनी स्वस्थ थिए ।  उद्धार गरिँदा बाबुछोरा दुवै युद्ध अझै पनि चलिरहेको विश्वासमा थिए । 

–युवामञ्च