• ९ माघ २०८१, बुधबार

धरानमा खानेपानीको समस्या चाँडै समाधान गरिने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ९ गते । खानेपानीमन्त्री प्रदीप यादवले धरान नगर क्षेत्रमा देखिएका खानेपानीको समस्या चाँडै समाधान गरिने बताउनुभएको छ । उहाँले चालु आर्थिक वर्षभित्र नै धरानको खानेपानीको समस्या समाधान हुने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क राई (साम्पाङ) सँगको भेटमा मन्त्री यादवले सो प्रतिबद्धता व्यक्त गर्नुभएको प्रमुख राईले जानकारी दिनुभयो । धरानका जनताको माग पूरा गर्न मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री यादवको भनाइ थियो ।

धरानको खानेपानीको समस्या समाधानका लागि मन्त्रालयले पहिलेदेखि नै आवश्यक पहल गरिरहेको बताउँदै मन्त्री यादवले धरानको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि योजना छनोट भइसकेको जानकारीसमेत दिनुभयो । उहाँले खानेपानी आयोजनाका लागि आवश्यक पर्ने जग्गाको व्यवस्थापन धरान उपमहानगरपालिकाले गर्नुपर्ने स्पष्ट पार्नुभयो । खानेपानी आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको काम बाँकी रहेको बताउँदै उहाँले जग्गा व्यवस्थापन भएपछि छिट्टै नै बोलपत्र आह्वान गरिने जानकारी दिनुभयो । 

नगरप्रमुख साम्पाङले धरानमा दैनिक तीन करोड लिटर पानीको माग रहेको बताउँदै उपमहानगरको बजेटले धान्न नसक्ने भएपछि खानेपानीका लागि सिंहदरबारमा आएको स्पष्ट पार्नुभयो ।