रवीन्द्र उप्रेती
बर्दीबास, माघ ९ गते । निर्धारित समयमा निर्माण सम्पन्न नभएपछि वनपथ–खयरमारा सडकखण्ड विवादमा तानिएको छ । निर्माणको चरणमा रहेको बर्दीबास १० र ११ स्थित यो सडकको लम्बाइ केवल पाँच किलो मिटर छ । तथापि तिल जति सानो यो सडकलाई एकपछि अर्को विवादले समस्याको पहाड बनाएको स्थानीयको टिप्पणी छ ।
बर्दीबास नगरप्रमुख प्रहलाद क्षेत्रीका अनुसार लम्बाइ सानो देखिए पनि यो खण्डले निर्माणाधीन खयरमारा–मरिनखोला–मदन भण्डारी सडकलाई पूर्वपश्चिम लोकमार्ग हुँदै भारतीय सीमासम्म जोडने भएकाले यो मार्गले व्यापारिक र रणनीतिक महत्त्व बोकेको छ ।
उहाँले भन्नुभयो, ‘‘यो सडक बर्दीबासका विकट भेगको विकाशको आधारसमेत भएकाले काम चाँडो सक्न सम्वद्ध निकायमा पटक–पटक आग्रह गर्दै आएका छौं । फेरि पनि यो निर्माणमा लापरवाही देखिनु दुर्भाग्यपूृर्ण हो ।’’
मधेश प्रदेशको ‘एक प्रदेश निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत प्रदेश भौतिक मन्त्रालयले आव ०७७/७८ मै यो सडकको डिपीआर तयार गरी निर्माण प्रकृया सुरु गरेको थियो ।
पूर्वाधार विकाश कार्यालय जलेश्वरकाअनुसार आव ०७८/७९ मा पुष्पाञ्जली कंस्ट्रकसन प्रालि घट्टेकूलो ३२ ले यो सडकखण्ड ‘अस्फाल्ट कंक्रिट’ (उच्च स्तरको कालोपत्रे) गर्न पाँच करोड ५८ लाख ६० हजार रुपियाँमा ठेक्का लिएको थियो । ठेक्का सर्तअनुसार २०८० पुस मसान्तमा निर्माण सम्पन्न गरी सक्नुपर्ने थियो । म्याद सकिएको वर्ष दिन बितिसक्दा आधा बाटो पनि कालोपत्रे हुन नसकेपछि विवादमा तानिएको हो ।
ठेकेदार कम्पनीकै भनाइमा यस अवधीमा ५ किलोमिटर सडकमध्ये १६०० मिटरमा मात्र कालोपत्रे हुन सकेको छ ।
पूर्वाधार विकाश कार्यालयका इन्जिनियर तथा यस सडकखण्डको साइट इन्चार्ज विजय सिंहले निर्धारित समयमा कालोपत्रे गर्न नसकेपछि प्रदेश भौतिक मन्त्रालयको निर्णयले २०८१ असार २० गतेसम्मका लागि म्याद थप गरेको थियो । थप म्याद सकिएको पनि ६ महिना पुगि सकेको छ । तर सडक भने अधुरोको अधुरै छ ।
साइट इन्जिनियर सिंहका अनुसार यसबिच पूर्वाधार कार्यालयले बाँकी रहेको काम छिटो सक्न दुई पटक पत्राचार गरिसकेको छ ।
यता ठेकेदार कम्पनीले भने ०८१ असारमै म्याद सकिएकाले पुन. म्याद थप गरी काम गर्ने वातावरण मिलाई दिन लिखित आग्रह गरेको छ । नियमानुसार एकपटक म्याद थप भइसकेकाले अर्कोपटक म्याद थप्नेबारे पूर्वाधार कार्यालयले केही गर्न नसकने सिंहको भनाइ छ ।
‘पुनः म्याद थप गर्न मन्त्रालयकै निर्णय चाहिन्छ’ सिंहले भन्नुभयो ।
यो सडकको सहायक ठेकेदार जनकपुरस्थित कृष कंस्ट्रकसन प्रालिका प्रमुख अमर मण्डलले समयमै भुक्तानी नपाउदा चाहेर पनि काम अघि बढाउन नसकेको बताउनुभयो ।
उहाँका अनुसार सुरुमा एक हजार ६०० मिटर कालोपत्रे गरेपछि थप ८०० मिटरमा कालोपत्रे गर्न बेस तयार गरी प्राईम लगाउने काम पनि सकिएको थियो । सम्पन्न गरेको कामको समयमै भुक्तानी नपाउदा खर्च अभावले चाहेर पनि थप काम गर्न नसकेको उहाँको दुखेसो छ ।
मण्डलले भन्नुभयो, ‘‘गरेको कामको समयमै भुक्तानी पाएको भए यतिबेला सम्पन्न भइ सक्थ्यो । अब काम गर्दा म्याद थपिने नथपिने अनिश्चित भएकाले अन्यौलमा परेका छौं ।’’
पूर्वाधार विकाश कार्यालयका अनुसार पनि ठेकेदारलाई भुक्तानी गर्न प्रदेश भौतिक मन्त्रालयले ढिला गरेको हो । तथापि दुई पटक गरी ठेकेदार कम्पनीले करिव दुई करोड ६९ लाख भुक्तानी पाइसकेको छ ।
अब यो सडक कसरी सम्पन्न गर्ने प्रदेश भौतिक मन्त्रालयको निर्णयमा भर पर्ने जनाइएको छ । यो सडक कतै बनाउदै कतै छाडदै गरेकाले पनि के गर्न खोजिएको हो ? बुझ्न नसकेको स्थानीयको भनाइ छ ।
बर्दीबास ११ खयरमाराका समाजसेवी अर्जुन बस्नेतका अनुसार यो सडककको करिव ३ किलोमिटर खण्ड जङ्गली क्षेत्रमा पर्ने भएकाले अधुरो कामले अनेकन समस्या थपेको छ । धुलो र धुवाँले आवागमन कष्टकर बनाएको छ भने पाँच किलोमिटर सडक कालोपत्रे गर्न अनेकन बहान झिकेको आरोप उहाँको छ ।